तरुण खबर
३० असार २०७८, बुधबार ०९:५८
अदालतको फैसला मान्ने तर आलोचना गर्न नछाड्ने
काठमाडौं । आफ्नो कार्यकालको अन्तिम दिन अर्थात २०७८, असार ३० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाबारे महत्वपूर्ण प्रश्नहरू उठाएका छन् ।
यद्यपि उनले सर्वोच्चले गरेको फैसलालाई आफूले मान्ने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै भने– अदलातको फैसला अनुचित छ । हामी यसको विरुद्धमा छौ । संवैधानिक हिसाबले हेर्ने हो भने त्यो उपयुक्त छैन । जे भए पनि अदालतको फैसलालाई मानेर त्यसलाई कार्यान्वयन गरेर हामी अगाडि बढ्छौँ । ओलीले सर्वोच्चको फैसलाले लोकतन्त्रमाथि विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको बताएका छन् । उनले सर्वोच्चको फैसलालाई इङ्गित गर्दै राज्यका अङ्गहरूको नियन्त्रण र सन्तुलन गुम्दा त्यसले कहिल्यै पनि लोकतन्त्रलाई राम्रो नगर्ने दाबी गरेका छन् ।
अहिलेको फैसलाले कतिपयमा विजय उन्माद देखिएको भन्दै उनले भनेका छन्– विगतमा पनि यस्ता विजय उन्माद हामीले देखेका हौँ । तर कालान्तरमा ती खुसीहरू र लोकतन्त्र गुम्दाको कुरा बिर्सिएका छैनौँ । जनप्रतिनिधिमूलक संस्थाका गतिविधिलाई अन्त लगिएमा त्यसले भविष्यमा दुष्परिणाम निम्त्याउने ओलीको भनाइ छ । उनले आफूलाई राज्यका अङ्गहरूबीचको सन्तुलन बिग्रिएर लोकतन्त्र नै खतरामा पर्ला कि भन्ने चिन्ता लागेको बताएका थिए ।
सर्वोच्च अदातले सांसद्हरूलाई दलीय कारबाही नहुने भनी गरेको निर्णयप्रति पनि ओलीले आपत्ति जनाए । उनले उक्त निर्णयलाई उल्लेख गर्दै भने– त्यसले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको छ । ओलीले दलले उम्मेद्वार बनाएको र दलकै घोषणापत्रबाट चुनाव लडेर जितेको व्यक्तिले सांसद बनेपछि जो कसैलाई समर्थन गर्ने वा भोट हाल्ने भन्ने कुरा लोकतन्त्रका लागि ठिक नभएको पनि बताए । ओलीले भने– सत्ता र प्रतिपक्ष एउटै दलको व्यक्ति हुन सक्दैन ।
राजनीतिक प्रश्नको फैसला गर्ने कमा मुख्य रूपमा दलको भएको भन्दै ओलीले “अत्यधिक न्यायिक सक्रियता“ देखिएको पनि उल्लेख गरेका छन् । उनले आफू जनादेशबाट निर्वाचित भएर आएको र अहिले चाहिँ परमादेशबाट बाहिरिन लागेको बताएर आक्रोश पोखे । ओलीले भने– आज फेरि जनताको जनादेशले होइन, जनताको आदेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो । त्यस कारण सर्वोच्चको परमादेशको कारण सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु । आफूलाई बाहिरिनुपर्दा कुनै पनि चिन्ता नलागेको पनि बताए । आफूले जनहितमा काम गरेकाले आफूलाई त्यस्तो चिन्ता नभएको दाबी गरे । आफ्नो कार्यकालमा गरिएका कामको फेहरिस्त सुनाएका ओलीले चाँडै सबै नेपालीले खोप पाउने पुनः दोहो¥याएका थिए ।
ओलीले बाँकी अवधि संसद् चलोस् र समयमै निर्वाचन होस् भन्ने आफ्नो कामना भए पनि त्यसमा आफूलाई शङ्का लागेको बताए । आफ्नै पार्टीका नेताहरूको भूमिकाको आलोचना गरेका ओलीले विपक्षीलाई सहयोग गर्ने र आफ्नै सरकार ढाल्न खोज्ने प्रवृत्ति देखिएको बताए । त्यो कार्यलाई उनले ’आपराधिक कार्य’ भनेका छन् । यद्यपि उनले पार्टीका कार्यकर्तालाई धैर्य नगुमाउन पनि आग्रह गरेका थिए ।


