फेरि पनि नेपालमा देखियो डेल्टा भेरिअन्ट

फेरि पनि नेपालमा देखियो डेल्टा भेरिअन्ट तरुण खबर १४ श्रावण २०७८, बिहीबार ०९:४४
फेरि पनि नेपालमा देखियो डेल्टा भेरिअन्ट

काठमाडौं । २ करोड ९६ लाख ९६ हजार ८७९ जनसंख्या रहेको नेपालमा ३५ लाख ७४ हजार ८६४ जनाको नमुना परीक्षण गर्दा ६ लाख ८८ हजार ३०७ जना कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये २९ हजार ४४४ जना सक्रिय संक्रमित छन् भने ९ हजार ७९१ जनाको संक्रमणबाट ज्यान गैसकेको छ । अहिले फेरि कोरोनाभाइरसको नयाँ उत्परिवर्तन पुष्टि भएसँगै सम्भावित जोखिमबारे मानिसहरूले चिन्ता एवं चासो व्यक्त गरेका छन् ।

नयाँ दिल्लीस्थित एउटा प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा कोरोनाभाइरसका तीनवटा नमुनामा उत्परिवर्तन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेठको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट संकलित नमुनामध्ये ४७ वटा असार ३० गते भारत पठाइएको थियो । ती नमुनाको जीन सीक्वन्सिङ गर्दा सबैमा डेल्टा भेरिअन्ट पुष्टि भएको थियो ।

तीमध्ये तीन वटामा थप उत्परिवर्तन के४१७एन भेटिएको मन्त्रालयले अस्ती मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ उत्परिवर्तनलाई ए.वाई १ नाम दिइएको छ । योसहित नेपालमा हालसम्म भेरिअन्ट अफ कन्सर्नका रूपमा वर्गीकरण गरिएका अल्फा र डेल्टा भेरिअन्ट तथा भेरिअन्ट अफ इन्टरेस्टका रूपमा रहेको कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ बीबीसी न्यूजमा उल्लेख छ ।

अमेरिकाको मिनिसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेओ क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्काका अनुसार नयाँ जीन सीक्वन्सिङको नतिजा हेर्दा झन्डै ६ प्रतिशतमा के४१७एन उत्परिवर्तन देखिन्छ । बुझ्नुपर्ने कुरा के छ भने कहिलेकाहीँ एउटा म्यूटेशन थपियो भने त्यसले भाइरसलाई कमजोर बनाइदिने हुन्छ भने कहिलेकाहीँ एउटा म्यूटेशनले पनि संक्रमणको जोखिम बढाइदिने हुन्छ बीबीसी न्यूजले उल्लेख गरेको छ । यदि यो नयाँ उत्परिवर्तनका कारण संक्रमण तीव्र रूपमा बढ्ने रहेछ भने नयाँ म्यूटेशन भएको भाइरस देखिँदै जाने र पुरानो हराउँदै जाने सीक्वन्सिङबाट देखिनेछ । त्यो भएर पटकपटक सीक्वन्सिङ गर्दै मिहिन किसिमले हेर्नुपर्ने हुन्छ ।

वरिष्ठ भारतीय भाइरसविद् डा. शाहिद जमीलले के ४१७ एन नाम दिइएको उत्परिवर्तनले एन्टिबडीहरू अर्थात् रोगप्रतिरोधी क्षमताको प्रभावकारिता कम गर्ने ठानिएको गत महिना समाचारसंस्था रोएटर्सलाई बताएको उल्लेख छ । नेपालमा पुष्टि भएका भेरिअन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ उत्परिवर्तनले भाइरसको प्रकृतिमा फरक पार्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । यसको मतलब के हो भने नयाँ उत्परिवर्तनले सङ्क्रमणको दर बढाउँने बताइन्छ ।