तरुण खबर
२४ असार २०७८, बिहीबार ०९:४०
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार साँझ मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । उनी सन् २०१४ को मे २६ मा भारतीय १४औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए । उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा शुरू भएको हो, उनले दोस्रो कार्यकालको शुरुवात नै ५७ मन्त्री मण्डल बनाएर गरेका थिए ।
भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन् । उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो । उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले क्रमशः ११ वर्ष र करीव पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष पूरा गरेकी थिइन् । त्यस्तै काङ्ग्रेस नेता डा.मनमोहन सिंह लगातार दुई पटक पाँच–पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व बनेका थिए ।
लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता एवं प्रधानमन्त्री मोदीले १५ जना क्याविनेट मन्त्रीहरु थप गरेका छन् भने २८ जना राज्यमन्त्री थपिएका छन् । विस्तारित ४३ जना मन्त्रीहरुले हिजै शपथ लिएका छन्, जसमध्ये ३६ जना नयाँ अनुहारलाई मन्त्री बनाइएको छ । क्याबिनेट मन्त्रीहरुमा नारायण राणे, सर्बानन्द सोनोवाल, डा. वीरेन्द्रकुमार, ज्योतिरादित्य सिन्धिया, रामचन्द्रप्रसाद सिंह, अश्विनी वैष्णव, पशुपतिकुमार पारस, किरेन रिजिजू, राजकुमार सिंह, हरदीप सिंह पुरी, मनसुख मान्डविया, भूपेन्द्र यादव, पुरुषोत्तम रूपाला, जी किशन रेड्डी, अनुराग सिंह ठाकुर छन् । महाराष्ट्रका पूर्व मुख्यमन्त्री नारायण राणे पहिलो पटक केन्द्रीय क्याबिनेट मन्त्री बनेका हुन् ।
आसमका पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल पनि क्याविनेट मन्त्री बनेका छन् । काँग्रेस आईबाट बीजेपी प्रवेश गरेका मध्ये प्रदेश गरेका ज्योतिरादित्य सिन्धियालाई नागरिक उड्डयन मन्त्रालय दिइएको छ । ज्योतिरादित्य सिन्धियाका पिता माधव राव सिन्धियाले पनि कुनैबेला यही मन्त्रालय संहालेका थिए । त्यस्तै महत्वपूर्ण मानिएको केन्द्रीय स्वास्थ्य एवं रसायन मन्त्रालय मनसुख माण्डविया (प्रमोट) लाई दिइएको छ ।
विस्तारितमन्त्रीहरुमध्ये सांसद वीरेन्द्र कुमार ७औं पटक केन्द्रीय क्याबिनेट मन्त्रीको शपथ लिएका हुन् । हरदीप सिंह पुरी, अनुराग ठाकुर, किशन रेड्डी राज्यमन्त्रीबाट क्याविनेट मन्त्री बनेका हुन् । बिहार, हाजिपुर क्षेत्रबाट निर्वाचन जितेका सांसद पशुपति कुमार पारसलाई केन्द्रीय मन्त्रीसहित २८ जना राज्यमन्त्री बनाइएको छ ।
त्यस्तै, हाल मोदी सरकारमा रहेका स्वास्थ्यमन्त्री डा. हर्षवर्धन, कानुनमन्त्री रविशंकर प्रसाद, सूचना प्रसारण मन्त्री प्रकाश जावडेकर, शिक्षामन्त्री रमेश पोखरियाल, रसायनमन्त्री सदानन्द गौडा, सामाजिक न्यायमन्त्री थावरचन्द गहलोत, श्रम राज्यमन्त्री सन्तोष गंगवार, केन्द्रीय मन्त्री तथा गायक बाबुल सुप्रियोसहित १२ मन्त्रीले हिजै राजीनामा दिएका थिए ।


