तरुण खबर
१४ श्रावण २०७८, बिहीबार ०९:५६
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २०७६ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम ‘मेरो गोकर्णेश्वर’ लागू गरेको छ । गोकर्णेश्वर नगरपालिकाले आधारभूततह (कक्षा १ देखि ८ सम्म) को स्थानीय पाठ्यक्रम २०७६ सालको नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको हो । कृष्णप्रसाद नेपालको संयोजकत्वमा निर्माण गरिएको पाठ्यक्रममा नगरको भौगोलिक, सांस्कृतिक, भाषिक, जातीय विविधताका साथै विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्विक विषयवस्तु समेटिएको छ । यो पाठ्यक्रम गोकर्णेश्वर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अनिवार्य रुपमा लागु गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाले प्रकाशित गरेको पाठ्यपुस्तकमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रममा स्थानीय सम्पदा, धर्म, संस्कृति, भाषा, सभ्यता, कला, चाडपर्व र स्थानीय पहिचानका विषयहरु राखिएकोे छ । कुनै पनि पाठ्यक्रम शिक्षण प्रक्रियाको मूलआधार हो र यसकै आधारमा शैक्षिक क्रियाकलाप सञ्चालन हुने भएकाले स्थानीय पाठ्यक्रम पनि स्तरीय, समसामयिक र परिवेश अनुकूल निर्माण गरिनु पर्छ । वर्तमान लोकतान्त्रिक परिवेशमा यसै मान्यतानुसार कक्षा १ देखि ८ सम्मको आधारभूत शिक्षा पाठ्यक्रममा रहेको स्थानीय अंशलाई व्यवहारोपयोगी बनाउन यो पाठ्यक्रम विकास गरिएको हो ।
यो पाठ्यक्रम लागु गर्दा सरोकार वालाहरूबाट प्राप्त पृष्ठपोषणलाई समायोजन गरी यसलाई अझ बढी व्यापक र प्रभावकारी बनाउदै लगिने नगरपालिकाको योजना रहेको छ । यस पाठ्यक्रममा बालबालिकाले जान्नु पर्ने र सिक्नु पर्ने विषयहरूका सन्दर्भमा विभिन्न व्यक्तिका सुझावहरू, नगर स्तरीय गोष्ठी तथा शिक्षा समिति तथा पाठ्यक्रम विशेषज्ञ आदिबाट प्राप्त पृष्ठपोषण समेतका आधारमा विषयगत क्रमबद्धता समेतलाई विशेष ध्यान पु¥याइएको छ ।
पाठ्यक्रम निर्माण गर्न गठित शिक्षक, विशेषज्ञहरूको कार्यदल, शिक्षकको कार्यशाला तथा शिक्ष समितिका अतिरिक्त नगर कार्यपालिकाका सदस्यहरूको सुझावसमेतलाई समावेश गरिएको छ । पाठ्यक्रममा नगरपालिकाको सबै पक्षलाई चिनाउने विषयवस्तु छन् । विद्यालयका लागि छापिएका २४ हजार थान पुस्तकमा स्वास्थ्य, योग, वातावरण, उत्प्रेरणामूलक पाठ पनि समावेश छन् । वैदिक सनातन धर्म, बुद्ध जयन्ती, रक्षा बन्धन जस्ता धार्मिक, सांस्कृतिक विषय पनि पाठ्यक्रममा समेटिएका छन् । साथै, गोकर्णेश्वर नगरपालिका व्यवस्थापनको संरचनाबारे पनि पुस्तकमा सामाग्री समावेश गरिएको छ । शिक्षाविद्, प्राध्यापक, स्थानीय शिक्षक, संस्कृतिविद्, स्थानीय बुद्धिजीवीको सहभागितामा निर्माण गरिएको पाठ्यक्रम कक्षा १ देखि ८ सम्म एकैपल्ट लागू गरिएको हो । र, गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाभित्रका मठ–मन्दिर समेटेर धार्मिक पुस्तक पनि प्रकाशित गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाले पाठ्यक्रम प्रकाशनका लागि नगरप्रमुख सन्तोष चालिसेको संयोजकत्वमा सल्लाहकार समिति, लेखन तथा सम्पादन समिति, विषय तथा भाषा सम्पादन समिति र प्रकाशन तथा व्यवस्थापन समिति गठन गरेको थियो । सल्लाहकार समितिमा संयोजक एवं गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, माननीय प्रतिनिधि सभा सदस्य क्षेत्र नं ३, का कृष्ण राई, नगरपालिका उपप्रमुख शान्ति नेपाल, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, विजयप्रसाद आचार्य, दिपक रिसाल र टेकेन्द्रप्रसाद ढकाल सदस्य रहेका छन् । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (परिमार्जित २०६५), आधारभूत तह (कक्षा ६–८) पाठ्यक्रम २०६९ तथा स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०६४ स्थानीय पाठ्यक्रम प्रारूप २०७१ मा रहेको प्रावधानअुरूप यो पाठ्यक्रमनिर्माण गरिएको हो । यस पाठयक्रमले मुलभूत रूपमा गोकर्णेश्वर नगरपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरेको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गरी आधारभूततहमा अध्ययनरत बालबालिकाहरूलाई आफूनो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान सीप प्रदान गर्ने यसको मुख्य अभिप्राय रहेको छ । पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक,.सामाजिक, ऐतिहासिक, सास्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ र यहाँको प्राकृतिक साँस्कृतिक तथा सम्पदाको संरक्षण र संवद्र्धनलाई महत्व दिएको छ ।
