तरुण खबर
५ असार २०७८, शनिबार १७:३२
काठमाडौं । पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरुवात भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५ सय बिरुवा रोपिएको छ ।
गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको ५ सय बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडालगायतले गुर्जो बहु उपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिए ।
गुर्जो रोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा.माला खरेल र पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीले गर्नु भएको थियो । आइतबार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ ।
पशुपति क्षेत्रका खाली स्थानमा क्रमश गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो । अभियानकर्मी राजलवट विसं २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आएको छ ।
गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन् ।
‘यस्य देशस्य यो जन्तो तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले सुनाए ।
उनले गत वर्ष पनि एक लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गरेको थियो । आन्तरिक राजश्व कार्यालय लाहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापी रुपमा निःशुल्क वितरण अभियान चलाएको थियो ।
हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आउनुभएका राजलवटले यो अभियानलाई निरन्तरता दिएको छ । गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांशत सेवनकर्ताको अनुभव छ ।


