तरुण खबर
११ श्रावण २०७८, सोमबार ११:२७
काठमाडौं । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका “गलत दिशामा हिँडिरहेको“ बताएका छन् । उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएको क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताएका छन् । केही समयअघि अमेरिकाको कोभिड–१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका थिए । मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले केही महीनाअघि एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने आफूले आशा गरेको बताएका थिए । डा. सलोई द्रूत गतिमा कोभिड–१९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख हुन् ।
विज्ञ डा. फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन् । उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएको अमेरिकी सञ्चारमाध्यममा उल्लेख छ । खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस “एउटा महामारी बनेको“ उनको भनाइ छ । आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ । त्यहाँ गत एप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ । त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो । विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ । यसैबेला अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ । त्यहाँ मे र जुन महिनामा सङ्क्रमण निकै कम भएको थियो । बढी सङ्क्रामक डेल्टा भाइरसका कारण पनि सङ्क्रमण दर वृद्धि भएको ठानिएको छ ।


