तरुण खबर
१८ श्रावण २०७८, सोमबार ०९:१३
फेरि हेलम्बु र मेलाम्चीमा बाडीले वितण्डा मच्चायो
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्ब गाउँपालिका केही समयका लागि दुर्गम पहाडी इलाका बनेको छ । कुनै समय राजधानी काठमाडौंबाट सार्वजनिक बसमा तीन घण्टामा पुगिने हेलम्बुको किउल पुग्न मेलाम्ची बजारबाट पाँच–छ घण्टामा पुगिन्छ । त्यस्तै, काठमाडौंबाट हेलम्बुको किउल पुग्न करीब ९ घण्टा लाग्ने स्थानिय सुजित भण्डारीले बताएका छन् । मेलाम्ची बजारबाटै पैदल यात्रा गर्नु पर्ने भएकाले यो अबस्था आएको हो ।
चनौटे बजारमा रहेको पक्की पुल बाडीले बगाएकाले हेलम्बुको सडक यातायात बन्द भएको हो । तिम्बु, हल्दे, किउल, च्यूरीखर्क, गणेश बगर, चनौटे, ग्यालथुम पाल्चोक बेशी लगायत बस्ती सार्नु पर्नु अबस्था आएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शर्पाले जानकारी दिएका छन् । भुवनेश्वरीमा रहेको एक मात्र झोलुंगे पुल जोगिएको छ । ११ वटा झोलुंगे पुलमध्ये एक मात्र झोलुंगे पुल जोगिएको हो । सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका छन् भने तीन नगरपालिका रहेका छन् । त्यसमध्ये एक हो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारबाट करीब ४८ किलोमिटर उत्तर–पश्चिम कुनामा हेलम्बु गाउँपालिका पर्दछ । पर्यटनका हिसावले हेलम्बु प्रसिद्ध छ । उदाहरणका लागि तार्केघ्याङ्ग, मेलाम्चीघ्याङ, शेर्मा थाङ, ककनी देश–विदेश प्रसिद्ध छन् । हेलम्बुमा २०२८ सालमै दुई तारे स्तरको स्तरिए होटलहरु खुलिसकेका थिए । मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । हेलम्बु–१ का बासिन्दाहरुले भनेका छन्, यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने ?’ उनीहरुजस्तै ९० परिवारको घर असार १ को पहिराले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् ।
असार १ गते आएको बाढीले जनधनको ठूलो क्षति पु-याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई शनिबार रातिदेखिको बाढीले थप तहस नहस पारेको छ । बाढीका कारण हिजो आइतबार दिउँसोसम्म १७ वटा घर ढलेर बगेका छन् भने दुई वटा पुल पनि बगाएको छ । चनौटेमा रहेको रातोपुल र एउटा झोलुंगे पुल आइतबार बिहान बाढीले बगाएको हो । रातोपुल बगाएसँगै हेलम्बु क्षेत्रमा यातायातका हिसाबले सम्बन्ध विच्छेद भएको छ । उक्त पुलका कारण सातवटा वडामा आवतजावत रोकिएको छ । यस्तै हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । मेलम्ची नदी उर्लिरहेका कारण थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरिरहेको छ ।