साधारण अर्थमा स्थानीयस्तरका विषयवस्तुहरू समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । यसले स्थानीय क्षेत्रका प्राथमिकतापूर्ण विषय वस्तुहरूलाईसमेटी तिनीहरूलाई विद्यालयको नियमित कार्यक्रम अनुरूप कक्षा–कोठामा पु¥याउँछ । यसमा विशेष गरी स्थानीय स्तरका प्राकृतिक, साँस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषय वस्तुका साथै पेसा, व्यवसाय र विपद् व्यवस्थापन आदि विषयहरू समावेश गर्न सकिन्छ । जसलाई स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका, २०६४ ले निर्दिष्टगरेको छ ।
विश्वमा सूचना तथा सञ्चार क्षेत्रमा देखा परेका विकास, विश्वव्यापीकरण तथा स्थानीयकरणलाई विद्यालय तहको शिक्षामा समाहित गरी सामाजिक मूल्य मान्यता, ज्ञान–विज्ञानका विविधपक्षहरू एवम् विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी यो पाठ्यक्रम तयार पारिएको छ । यस पाठ्यक्रममा आधारभूत तहको ढाचा, विषयको परिचय, शिक्षण विधि र मूल्याङ्कन प्रक्रिया समावेश गरिएको छ । बालबालिकाहरूमा देखा पर्ने गुणात्मक परिवर्तनको मूल्य निर्धारणका लागि आधारभूत तहमा कक्षा १ देखि ८ सम्म शिक्षण सिकाइमा आधारित प्रयोगात्मक मूल्यांकन प्रणालीलाई विशेष महत्व दिइएको छ । यसै गरी बालबालिकाहरूमा देखा पर्ने परिमाणात्मक परिवर्तनहरूको लेखाजोखा गर्न उपलब्धि परीक्षाहरू पनि कक्षागत रुपमा सञ्चालन गर्नु पर्ने व्यवस्था गरिएको छ । आवश्यकता अनुसार विद्यालयहरूले मूल्याङ्कनका विविध साधनहरू प्रयोग गर्न सक्ने छन् । हाम्रो देशमा परिमार्जित प्राथमिक शिक्षा पाठयक्रम २०६२ (कक्षा १–३), २०६५ (कक्षा ४–५) का अनुसार कक्षा १–५ मासामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको ८०% पाठ्यक्रम केन्द्रले र २० % पाठयक्रम स्थानीय तहबाट निर्माण गर्ने प्रावधान छ र सोहीअनुरुप धेरैजसो विद्यालयमा कार्यान्वयन हुँदै आएको छ ।
त्यसैगरी साप्ताहिक ४ पाठ्यभारको स्थानीय विषय मातृ भाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने दायित्व स्थानीय तह (विद्यालय, स्रोतकेन्द्र र जिल्ला) लाई दिइएको छ । यसरी हाम्रो देशको स्थानीय तहबाट निर्माण भई कार्यान्वयन हुने उल्लेखित तिन विषयको २०% अंशको पाठयक्रम साप्ताहिक चार पाठ्यभार (वार्षिक १२८ घण्टी) रहेको १०० पूर्णांकको स्थानीय विषय वा मातृ भाषाको पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भन्ने गरिएको छ । आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम २०६९ का अनुसार कक्षा ६–८ मा समेतजम्मा ८०० पूर्णांकमध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठ्यभार र १०० पूर्णाङ्क कायम गरी १७५ बार्षिक घण्टी दिइएको छ । यसआधारमा पनि कक्षा (६–८) को पनि स्थानीय आवश्यकता अनुसार स्थानीय पाठ्यक्रम बनाउने प्रावधान रहेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा तयार भई २०६३ सालदेखि देशभरका विद्यालयहरूमा कार्यान्वयन हुदै आएको प्राथमिक तहको पाठ्यक्रममा व्यवस्था भए अनुरुप कक्षा १ देखि ५ सम्मको कुल ६०० पूर्णांकमध्ये १०० पूर्णांक एवम् १२८ घण्टी वार्षिक पाठ्यभार रहेको स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी अध्यापन गर्नु पर्दछ । आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम २०६९ मा समेत जम्मा ८०० पूर्णाङ्कमध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठयभार् र १०० पूर्णा इकाई कायम गरी १७५ घण्टी वार्षिक पाठ्यभारको पाठ्यक्रम निर्माण गरी अध्यापन गर्न सकिन्छ । यसै आधारमा स्थानीय विद्यालय वा स्रोत केन्द्रद्वारा सो सम्बन्धी पाठयक्रम् निर्माण गर्नु पर्ने साथै स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका २०६४ र वर्तमान स्थानीय पाठ्यक्रम प्रारुप २०७१ ले समेत यसलाई थप अनिवार्य गरेको छ ।


