तरुण खबर
३ श्रावण २०७८, आईतवार ११:०५
काठमाडौं । क्रियाशील सदस्यता छानबिन समितिले लगभग टुंगयाएको दावी गरेको छ । तर कैलाली, डडेलधुरा, बारा, सर्लाहीलगायत जिल्लाको विवादको विषयमा कुनै निर्णय भएको छैन । बरु सिन्धुपाल्चोक जिल्लाको क्रियाशिल विवादको विषयलाई लिएर केन्द्रीय सदस्य एवं क्रियाशिल सदस्य छानविन सदस्य श्यामकुमार घिमिरेमाथि हातपात भएको वहानामा कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम रोकिएको छ । शुक्रबार समितिका सदस्यसमेत रहेका घिमिरेमाथि सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले गालीगलौज र दुव्र्यवहार गरेका थिए ।
छानबिन समितिले सो घटनालाई लिएर त्यसपछि छानबिनका सबै काम राकिरहेको छ । घटनाका दोषीलाई कारबाही नभएसम्म क्रियाशील छानबिनको कामै नगर्ने समितिको अडानपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर समस्या समाधानको प्रयास गरेका थिए । १३औं महाधिवेशन हुनुुभन्दा केही महिनाअघि तत्कालिन सभापति सुुशील कोइरालाले श्याम घिमिरेलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए भने १३औं पछि सभापति बनेका शेरबहादुर देउवाले उनलाई फेरी मनोनित गरेका थिए ।
शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक चलिरहेकै वेला गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण भएको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । त्यस्तो अनैतिक कार्य स्वीकार्य नहुने प्रवक्ता शर्माले बताएका थिए । बालुवाटारमा बसेको बैठकले घिमिरेमाथि भएको हातपातका विषयमा छानबिन गरी दोषीउपर कारबाहीका लागि अनुशासन समितिलाई निर्देशन दिएको छ ।
बैठकले २४ घन्टाभित्र स्पष्टीकरण लिएर पार्टी विधानबमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन दिएको छ । र, शनिबार साँझसम्म पनि छानबिन समितिले काम सुचारु गरेको छैन । घिमिरे पूर्वाग्रह राखेर काम गर्ने नेता हुन् । कतिपयले त नयाँ क्रियाशिल थप गर्दा नाता सम्बन्ध, व्यक्तिगत सम्बन्धका आधारमा दिएको दावी गरेका छन् । उदाहरणका लागि नुवाकोट जिल्लाको क्रियाशिल सदस्य बनाउँदा केन्द्रीय सदस्यसमेत रहेका नेता अर्जुननरसिंह केसीलाई करीब एकलौटी गर्न दिएका छन् । केसीले करीब १५० वटा नयाँ क्रियाशिल सदस्य बनाएका छन् ।
नेपाली काँग्रेसले वडा अधिवेशन साउन १२ गते तोकिएको छ भने केन्द्रीय महाधिवेशन २०७८, भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको छ । वडा अधिवेशन गर्नु पहिले नै क्रियाशील सदस्यको विवरण सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ । यद्यपी केन्द्रीय अधिवेशनको तालिका बाहेक अरु निर्वाचन तालिका साता दश दिन परिवर्तन हुन सक्ने अनुमान गरिएको छ । १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशिल सदस्य रहेका थिए भने १४औं महाविेशनका लागि करीब ८ लाख ५० हजार क्रियाशिल बाढिएको छ ।


