तरुण खबर
२९ असार २०७८, मंगलवार १०:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनी यसअघि पटक–पटक प्रधानमन्त्री भैसकेका छन् । देउवा पहिलो पटक २०५२ साल भदौ २७ गते प्रधानमन्त्री बनेका थिए । २०७४ सालमा देउवाले नै चुनाव गराएका हुन् । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बनेका थिए । त्यसको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने । २०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका उनैले २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराएका थिए । संविधान कार्यान्वयनका लागि तीनै निर्वाचित गराएर उनी सफल पनि भए ।
राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो । देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको बताइएको छ ।


