तरुण खबर
८ असार २०७८, मंगलवार १०:३२
कुल संक्रमितमध्ये नेपालमा असार ८ गते बिहानसम्म ८ हजार ७७२ को निधन
काठमाडौं । नेपालमा संकलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोनाभाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले हिजो सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको छ ।
त्यसलाई के४१एन (K417N)नाम दिइएको छ । स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY=1) नाम दिइएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा “भेरिअन्ट अफ कन्सर्न“का रूपमा अल्फा बी.१.१.७ र डेल्टा बी.१.६१७.२ भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेष्टका रूपमा कापा भेरिअन्ट बी.१.६१७.१ पुष्टि भएको छ । यी तीनैवटा भेरिअन्टहरू उच्च संक्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ ।
बैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरिअन्ट हामीसामु अझै छ यसबाट हामी सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको हो– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताएका छन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीमा रहेको इन्स्टिच्यूट अफ जीनमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजीमा त्यस्तो पहिचान गर्नका लागि नमुनाहरू पठाएको थियो । दोस्रो लहरका बीचमा यसअघि गरिएको आनुवंशिक संरचनाको एउटा अध्ययनमा ३६ मध्ये ३५ नमुनामा डेल्टा भेरिअन्ट पाइएको थियो ।
तर त्यस बेला के४१७एन उत्परिवर्तन भने देखिएको थिएन । यता, कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो संख्याका गरीब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
नेपालमा कोरोनाभाइरस
२ करोड ९६ लाख ४२ हजार ३९९ जनसंख्या भएको नेपालमा कोरोनाभाइरस महामारी सुरु भएदेखि ६ लाख २२ हजार ६४० भन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ । सरकारी तथ्यांकअनुसार कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८ हजार ७७२ जना नाघेको छ ।
नेपाल भेरिअन्टको बेलायतमा चर्चा
यसअघि एउटा ब्रिटिश पत्रिकामा ’नेपाल भेरिअन्ट’का रूपमा चर्चा चल्दा नेपालबाट गएका एक यात्रुको विमानस्थल क्वारेन्टिनमा संकलित नमुनामा के४१७एन उत्परिवर्तन देखिएको वेलकम स्याङ्गर इन्स्टिच्यूटले जनाएको थियो । यो उत्परिवर्तन यसअघि नै बीटा भनिने दक्षिण अफ्रिकामा फैलिएको भेरिअन्ट तथा अन्य भेरिअन्टमा देखा परिसकेको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्– यो लहर कमजोर भइरहेको ठानेर खुकुलो भइराख्दा नयाँ–नयाँ भाइरस देखा परेका छन् । तिनले नयाँ लहर सिर्जना गर्न सक्छन् भन्ने चेतावनी दिएको छ ।
जुन १५ सम्ममा विश्व स्वास्थ्य सङ्गठनले ब्रिटेन, दक्षिण अफ्रिका, ब्रजिल र भारतमा प्रारम्भिक नमुना सङ्कलन गरिएका भेरिअन्टलाई क्रमशः अल्फा, बीटा, गामा र डेल्टा नाम दिएको छ । उसले सातवटा भाइरसका उत्परिवर्तित स्वरूपलाई ’भेरिअन्ट अफ इन्ट्रेस्ट’को समेत औपचारिक वर्गीकरण गरेको छ । नेपालमा पाइएको कापा भेरिअन्टको प्रारम्भिक नमुना गत वर्ष अक्टोबरमा भारतमा फेला परेको डब्ल्यूएचओको वेबसाइटमा उल्लेख छ । भारत पठाइएका नमुना जुनसुकै ठाउँ र उमेर समूहका व्यक्ति पर्न सक्नेगरी ’¥यान्डम स्याम्प्लिङ’ गरेर सङ्कलन गरिएको विज्ञहरुले बताएका छन् ।
केलाई भेरिअन्ट भनिन्छ ?
बीबीसीका अनुसार भाइरसहरूमा निरन्तर उत्परिवर्तन हुन्छ । कुनै उल्लेखनीय उत्परिवर्तन भएमा त्यसलाई नयाँ भेरिअन्ट भनिन्छ । कुनै पनि उत्परिवर्तनलाई कतिखेर भेरिअन्ट मान्ने भन्नेबारे स्पष्ट वैज्ञानिक अवधारणा छैन । सामान्यतया कुनै उत्परिवर्तन धेरै फैलिएर एउटा फैलिने प्रवृत्ति देखिन थालेपछि भेरिअन्ट भनिन्छ ।
कुनै उत्परिवर्तन वा भेरिअन्ट पहिलेको भन्दा थप संक्रामक भयो वा मानिसहरूलाई बढी बिरामी बनायो वा खोप प्रतिरोधी देखियो भने त्यसलाई ’भेरिअन्ट अफ कन्सर्न’ को सूचीमा राखिन्छ । अहिलेसम्म नेपालमा देखिएको वा अन्यत्र देखिएको थप उत्परिवर्तनलाई त्यस्तो सूचीमा राखिएको छैन । पब्लिक हेल्थ इङ्गल्यान्डले यसलाई ’अध्ययनमा रहेको चुच्चो उत्परिवर्तन’ भने पनि भेरिअन्ट भनेको छैन ।


