नरोत्तम बैद्यको अभिव्यक्ति ः माओवादी सर्जक

नरोत्तम बैद्यको अभिव्यक्ति ः माओवादी सर्जक तरुण खबर ३० जेष्ठ २०७८, आईतवार ११:२९
नरोत्तम बैद्यको अभिव्यक्ति ः माओवादी सर्जक

सम्पादकीय
नेपालको राजनीति २०५२ सालको अबस्थामा पुग्न खोजेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि भनेका थिए । उनको अभिव्यक्तिले दुई वटा सन्देश दिएको थियो । एउटा हो, २०५२ साल फागुन १ गते माओवादी हिम्सात्मक युद्धमा गएको थियो भने अर्को नेपालको राजनीति अस्थिरतामा गएको पनि २०५२ सालपछि नै हो । शेरबहादुर देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा देशमा माओवादी विद्रोहको झिल्का विस्तारै फैलिसकेको थियो ।

यसै सन्दर्भमा वागमती प्रदेशका सांसद नरोत्तम बैद्यले दिएको गोड्से बन्ने अभिव्यक्ति ब्यापक विवादमा परेको छ । पूर्व मन्त्री गोकुल बस्कोटा, महेश बस्नेतलगायत नेताहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको हत्या गर्ने षयन्त्र भएको अभिव्यक्ति दिइरहेका छन् । एमाले कार्यकर्ताले गृह मन्त्रीलाई नरोत्तम बैद्यलाई कारवाही गर्न ज्ञापनपत्र बुझएका छन् । नाथुराम गोड्सेले महात्मा गान्धीको गोली हानी ‘हत्या’ गरेका थिए । संसदमा आक्रोश, उत्तेजना, गम्भीर आरोप–प्रत्यारोप र मारपिटका घटना विश्वमा देखिएका र घटेका घटना हुन् ।

तर नेपालमा असामान्य घटनाको रुपमा विश्लेषण गरियो । यद्यपी बैद्यले शब्द फिर्ता लिइसकेका छन् । वागमती प्रदेशका सांसद बैद्यको अभिव्यक्तिले बहसको रुप लिइरहेको छ । एमालेले राजनीतिक रंग दिन खोजिरहेको छ भने अन्य दलहरुले घटनालाई सेटल गर्न खोजेको देखिन्छ । माधवकुमार नेपाल समूहका दाङका नेता मेटमणी चौधरीले त सांसद नरोत्तम बैद्यले माफी माग्नु पर्ने र शब्द फिर्ता लिनु पर्ने कुनै काम गरेका छैनन् भनेका छन्, जनताको भावना बोलेका छन् भनेका छन् । बैद्यको चौतर्फी आलोचना भैरहेको बेला नेकपा एमालेका विद्रोही नेता चौधरीले जमेर काँग्रेस नेता नरोत्तम बैद्यको समर्थनमा बोलेका छन् ।

सांसद बैद्यको प्रेरणाको श्रोत पनि माओवादी नै हुन् । जे हो प्रदेश सांसद बैद्य यतिखेर चर्चाको शिखरमा छन् । नेपालको राजनीतिमा उद्देश्य बिहीन हिम्सा मच्चाउने माओवदी नै हुन् । नेपालको प्रधानमन्त्री त मरिचमान सिंह पनि बनेकै थिए, पुष्पकमल दाहालले जस्तो १७ हजार व्यक्तिको हत्या गरेका थिएनन् उनले । २०५२ साल फागुन १ गतेबाट हिम्सा शुरु गरेको माओवादीले भारतको साथ सहयोग रहदासम्म उसले पछाडी फर्केर हेर्नु परेको थिएन, आज परिस्थिति बदलिएको छ । माओवादीको कथित हिम्सात्मक युद्धले नेपालको राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पु-याएको क्षति मुलुकले कहिल्यै तिर्न नसक्ने गरी थिलथिलो बनेको छ ।

माओवादीहरु नै हिम्सा र विक्रितिका सर्जक हुन् भन्ने कुरामा कुनै विवाद छैन । धेरै मान्छेलाई एउट भ्रम छ– त्यो भ्रम भनेको माओवादीको हिम्सात्मक युद्धले नेपालमा गणतन्त्र आएको हो । माओवादी त साधन मात्र बनेका हुन्, प्रभुले जे चाहेका हुन्, उनीहरुले त प्रभुको इच्छा मात्र पुरा गरेका हुन् । अहिलेको संसदीय व्यवस्थाबारे जनमत संग्रहमा जान केही राजनीतिक दलहरूले चुनौती दिएका छन् । कतिपयले जनमत संग्रह गर्नेतिर लाग्दा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता जस्ता विषयहरू समेत एजेन्डाको रूपमा आउने विश्लेषण गरेका छन् । त्यसो हुँदा अहिलेका परिवर्तन उल्टिन सक्ने उनीहरूको चिन्ता छ ।

तर निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भने त्यो त संसद्वादी पार्टीहरूको असफलता ढाकछोप गर्ने बहाना मात्र हो भनेका छन् । माओवादी हिम्सात्मक युद्धले करीब १७ हजारको ज्यान मात्र लिएको होइन, लाखौं–लाखलाई अपाङ्ग बनाएको छ । आर्थिक रुपमा नेपाललाई अर्बौंको क्षेति पु-याएको छ । २००६ सालमा स्थपना भएको नेपाल कम्युनिष्ट आफ्नै  बलबुत्तामा उभिएको भए नेपाली जनताहरुले गरीब मुलुक नेपालमा धेरै पहिले नै कम्युनिष्ट शासन हेर्ने मौका पाउथेें, जसबाट जनतामा बाँकी रहेको भ्रम हट्न सक्थ्यो।

माओवादीका हिम्सात्मक युद्धले मात्र नेपालमा गणतन्त्र आएको हो भन्ने कुराको गतिलो उदाहरण हुनसक्छ– भारतको स्ततन्त्रता आन्दोलनको सफलता । सन् १९४० को दशकमा एउटा शक्तिशाली साम्राज्यलाई सेतो रंगको सामान्य वस्त्र लगाउने एक व्यक्तिले पराजित गरिदिए । मोहनदास करमचन्द गान्धी नाम भएका ती व्यक्तिलाई सबैले महात्मा भन्ने गर्थे । त्यतिबेला भारत ब्रिटिश साम्राज्यअन्तर्गत थियो । ब्रिटिश साम्राज्यमा अन्य केही देशहरू पनि थिए । ब्रिटेनले नै ती देशहरूको कानुनलाई नै निर्धारण गथ्र्यो ।

एक कुशल राजनीतिक अभियानकर्ताको रूपमा गान्धीले ब्रिटेनको शासनबाट भारतको स्वतन्त्रता र विपन्न जनताको अधिकारका लागि लडेका थिए । अहिंसात्मक आन्दोलनको प्रतीक बनेका महात्मा गान्धी आजसम्म पनि विश्वभरि सम्मानित छन् । नागरिकहरुलाई समस्या पर्दा काम गर्न नसक्ने हो भने राजनीति नगर्दा हुन्छ । होइन भने नागरिकहरुलाई परेको समस्या समाधान गर्न जस्तोसुकै बेलामा पनि डटेर काम गर्नुपर्छ, त्यो मात्रै इमानदार नेता हुन्छ । जनता चाहीं रोग र भोकले मरिरहेको बेला आफू घरभित्र बसेर रमिते बन्न सकिँदैन ।