तरुण खबर
१८ असार २०७८, शुक्रबार ०९:४१
१, जूलाइमा भारतमा ४३ हजार ३६० जनाभन्दा बढी संक्रमित
काठमाडौं । कोरोना भाइरसको संक्रमण शुरु भएको करीब दुई वर्ष भैसकेको छ, तर अहिले खरतरा कम भएको छैन । विश्वभरमा कुल कोरोना संक्रमितको संख्या १८ करोड ३९ लाख ९० हजार ११५ जना छन् भने कुल संक्रमितमध्ये करीब ३९ लाख ७० हजार ६३३ जनाको ज्यान गैसकेको छ ।
नेदरल्याण्डको युट्रेक्ट विश्वविद्यालयले गरेको अनुसन्धानका अनुसार कोरोना संक्रमित भएको व्यक्तिले पालेको कुकुर वा बिरालोलाई पनि कोरोना भाइरसको संक्रमण हुने देखिएको छ । सार्वजनिक रुपमा नआएको शोधका अनुसार अनुसन्धानमा १९६ घरका संक्रमितमध्ये १५६ कुकुर र १५४ बिरालाहरु संलग्न गराइएको थियो । उनीहरुको स्वाव लिइएकोमा ४.२ प्रतिशत घर पालुवा जनावरमा संक्रमण देखिएको पाइएको नेदरल्याण्डको विश्वविद्यालयले जानकारी दिएको छ । यूट्रेक्ट विश्वविद्यालयका अनुसार ३१ बिरालो र २३ वटा कुकुरमा एण्टिबडी पाइएको थियो । तर संक्रमित व्यक्तिबाट घरपालुवा जनाबरलाई टाढै राख्नु उपयुक्त हुने सुझाव दिइएको विश्वविद्यालयले जानकारी गराएको छ ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१, जुलाई) मा १९ लाख २१ हजार ४५० जनाको नमुना परीक्षण गर्दा ४३ हजार ३६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३०, जुनमा १९ लाख ६० हजार ७५७ जनाको नमुना परीक्षण गर्दा ४८ हजार ८७८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टाक (१, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट ७९६ जनाको निधन भएको छ । ३०, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ९९१ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५३ हजार ९३७ जना छन् । भारतमा २ करोड ९५ लाख ३६ हजार ८७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख १७ हजार ५७९ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ५४ हजार ५६५ जना कोरोना मुक्त भएका छन् । असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २७१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


