तरुण खबर
३ श्रावण २०७८, आईतवार ११:४९
काठमाडौं । युरापियन मुलुक जर्मनी र बेल्जियममा बाढीबाट १७० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको छ । त्यस क्षेत्रमा बाढीमा हराइरहेका मानिसहरूको खोज कार्यमा उद्धार टोलीहरूले लागिपरेका छन् । ती बाढीका कारण सयौँ व्यक्तिहरू हराइरहेका छन् भने हजारौँ घरबारविहीन भएका छन् । युरोपेली सङ्घका नेताहरूले जलवायु परिवर्तनका कारण उक्त खराब विपद् निम्तिएको बताएका छन् ।
अग्रणी वैज्ञानिकहरूले खराब मौसमी गतिविधिको वास्तविक पूर्वानुमानका लागि आफूहरूलाई अब अझै शक्तिशाली कम्प्युटर आवश्यक पर्ने उल्लेख गरेका थिए । कीर्तिमानी वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता छन् । स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको छ । नेदरल्याण्डका प्रधानमन्त्रीले देशको दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेको बीबीसी न्यूजले उल्लेख गरेको छ । युुरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु परिवर्तनको असर भनेका छन् । औद्योगिक युग सुरु भएयता पृथ्वीको तापक्रम करिब १.२ सेल्सियसले बढीसकेको छ । एक सय जनाभन्दा बढीको ज्यान गएको जर्मनीमा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुअघि राष्ट्रपति फ्राँक–भाल्टर स्टाइनमायरले क्षतिका कारण आफू ’स्तब्ध’ भएको बताएका छन् ।
नर्थ राइन वेस्टफेलिया, राइनलन्ड पालाटिनेट र सारलेन्ड वर्षाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए । राइनलन्ड पालाटिनेटको आरभाइलर जिल्लाका अधिकारीले शुक्रवार १,३०० जना हराइरहेको बताएका थिए । तर उनले प्रत्येक घण्टा उक्त सङ्ख्या घटिरहेको पनि उल्लेख गरेका छन् । आरभाइलरको एउटा गाउँका बासिन्दाले एएफपी समाचार संस्थालाई कारहरू बगेका र युद्धभूमि जस्तै गरी घरहरू क्षतविक्षत भएको उल्लेख गरेंका छन् । शुक्रवार जर्मनीको खराब अवस्थाका कारण उद्धार टोलीहरूको काममा बाधा पुगेको थियो । टेलिफोन सञ्जालहरू बन्द भएका छन् । सडकहरू नराम्ररी भत्किएका छन् र लगभग एक लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ । बेल्जियममा देशका १० मध्ये चार वटा प्रान्तमा खोज तथा उद्धारका लागि सेना परिचालन गरिएको छ ।
त्यहाँका प्रधानमन्त्रीले जुलाई २० अर्थात् मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेका छन् । बेल्जियममा बाढीका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् र यसलाई हालसम्मकै खराब विपद् भनिएको छ । लिएस सहरमा अकस्मात् आएको बाढी नियन्त्रणका लागि फ्रान्स, इट्ली र अस्ट्रियाबाट उद्धारकर्ताहरू खटिएका थिए । नेदरल्याण्डको लिम्बर्ग प्रान्तका विभिन्न सहरमा पानीको सतह बढ्दा डुबान निम्तिएपछि हजारौँ मानिसहरू घरबाट भागेका छन् । त्यहाँ एउटा तटबन्ध पनि भत्किएको छ । मास्ट्रिख्ट र नजिकका कतिपय नगरमा पानीको सतह घट्दा मानिसहरू शुक्रवारबाट घर फर्कन थालेको बताइएको छ । स्वीट्जरल्याण्डमा भीषण वर्षापछि ताल र नदीहरूमा पानीको सतह बढेको छ । राजधानी बर्नमा बग्ने एउटा नदीको तट शुक्रवार भत्किएको थियो । लेक लुसेर्नका कारण नगर डुबानमा परेको छ र बाजलमा बस्ने मानिसहरूलाई नदीबाट परै बस्न भनिएको छ ।


