बाढीबारे जान्न ११५५ नम्बरमा फोन गरौं : मौसम शाखा

बाढीबारे जान्न ११५५ नम्बरमा फोन गरौं : मौसम शाखा तरुण खबर ४ असार २०७८, शुक्रबार १०:०१
बाढीबारे जान्न ११५५ नम्बरमा फोन गरौं : मौसम शाखा

शनिबारसम्म पानी पर्न सक्ने मौसम विज्ञहरुको भनाई
काठमाडौं । यस वर्ष मनसुन शुरु भएको केही दिनमै नेपालभरि ठूलो बाडी, पैरा गएका कारण देशका मुख्य नदीहरुले वितण्डा मच्चाएको छ । मौसमविद्हरुका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा पूर्वानुमानअनुसार नै भारी र धेरै भारी वर्षा भएको हो । तर एक्कासि तिनको गति उच्च हुँदा छिट्टै प्रभाव देखिएर जमिनले सोस्न नभ्याउने अवस्था आएको जस्तो देखिन्छ ।

मौसमविज्ञ र भूगर्भशास्त्रीहरूका अनुसार यति बेला हुने अधिकांश विपद् वर्षासँग सम्बन्धित छन् । आज शुक्रबार पनि सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

राति पनि देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम र्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । केही दिनदेखि निरन्तर भइरहेको वर्षा शनिवारसम्म कायम रहन सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सतर्क हुन आग्रह गरेको छ । पछिल्ला दिनमा सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढीपहिरोका घटना भएको गृह मन्त्रालयले जनाएको छ  ।

पानी पर्ने क्रम रोकिएको छैन, बरु ठूलो वर्षा देशभर विस्तार भइरहेको छ  । यसैबीच बिहीवार बिहान ६ बजे प्रकाशित सूचनामा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्माती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको केहि भूभागमा मेघगर्जन÷चट्याङसहित ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको थियो ।

त्यसैले ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ । यो चेतावनी र परामर्श २४ घण्टाका लागि भएको विभागको भनाइ छ । यसैबीच सरकारले वर्षा र बाढीबारे ११५५ नम्बरबाट सूचना दिने गरेको छ ।

उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले तराईमा बाढी र डुबानका घटना बढ्न सक्ने भएकाले सोही रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्दोबस्त मिलाउन निर्देशन दिएको छ  ।

उद्धार र राहतका लागि आवश्यक पर्ने सामग्री जिल्लाजिल्ला पु¥याउने निर्णय पनि बैठकले गरेको हो । यो वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ  ।
एक वर्षमा पर्ने पाँच दिनमै ?
गत जुन ११ मा नेपालमा मनसुन प्रवेश गरेको थियो । त्यसयता मौसममा अन्य कुनै प्रणालीको असर देखा नपरेको विभागका मौसमविद्हरू बताउँछन् । तर सामान्यतया २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी पर्दा सर्वसाधारणलाई सतर्क गराउनुपर्ने अवस्थाका रूपमा हेरिन्छ । विज्ञहरूका अनुसार १४० मिलिमिटरभन्दा धेरै पानी परेमा त्यसले पहिरो जाने अवस्था ल्याउन सक्छ ।

मौसमविद्हरुका अनुसार मङ्गलवार साँझको पछिल्लो अन्तिम मापनमा पोखराआसपास १८० मिलिमिटर र भैरहवाआसपास १४० मिलिमिटर पानी परेको अवस्था थियो । तर मनाङ, मुस्ताङजस्ता सुक्खा हिमाली ठाउँमा ५० मिलिमिटर पानी पर्दा समेत असर उच्च हुन्छ, पहाडी भेगमा १०० मिलिलिटरभन्दा कम नै पानी पर्दा समेत पहिरोजस्ता असर देखिन्छन्, मौसमविद्हरुले बताएका छन् ।

दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपालसहित यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको यसअघि नै मौसमविद्हरूले बताएका थिए । काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनीअरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थले सिन्धुपाल्चोकमा रहेका हिमनदी र त्यहीँका उच्च पहाडी भागमा धेरै पानी पर्ने प्रवृत्तिको असर त्यहाँ विनाशकारी बाढी र पहिरोको रूपमा देखिएको बताएका छन्।

डा. कायस्थ अगाडी भनेका छन्– त्यस्तो जलाधार क्षेत्रले आसपासमा बाढी र पहिरोले वेग बढाउँछ र त्यस्ता ठाउँमा अचानक भए जसरी यस्ता प्रकोप देखा पर्छन् । पूर्वाधार विकास वा प्राकृतिक प्रकोपकै कारण नदीछेउका पहाडमा भएका हलचलले आकस्मिक बाढीहरूको जोखिम बढाएको विज्ञहले भनेका छन् । विपद्विज्ञ तथा त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागका सहप्राध्यापक रञ्जनकुमार दाहाल भन्छन्– पहाडहरू चलेपछि पहिरोहरू धेरै हुन थालेका छन् ।

र, आकस्मिक बाढी माथिल्लो भेगमा पहिरोले खोला नथुनीकन हुन सक्दैन । सिन्धुपाल्चोकमा त्यस्तो प्रवृत्ति बढी देखिने गरेको विज्ञहरूको भनाइ छ । त्यहाँ माथिल्लो भेग लगातार पानी पर्ने अवस्थितिका रूपमा अध्ययनहरूबाटै पहिचान गरिएको विज्ञहरू बताउँछन् । जसले गर्दा त्यसपछिको त्यहाँ कुनै बेला थोरै उच्च पानी आइदियो भने बाढी र पहिरो एकैसाथ देखा पर्ने गर्छ ।

यस पटक मनसुनको शुरुमै धेरै पानी परेको बताउँदै भूगर्भशास्त्रीहरुकोे भनाइ छ । अधिकारीहरूले पछिल्ला महिनामा नेपालमा एक दशकयताकै उच्च डढेलो देखा परेकाले त्यसको असर पहिरोको बढ्दो क्रममा हुने चेतावनी दिएका थिए । कालीगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबईजस्ता नदीमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै सरकारको बाढी पूर्वानुमान महाशाखाले सजग बुधवार गराएको थियो ।

उसले नारायणी र त्यसका सहायक नदीमा बहाव सतर्कता तह आसपास रहेको तर सिन्धुपाल्चोकमा जलबिरेस्थित बलेफी खोलामा मङ्गलवार साँझ उच्च तह देखा परे पनि बुधवारबाट बहाव घट्दो क्रममा रहेको जनाएको छ । तर सरकारी सूचनामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई त्यो खतरा हुन सक्ने भन्दै साना नदी आसपासमा समेत विशेष सावधानी अपनाउन भनेको छ ।