तरुण खबर
२६ असार २०७८, शनिबार ०९:५४
काठमाडौं । भारतको नीति आयोगका (स्वास्थ्य) सदस्य डाक्टर वीके पालले हिजो शुक्रबार प्रेससँग बोल्दै कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको बताएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि दैनिक ४५ हजार कोरोनाभाइरसका संक्रमित प्रमाणित भैरहेका छन्, यो संख्या कम होइन । केही दिनअघि भारतको हिमाञ्चल प्रदेश र उत्तराखण्डको भीड देखेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको संक्रमण अझै फैलन सक्ने भनी चेतावनी दिएका थिए । स्वास्थ्य मन्त्रालयले भीडभाड वा यात्राबाट फर्किएपछि क्वारेन्टिनमा बस्नु पर्ने जानकारी दिएको छ, त्यसबाट संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (९, जुलाई) मा १७ लाख ९० हजार ७०८ जनाको नमुना परीक्षण गर्दा ४२ हजार ६४८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ८, जुलाईमा १८ लाख ९२ हजार ८ सय जनाको नमुना परीक्षण गर्दा ४३ हजार ५३८ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (९, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट १ हजार २०६ जनाको निधन भएको छ । ८, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ९१० जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार २६ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ७ लाख ९४ हजार ७५६ जना छन् । भारतमा २ करोड ९९ लाख २५ हजार ८८३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६१ हजार ७ सय जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (शुक्रबार) मा ४५ हजार १५९ जना कोरोना मुक्त भएका छन् । असार २६ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ७ हजार १७३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


