वडादेखि केन्द्रसम्म  काँग्रेस महाधिवेशन प्रभावित

वडादेखि केन्द्रसम्म  काँग्रेस महाधिवेशन प्रभावित तरुण खबर २ श्रावण २०७८, शनिबार ०९:५७
वडादेखि केन्द्रसम्म  काँग्रेस महाधिवेशन प्रभावित

पूर्वतयारीका हिसाबले के तोकिएकै मितिमा महाधिवेशन हुन सक्ला त ?

काठमाडौं । शुक्रबारको पदाधिकारी, पूर्व पदाधिकारीको बैठकमा समयमै महाधिवेशन गर्ने गरी सबै तयारी अघि बढाउने विषयमा छलफल भएको बुझिएको छ । तर हिजो शुक्रबार दिउसको बैठकमा केही नेताहरूले महाधिवेशन सार्नुको विकल्प नभएको बताएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिहीबार नै तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने भन्दै सामूहिक रणनीति लिएर शुक्रबारको बैठकमा सहभागी भएका थिए ।

जसले गर्दा महाधिवेशन सार्नेबारे छलफल केन्द्रीत हुन नपाएको एक नेताले बताए । २.३० देखि शुरु भएको पदाधिकारी बैठक ४ घन्टासम्म चलेको थियो । छलफल १४औं महाधिवेशन केन्द्रित रहेको एक नेताले तरुणलाई जानकारी दिए । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिका कार्यप्रगति, केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका कामकारबाही र निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिनेबारे शुक्रबारको बैठकमा छलफल भएको थियो ।

तर कुनै निश्कर्ष निश्किन सकेन । नेपाली काँग्रेसले वडा अधिवेशन साउन १२ गते तोकेको छ भने केन्द्रीय महाधिवेशन २०७८, भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको छ । वडा अधिवेशन गर्नु पहिले नै क्रियाशील सदस्यको विवरण सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ ।

यसर्थ, कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तल्ला तहको अधिवेशन सर्ने निश्चित भएको छ । सभापति शेरबहादुर देउवालाई महाधिवेशनको मुखमा सरकारको नेतृत्व गर्नुपर्ने थप जिम्मेवारीको असर महाधिवेशनको कार्यतालिकामा परेको छ । देउवाले निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदा र क्रियाशील सदस्यताको विवादका सम्बन्धमा छलफल गर्न यसअघि मंगलबारकै लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । तर, सोमरबारै सर्वोच्च अदालतको परमादेशले देउवा प्रधानमन्त्रीमा नियुक्ति हुने प्रक्रिया अघि बढेपछि रोकिएको बैठक चार दिनपछि हिजो शुक्रबार बसेको हो ।

सबैभन्दा तल्लो तह ६,७४३ वडामा १२ साउनमा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । त्यसका लागि न मतदाताको टुंगो लागेको छ, न त निर्वाचनको कुनै तयारी नै अघि बढेको छ । केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म कसरी निर्वाचन गर्ने (?) भन्ने निर्वाचन निर्देशिकासमेत जारी गर्न सकेको छैन । जिल्ला–जिल्लामा निर्वाचन समितिका प्रतिनिधि पुगेर ती प्रतिनिधिले पुनः वडा–वडामा निर्वाचनको व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

शुक्रबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसे पनि निर्वाचनबारे व्यवस्था गर्न तयार गरिएको निर्देशिका पारित हुन सकेन । बैठकले निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिन सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ । निर्देशिकालाई अन्तिम रूप दिनै केही दिन लाग्ने भएकाले वडा तहको अधिवेशन सर्ने करिब–करिब निश्चितजस्तै छ ।

प्रधानमन्त्री देउवाले साउन अन्तिम साताभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । जब कि १६–१९ भदौमा हुने महाधिवेशनको तयारीका लागि सम्पूर्ण ध्यान दिनु पर्ने समय पनि त्यही नै हो । सरकार सञ्चालन, कोभिड–१९ महामारी, वर्षायाम, बाढीपहिरो, क्रियाशील सदस्यता विवाद र अन्य पूर्वतयारीमा भएको ढिलासुस्तीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ । केन्द्रीय महाधिवेशनका लागि ४६ दिन मात्रै हुँदा देखिएका क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकाको मस्यौदा र अन्य पूर्वतयारीका हिसाबले के तोकिएकै मितिमा महाधिवेशन हुन सक्ला त ?