त्रय नेताको भेटले काँग्रेसभित्रको राजनीतिमा तरंग

त्रय नेताको भेटले काँग्रेसभित्रको राजनीतिमा तरंग तरुण खबर १७ श्रावण २०७८, आईतवार १०:०३
त्रय नेताको भेटले काँग्रेसभित्रको राजनीतिमा तरंग

काठमाडौं । नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा तीन नेता भेटले तरंग पैदा गरेको छ । शनिबार नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका छन् । उनीहरुबीच के कुराकानी भयो भन्ने विषयभन्दा पनि भेटघाट र छलफल हुनु नै अर्थपूर्ण मानिएको छ । यसअघि महोत्तरीका कार्यक्रममा उपसभापति निधिले तीन कार्यकालसम्मका लागि सहमति भैसकेको बताएका थिए । निधिले भनेका थिए– हामी तीनमध्ये एक जना मात्र सभापतिमा उठ्छौं । यद्यपी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नै सबैभन्दा बलिया सभापतिका उम्मेदवार हुन् ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघिको भेटका क्रममा उनीहरुले आफूहरु तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

बीपी कोइराला, गणेशमान सिंह नेपाली काँग्रेसका संस्थापक नेता हुन् भने महेन्द्रनारायण निधि अहिंसावादी राजनीतिक दर्शन बोकेका मूर्धन्य नेता हुन् । साध्य मात्रै असल भएर नहुने र साध्यप्राप्तिका लागि प्रयोग हुने साधन पनि असल हुनुपर्छ भन्ने उत्कृष्ट मान्यता राख्ने महेन्द्रनारायण निधि निष्ठावान एवं सैद्धान्तिक नेता हुनुहुन्थ्यो ।