तरुण खबर
१५ श्रावण २०७८, शुक्रबार १०:१०
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने इन्स्यारेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन (२०७८, साउन १४ गते) मा नै ५ लाख बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स आईपीओ साउन २० गतेबाट
सानिमा लाइफ इन्स्योरेन्सले जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो । ६० लाख कित्तामध्ये ३ लाख कित्ता अथार्त कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुने जारी विज्ञप्तिमा छ ।
सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ । यता, अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयर विषयमा ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । बोर्ड अध्यक्ष ढुङ्गानाले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता भन्दा बढी सेयर आफ्नो छोरीको नाममा किनेको समाचार बाहिरिएको थियो ।
यो विषयमा प्रमाण सहित समाचार छापिएपछि अर्थमन्त्रालयले छानबिन गर्नुपर्ने आवाज उठेको थियो । मन्त्रालयले बिहिबार यो विषयमा सत्य तथ्य विवरण ३ दिन भित्र मन्त्रालयमा पठाउन धितोपत्र बोर्डका नाममा निर्देशन जारी गरेको हो ।


