दिल्लीस्थित नेपाली राजदूतको फोन रेकर्ड गरिएको आशंका

दिल्लीस्थित नेपाली राजदूतको फोन रेकर्ड गरिएको आशंका तरुण खबर ६ श्रावण २०७८, बुधबार ०९:४७
दिल्लीस्थित नेपाली राजदूतको फोन रेकर्ड गरिएको आशंका

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको टेलिफोन रेकर्ड गरिएको आशंका गरिएको छ । नयाँ दिल्लीस्थित नेपालका राजदूत आचार्यले फोनमार्फत आफूलाई जासुसी गरिएको भए त्यो आपत्तिजनक हुने बताएर आशंको पुष्टि गरेको छ । यसबारे भारतीय अधिकारीहरूले चाँडै नै स्पष्ट पार्लान् भन्ने आशा राजदूत आचार्यले व्यक्त गरेका छन् । उनले भने– त्यस्तो नहुनुपर्ने हो । तर त्यस्तो गरिएको हो भने त एकदम आपत्तिजनक हो । व्यापक चर्चाको विषय बनेको छ, त्यसैले आधिकारिक संस्था वा निकायबाट त्यसलाई स्पष्ट पारिएला आशा गरौँ उनले भनेका छन् । उनले भारतीय अधिकारीहरूसँग यसबारे आफूले अहिलेसम्म सोधपूछ नगरेको पनि बताए ।

एनएसओ नामक एउटा इजरेली कम्पनीले विश्वभरि विभिन्न निरङ्कुश सरकारहरूलाई मानवाधिकारवादी कार्यकर्ता, पत्रकार तथा वकिलहरुको जासुसी गर्न ’पेगासस’ नाम गरिएको एउटा “मालवेअर“ बेचेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएको छ । तर उक्त कम्पनीले आफूले गलत काम नगरेको दाबी गर्दै आएको बीबीसीको समाचारमा उल्लेख छ ।

स्रोतहरुका अनुसार इजराइलको कम्पनी जरेली कम्पनीले निर्माण गरेको पेगासस नामक स्पाइवेअरको प्रयोग गरेर भारतमा पत्रकार, अभियानकर्मी तथा राजनीतिज्ञहरूको फोनमार्फत जासुसी गरिएका विवरणका माझ दिल्लीस्थित नेपालसहित कतिपय देशका कूटनीतिज्ञ एवं राजदूतहरूको फोन समेत जासुसी गरिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

इजरेलको एउटा कम्पनीले सरकारहरूलाई बेचेको जासुसी एप विश्वभरि अधिकारकर्मी, पत्रकार र वकिललाई लक्षित गरिएको समाचारहरू आइरहेका छन् । एनएसओका ग्राहकहरूको स्वार्थ रहेको ठानिएका ५० हजारभन्दा बढी व्यक्तिहरूको फोन नम्बरमा उक्त स्पाइवेअर रहेको विवरण प्रमुख सञ्चार माध्यमहरू समक्ष चुहाइएको थियो । त्यो विवरण कहाँबाट आयो वा कसको फोन वास्तवमा ह्याक गरिएको छ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।

एनएसओले भने आफूले गलत कार्य नगरेको जनाएको छ । स्पाइवेअरमार्फत गोप्य तरीकाबाट फोन, कम्प्युटर वा अन्य उपकरणबाट त्यसमा भएका जानकारी एकत्रित गर्न सकिन्छ । उपयोगकर्ताको अनुमतिविनै त्यस्तो जानकारीलाई अन्य उपकरणमा सार्न पनि सकिने बताइएको छ । भारतमा थुप्रै पत्रकार, एवं अभियानकर्मीहरू यसको सिकार भएको भन्दै विरोध हुँदै आएको छ ।