तरुण खबर
१६ असार २०७८, बुधबार १०:४१
काठमाडौं । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको संख्या ६० नाघेको बताएको छ । त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन् । उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ । ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो । यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन । भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुहोस् भनेको छ ।
यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन् बीबीसी अनलाइनमा लेखिएको छ । यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ । प्रहरीले “एक्कासि मृत्यु“ भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ । त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन् । ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले गत आइतबार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए । लीटनको सानो गाउँमा बस्ने मेघन फ्यान्डरिचले ती पत्रिकालाई जनाए अनुसार घरबाट बाहिर निस्किन “लगभग असम्भव“ भनेको थियो ।
“सहनै नसक्ने भएको छ,“ उनले भनिन् । हामी सकेसम्म घरभित्रै बस्ने प्रयास गरिरहेका छौँ। मलाई लाग्छ हामी गर्मीसँग अभ्यस्त छौं तर यो सुख्खा गर्मी हो। ३० भन्दा ४७ डिग्री सेल्सियस धेरै नै बढी हो । इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ । हामी विश्वमा धेरै चिसो हुने र हिउँ पर्ने देशको सूचीमा दोस्रो स्थानमा पर्छौं– इन्भाइरोन्मेन्ट क्यानडाका वरिष्ठ जलवायुविद् डेभिड फिलिप्सले भने । हामी चिसोबारे धेरैजसो कुरा गर्छौं तर गर्मी मौसमबारे त्यतिधेरै कुरा गर्दैनौं उनले भनेका थिए ।
अमेरिकामा कस्तो असर परेको छ ?
अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। सन् १९४० यता तथ्याङ्क राख्न थालेयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ । अमेरिकाको नेशनल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ । गर्मी यति बढी छ कि तारहरू पग्लिएका छन् ।
त्यसैकारण गत आइतवार पोर्टल्याण्ड स्ट्रीटकार सेवा बन्द गरिएको थियो । सियाटलका एक बासिन्दाले समाचार संस्था एएफपीसँग बोल्दै वासिङ्टनस्थित सहरको मौसम मरभूमिजस्तो महसुस भएको बताएका छन् । विज्ञहरूले जलवायु परिवर्तनका कारण अति गर्मी वा अति जाडो जस्ता मौसमहरूको क्रम बढ्ने ठानिएको बताएका छन् । यद्यपि कुनै एउटा घटनालाई विश्वव्यापी तापमानवृद्धिसँग जोड्न भने जटिल रहेको उनीहरू बताउँछन् ।


