नेटोमा भेला भएका नेताहरुले भने– चीनले खतरा उत्पन्न गरायो

नेटोमा भेला भएका नेताहरुले भने– चीनले खतरा उत्पन्न गरायो तरुण खबर १ असार २०७८, मंगलवार ११:५०
नेटोमा भेला भएका नेताहरुले भने– चीनले खतरा उत्पन्न गरायो

कम्युनिष्ट विरुद्ध नेटो, नेटोलाई अमेरिकाको बलियो साथ
काठमाडौं । ब्रसल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेका छन् । कम्युनिस्ट विस्तारको जोखिमसँग जुझ्न दोस्रो विश्व युद्धपछि नेटोको स्थापना गरिएको थियो । नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो । पछिल्लो समयमा यसको उद्देश्य र आर्थिक श्रोतबारे नेताहरूले बहस गरिरहँदा गठबन्धनमा केही अप्ठेरा देखिएको थियो।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन पूरा नाम भएको नेटो विश्वको सबैभन्दा शक्तिशाली क्षेत्रीय रक्षा गठबन्धन हो । यसको स्थापना कम्युनिस्ट विस्तारलाई चुनौती दिन सन् १९४९ मा दोस्रो विश्वयुद्धपछि भएको थियो । साझेदारहरूबीच सामूहिक प्रतिरक्षामा जोड दिने सिद्धान्तका आधारमा यो गठबन्धन बनेको हो । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको आर्थिक लगानीप्रति गुनासो गर्दै आफ्ना युरोपेली साझेदारहरूको प्रतिरक्षा गर्ने अमेरिकी प्रतिबद्धतामा प्रश्न उठाएपछि मतभेदहरू चुलिएका थिए ।

ट्रम्पका उत्तराधिकारी जो बाइडनको पदभार सम्हाले यताको पहिलो नेटो शिखर बैठक हो । नयाँ राष्ट्रपतिले ७२ वर्ष पुरानो गठबन्धनलाई अमेरिकी समर्थन रहिरहने बताएका छन् । जेनेभामा भोली बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने शिखर बैठकबारे सोधिएको प्रश्नमा उनले पुटिनलाई ’चतुर प्रतिद्वन्द्वी’ का रूपमा उल्लेख गरेका थिए । अर्को विकासक्रममा नेटोका नेताहरूले अफगानिस्तानमा काबुल विमानस्थललाई सञ्चालन गराइराख्ने निर्णय गरेका छन् ।

अमेरिका र उसका साझेदारहरूले अफगानिस्तानमा रहेका आफ्ना फौजहरू फिर्ता गराएका छन् ।  नेटो सदस्य टर्कीले फौजहरू फर्किएपछि विमानस्थलको सञ्चालन र सुरक्षा आफूले गर्न सक्ने प्रस्ताव राखेको थियो । सुरुमा १२ सदस्य रहेको नेटोमा हाल सदस्य संख्या ३० पुगेको छ ।