भारी वर्षाका कारण आएको बाडी–पैहिरोले अर्बौंको क्षेति

भारी वर्षाका कारण आएको बाडी–पैहिरोले अर्बौंको क्षेति तरुण खबर ३ असार २०७८, बिहीबार १२:१७
भारी वर्षाका कारण आएको बाडी–पैहिरोले अर्बौंको क्षेति

खोलाको पानीको बहाव नघटेकाले उद्दारमा कठिनाई
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका केही ठाउँ बस्ती राख्न लायक छैनन् भन्ने प्रतिवेदन दिएको तीन वर्ष वितिसक्दा पनि सरकारले सचेतता अपनाउन नसक्दा खोला किनारका बस्तीहरुमा बाडी र पहिरोले आतंक मच्चाएको छ । २०७२ बैशाख ११ गते आएको भूकम्प पछी आयोगले सिन्धुपाल्चोकका केही गाउँहरु बस्न लायक छैनन् भनी प्रतिवेदन दिएको थियो ।

बाढी–पहिरोका कारण विभिन्न जिल्लामा हराएका मानिसको खोजी र विस्थापितको सुरक्षित स्थानान्तरण सरकारको प्रमुख प्राथमिकता रहेको बताइए पनि खोलामा पानीको बहाव नघटेका कारण खोजी तथा उद्दारमा कठिनाई भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलाम्ची नगरपालिका र साँगाचोक चौतारा नगरपालिकामा बाडी–पहिरोले क्षेति पु-याएको छ ।

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा एक जनाको शव भेटिएको र ३० जना जति सम्पर्कविहीन रहेकोले खोजी जारी रहेको बताएका छन् । त्यस्तै, शनिबारदेखि पानीको कारण मनाङ, पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका–५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका–६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो ।

मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो । मङ्गलबार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको थियो । बाढी, पहिरो र डुबानमा परी पाल्पामा १ जना, कास्कीमा १ जना, सिन्धुपाल्चोक ७ जना र डोटीमा १ जना गरी जम्मा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला छन् ।

बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जना र जाजरकोटमा ७ जना गरी १४ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी जम्मा ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ पुरुष र २ किशोरी रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम) लगायतका स्थानहरुमा पहिरोले अवरुद्ध सडक सुचारु गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएको प्रहरी तथ्यांक छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाडी, पैरोले प¥याएको क्षेतिका आधारमा उद्दार र राहत वितरण तत्कालै लाग्न सरकारसँग आग्रह गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, हेलम्बु, मेलाम्ची नपा, मनाङ, मुस्ताङ, कास्की, गोरखा, लमजुङलगायतका जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । र, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको पार्टीको विज्ञप्तिमा छ ।