तरुण खबर
९ असार २०७८, बुधबार ११:२१
काठमाडौं । मनसुन शुरु हुनासाथ नेपालका सिन्धुपाल्चो, मनाङ, स्याङ, पाल्पा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ डोटी जिल्लाका विभिन्न भागमा बाढी र पहिरोका कारण निर्माणाधीन र सञ्चालनमा रहेका कैयौँ जलविद्युत् आयोजनामा क्षति पुगेको उत्पादकहरूले बताएका छन् । उनीहरूका अनुसार साना र ठूला गरी झन्डै डेढ दर्जन आयोजनामा निकै ठूलो क्षति पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वाधारहरूमा पनि बाढीपहिरोले क्षति पु-याएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् । ऊर्जा मन्त्रालयले क्षतिको विवरण लिने काम भइरहेको र क्षतिग्रस्त आयोजनाहरूलाई आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको बताइएको छ । आयोजनामा क्षति पुग्दा कैयौँ घण्टा र कतिपय ठूलै आयोजनाबाट दुई दिनसम्म पनि विद्युत् उत्पादन हुन नसकेको अधिकारीहरूले जानकारी दिए ।
तर पनि ग्राहकले लोडशेडिङको सामना गर्नुपरेन । दुईवटा कारणले लोडशेडिङ नभएको विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन् । अहिले नेपालमा दैनिक उच्च माग हुँदा १,२०० देखि १,३०० मेगावाट विद्युत माग रहेको बताइन्छ । बाढीपहिरो सुरु हुनेबित्तिकै करिब ५०० मेगावाट आपूर्ति अवरुद्ध हुँदा त्यसको पूर्ति गर्न एक दिनमा ६०० मेगावाटसम्म पनि भारतबाट बिजुली आयात गरिएको थियो । बाढीपहिरोअघि त्यस्तो आयात २०० मेगावाटमा झरिसकेको थियो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार विद्युत आयोजनाहरूमा बाढी र पहिरो पसेर करिब १० अर्ब रुपैयाँको क्षति भएको अनुमान गरेको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सानादेखि ठूलासम्म गरेर डेढ दर्जनजति आयोजनामा असर परेको छ । धेरैजसो दोर्दी करिडोर र मादी करिडोरमा धेरै क्षति भएको छ । प्रवर्तकहरू जहाँजहाँ क्षति भएको छ, त्यहाँ पुग्न सकिरहनु भएको छैन । प्रत्यक्ष त्यहाँ पुगेर आकलन गर्न सक्ने अवस्था अझै बनिसकेको छैन । हामीले यो १० अर्ब भनेको मोटामोटी प्रारम्भिक हो, अझै बढ्न सक्छ ।
निर्माणाधीन आयोजनाहरूमा उपकरण र सवारीसाधनहरू बगाउने, पुर्ने र निर्माणस्थल नै क्षतविक्षत हुने अवस्था देखा परेको बताई रहेका छन् । उनीहरुका अनुसार निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका आयोजनाहरूमा भौतिक क्षति पुग्दा विद्युत् आपूर्ति बन्द हुने र त्यसबापत आउने आम्दानी गुम्ने अवस्था आएको छ । त्यस्ता कतिपय आयोजनाका पूर्वाधारमा पनि निकै क्षति पुगेको अध्यक्ष आचार्यले सार्वजनिक रुपमै भन्दै आएका छन् ।
सरकारी पूर्वाधारमा क्षतिको विवरण
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार बाढी र पहिरोका कारण प्राधिकरणका विभिन्न पूर्वाधारमा पनि क्षति पुगेको छ । मनसुन सुरु हुनेबित्तिकै आएको बाढी र पहिरोले क्षति पु¥याउँदा कतिपय आयोजनाबाट विद्युत् आपूर्ति नै बन्द भएको थियो । यद्यपि अहिले अधिकांश आयोजनाबाट पुनः उत्पादन सुरु भइसकेको उनले जानकारी दिएका छन् ।
त्यस्तै एउटा क्षतिको उदाहरण दिँदै उनले भने– दोर्दी करिडोरमा रहेको १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न हुन लागेको थियो, चारवटा टावर तारसहित ढलेका छन् । वितरण लाइनतिर पनि विशेषगरी गण्डकी र वाग्मती प्रदेशका विभिन्न स्थानमा धेरैवटा पोल ढालेको अवस्था छ । उनका अनुसार प्राधिकरणले बाढी र पहिरोका कारण कति क्षति पुग्यो भनेर त्यसको वित्तीय अनुमान गरिसकेको छैन । तिम्सिनाले सबैतिरबाट विवरण सङ्कलन गरेर चाँडै कति मूल्य बराबरको क्षति भयो भन्ने निकालिने जानकारी दिए ।


