हवाई भाडा साविक मूल्यभन्दा तेब्बर असुल्दै

हवाई भाडा साविक मूल्यभन्दा तेब्बर असुल्दै तरुण खबर १ श्रावण २०७८, शुक्रबार १०:४९
हवाई भाडा साविक मूल्यभन्दा तेब्बर असुल्दै

कारवाही गर्ने निकाए नै छैन ?
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको गुनासो हवाई यात्रुहरूले गरेका छन् । युरोप वा अमेरिका जाने उडानको भाडा अहिलेसम्म दोबर महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा तेबरभन्दा महँगो भएको गुनासो आएको छ । युरोपका लागि पहिला ५०–५५ हजारमा एकतर्फी टिकट पाइन्थ्यो भने जुलाई २० तारिखपछिका लागि हामीले काटेको टिकटको भाडा दाब्ेबर छ एक ट्राभल एजेन्सीमा काम गर्ने अधिकारीले जानकारी दिए । यो बीचमा त ’रेट’ भन्ने नै थिएन जति राख्दा पनि भयो । अस्ट्रेलिया जान रोकिएकाहरू त चार–पाँच लाखसम्मको भए पनि टिकट जसरी पनि मिलाइदिनूस् भनिरहेका छन् उनले भने । उनका अनुसार खाडी मुलुक जाने कामदारको हकमा उडान भाडा झन् बढी छ र उनीहरू मारमा परेका छन् ।

वैदेशिक रोजगारीमा जानेलाई झन् मार
खासगरी कतार, दुबई र साउदी अरबमा कामदारका रूपमा धेरै नेपालीहरू गइरहेका छन् । त्यहाँको सरकारले आफूले तोकेको होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम राखिदिएपछि कामदारहरू मारमा परेको बताइन्छ । उनले भने– हामी ट्राभल एजेन्सीहरूले कार्डबाट पेमेन्ट गरेर होटल बुकिङ गर्ने अनि टिकट लिँदा क्वारन्टीनका लागि एक लाखभन्दा बढी हुन्छ र टिकटका लागि ७० हजार जति गर्दा एक लाख ९० हजारसम्म पर्छ । त्यस्ता देशमा नेपाल वायुसेवा निगमको उडान नहुनु र निजी क्षेत्रका मात्र उडान उपलब्ध हुँदा यात्रुहरू मारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । हामीसँग यति धेरै प्रमाण छ, त्यो हामी पेस पनि गर्न सक्छौँ । क्वारन्टीनको बहानामा साउदी अरबमा छ रातका लागि ८०० डलर लिइरहेको छ । टीभी र एसी पनि नभएको एउटा साधारण कोठाका लागि त्यतिसम्म रकम लिइएको छ उनले भने ।

भाडा महँगो हुनुमा निश्चित व्यवसायीहरूलाई मात्र टिकट काट्ने अनुमति दिनु अनि उडानलाई सीमित पारिनु कारण भएको नेपाल एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट संघका उपाध्यक्ष रमेश थापा बताउँछन् । सरकारले बाहिर चाहिँ सबै उडानहरू गर्न खुला भनिदिने तर फ्लाइट फ्रिक्वन्सी चाहिँ नथप्दिने र एयरलाइन्सहरूले पनि कम उडान गर्ने रहेको थापाले बताएका छन् । सम्बन्धित निकायलाई बढाउन दिनेबित्तिकै स्वतः खोलिहाल्छ । कुनै एजेन्सीको नाममा सीट ब्लक गर्ने, होल्ड गर्ने, नदिनेबित्तिकै भाडा स्वतः महँगो भइहाल्छ ।

उडान कहिलेदेखि पुरानै अवस्थामा आउँला ?
उडान थप गरेमा प्रतिस्पर्धा बढ्ने अनि यात्रुलाई सहज हुने व्यवसायीहरूको तर्क छ । तर नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले भने कोरोनाभाइरस संक्रमणका कारण अहिले नै उडानहरू पूर्ववत् अवस्थामा ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सीसीएमसीलगायत धेरै निकायले निर्णय गर्नुपर्ने उनीहरूले बताएका छन् । सरकारले एप्रिल ३० तारिखमा निषेधाज्ञा जारी गरेपछि मे १७ तारिखदेखि ३० तारिखसम्म चार्टर्ड उडान मात्रै भएको थियो । त्यसपछि जुन महिनामा केही सीमित विमानसेवालाई मात्रै नियमित उडान थोरै सङ्ख्यामा दिएपछि ट्राभल एजेन्सीहरूले ती एयरलाइन्सको एकाधिकार भएको भन्दै नागरिक उड्डयन प्राधिकरणमा आपत्ति जनाएका थिए । त्यसयता नियमित उडानहरू थपिएका त छन् तर पनि भाडा दोबरभन्दा बढी भएको यात्रुहरूको गुनासो कायमै छ ।

टिकट र क्वारिन्टाइन भाडाको छानबिन र कारबाही
यात्रुहरूबाट भाडा दोब्बर, तेब्बर भएको भन्ने गुनासो आएपछि त्यसको सम्बोधनका लागि छानबिन अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उसले छानबिनपछि गलत पाइए कानुनी कारबाही गरिने बताएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भाडाका विषयमा छानबिन भइरहेको बताउँछन् । उनले भने– कुन पक्षमा कति कमजोरी भयो अथवा कसले बदमासी ग¥यो भन्ने पहिचान गर्छौँ । कारबाही गर्न सक्ने हकमा हामीले नै गर्छौँ । हामीले गर्न नसक्ने विषयमा चाहिँ सम्बन्धित निकायहरूमा नै राय सुझावसहितको प्रतिवेदन छिट्टै नै पठाउँछौँ । नियमित उडानमा बजारको माग र आपूर्तिको अवस्थाले भाडदर निश्चित हुने गरेको अधिकारीहरूको भनाइ छ ।