तरुण खबर
१८ असार २०७८, शुक्रबार ०९:३४
काठमाडौं । आज शुक्रबार पनि देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने मौसमविद्हरुले जानकारी दिएका छन् । निरन्तर वर्षाका कारण गएको पहिरोले गर्दा मुलुकका विभिन्न राजमार्गहरू बन्द भएका छन् । पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
“पहिरो त्यति ठूला छैनन् तर कहीँ पानीका कारण, कहीँ लेदोका कारण र कहीँ पहिरोकै कारण समस्या भएको प्राधिकरणले जानकारी दिएको छ । तर सडक खुलाउन धेरै समय भने लाग्दैन,’’ प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले बताएका छन् । कोरोनाभाइरस महामारीका कारण निषेधाज्ञा लागु भएका कारण राजमार्गहरूमा विगतमा जस्तो सवारीको चाप भने नरहेको अर्यालले जानकारी दिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहीबारजस्तै शुक्रबार पनि बिहानैदेखि पानी परिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने बिहान ६ बजे नै खुलेकाले विमानस्थलमा भीड बढेको छ ।
असार १ गतेदेखि बिहिवार बिहानसम्म नेपालमा वर्षाका कारण २८ जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । घाइते हुनेको संख्या २२ छ । पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भएको छ । त्यस्तै मुग्लिङ–नारायणगढ खण्ड, काभ्रे जिल्लामा बीपी राजमार्ग र ललितपुर हुँदै हेटौँडा जाने सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड पनि अवरुद्ध भएको विवरण प्राप्त भएको छ ।
यसअघि नै गएका पहिरोका कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र बेँसीसहर–मनाङ सडक खण्ड अवरुद्ध रहेको छ । नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसादेखिे र भोली शनिबाररातिसम्म अत्याधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको थियो । सरकारले नदी तटीय क्षेत्र र भिरालो वस्तिहरूमा सतर्कता अपनाउन सर्वसाधारणहरूलाई आग्रह गरिसकेको छ ।
नदीहरूको अवस्था कस्तो छ ?
केही दिनअघि सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची नदी किनारका कैयौँ सर्वसाधारण विस्थापित भएका छन् । भोटेकोसी, सुनकोसी लगायतका कोशीका सहायक नदीहरू र त्रिशूली, बुढी गण्डकी, काली गण्डकी, मस्र्याङ्दी लगायत नारायणीका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । पूर्वी राप्ती र कन्काई जलाधारका केही सहायक नदीहरूमा मध्यमदेखि अत्यधिक वर्षा भई बहाव उल्लेख्य बढ्ने र सतर्कता तहमा पुग्न सक्ने बताइएको छ । त्यस्तै कमला र बाग्मती लगायतमा बहाव सतर्कता पार गरी खतराको तहसम्म पुग्ने सक्ने बताइएको छ ।
बाग्मती प्रदेशको काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेपलान्चोक जिल्लाका स–साना नदीहरूमा बहाव केही बढ्ने र आकस्मिक बहाव हुन सक्ने बताइएको छ । “आज कमला र बागमती लगायतमा बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ– बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ र कास्की छन् भने प्रदेश २ मा बारा, पर्सा र रौतहट सहित ८ जिल्ला छन् । प्रदेश १ मा पनि इलाम, झापा र मोरङ सहित १२ जिल्लामा प्रभाव रहने बताइएको छ ।
मेलम्चीको अवस्था के छ ?
निरन्तर वर्षाका कारण मेलम्ची र आसपासका नदीहरूमा फेरि बहाव बढेको छ । हामीले सतर्कता अपनाएको अवस्थामा थप मानवीय क्षति हुँदैन भन्ने हो तर बहावले अलिअलि कटान चाहिँ अहिले पनि भइरहेको छ, मौसम विज्ञहरुले बताएका छन् । बाढी पूर्वानुमान शाखाले आफ्नो ह्यान्डलबाट ट्विट गर्दै सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधवार बेलुकादेखि लगातार मध्यमदेखि अन्यधिक वर्षा मापन भएको र त्यहाँ थप वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ । सूचनामा मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।


