तरुण खबर
२५ असार २०७८, शुक्रबार १०:१०
काठमाडौं । सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा फर्किसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले समय सीमा तोकेका थिए । तर अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन् ।
युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति जो बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन् । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला जो बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन् । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतंकवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेका थिए । तर गत जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि जो बाइडनले त्यो समय सीमालाई केहीपछि धकेलिदिएका थिए । ह्वाइट हाउसबाट गरिएको सम्बोधनका क्रममा उनले तालिबानको अधिग्रहण अपरिहार्य रहेको भनाइ अस्वीकार गरेका छन् ।
झन्डै ३ लाख अफगान सुरक्षा फौजका अगाडि ७५ हजार लडाकु रहेको तालिबानको मेल नरहेको उनको भनाई छ । अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १,००० अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने ठानिएको छ बीबीसी न्यूजले लेखेको छ । यसै साताको सुरुवातमा आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एट्लान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बताएको छ ।


