तरुण खबर
१८ श्रावण २०७८, सोमबार ०९:२६
एक महिनापछि विदेशी फौजले आफगानिस्तान छाड्दै
काठमाडौं । ३ करोड ९८ लाख ७३ हजार ८८६ जनसंख्या भएको अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्काएका छन् । सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन् । बीबीसीका अनुसार सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका हुन् । तर यी तीन शहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ । तालिबालले पाकिस्तान र इरानका महत्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको छ ।
लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ । तालिबानले त्यहाँ गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो । अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पु¥याएको दाबी गरेका थिए । बीबीसीका अनुसार तालिबानले शहरमा आक्रमण केन्द्रित गरेको र थुप्रै अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको हेल्मन्ड प्रान्तको राजधानी लश्कर गहको अवस्था तरल रहेको बताएका छन् । उनले तालिबानहरूले शहरको प्रमुख स्थानहरूमा आफ्ना लडाकुको तस्बिर सामाजिक सञ्जालमा हालेको बताउँदै एक स्थानीयले सरकारी सेनाले पछाडि धकेले पनि यो घटनाले तालिबानको बढेको सामर्थ्य देखाएको बताएको बताएका छन् ।
लडाकुहरू आम नागरिकका केही घरलाई कब्जा गरेका कारण उनीहरूलाई लखेट्न गाह्रो हुने र अझ हिंसात्मक द्वन्द्वको सम्भावना रहने केरमानीले बताए । कान्दहारका एक सांसदका अनुसार उक्त शहरमा तालिबानले कब्जा गर्ने जोखिम रहेको बताउँदै हजारौँ मानिसहरू घर छोडेर हिँडका छन् । गुल अहमद कामिनले अवस्था प्रत्येक घण्टा खराब बन्दै गइरहेको बताउँदै सहरभित्रको द्वन्द्व गएको २० वर्षमा सबैभन्दा खराब भएको बताए । उनले तालिबानले कान्दहरलाई अस्थायी राजधानी बनाउन चाहेको बताउँदै त्यो सहर तालिबानको कब्जामा गए अन्य पाँच वा छ प्रान्त पनि उनीहरूले नियन्त्रणमा लिने बताए । शहरका थुप्रै प्रवेश बिन्दुमा तालिबान रहेको जानकारी दिदै उनीहरू शहरभित्र प्रवेश गर्न सक्षम भएको अवस्थामा नागरिकको ज्यान जोखिममा पार्ने गरी सरकारी सेनाले ठूला हतियार प्रयोग गर्न नसक्ने बताए । आर्थिक हिसाबले महत्वपूर्ण हेरातमा दक्षिणी भागमा तालिबान प्रवेश गरेपछि द्वन्द्व चर्किएको टोलो न्यूजले जनाएको छ । त्यहाँ कम्तीमा पाँच स्थानमा गोली हानाहान भइरहेको बताइएको छ ।
अमेरिकी सेनाले अफगान सेनालाई सहयोग पु¥याउन हवाई आक्रमण गरेको र सरकारी सेनाले विमानस्थल नजिकैको जिल्लालाई पुनः नियन्त्रणमा लिएको बताइएको छ । शुक्रवार हेरातको विमानस्थल नजिकै संयुक्त राष्ट्रसङ्घको परिधिबाहिर एक सुरक्षाकर्मी मारिएका थिए। सो घटनालाई राष्ट्रसङ्घले तालिबानले जानीजानी गरेको आक्रमण बताएको छ । अफगानिस्तानका लागि युरोपेली युनियनका विशेष दूत टोमस निकलासनले युद्ध खराब भएको आफूलाई लागेको बताएका छन् ।
उनले तालिबानहरू विगतमा जस्तै इस्लामिक राज्य खडा गर्नेबारे सोचिरहेको भन्ने डर लागेको बताएका छन् । ब्रिटिस सशस्त्र बलका पूर्वप्रमुख जेनरल डेभिड रिचार्ड्सले अन्तर्राष्ट्रिय सैनिक फिर्ता भएपछि अफगान सेनाको मनोबल गिर्ने र तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिने खतरा रहेको बताए । अमेरिकी नेतृत्वमा तालिबानलाई सन् २००१ को नोभेम्बरमा सत्ताच्यूत गरिएको थियो। तालिबानले सेप्टेम्बर ११ मा अमेरिकामाथि आक्रमण गरेको अल कायदाका ओसामा बिन लादेन र अन्य प्रमुख नेताहरूलाई शरण दिएको कारण आक्रमण गरिएको थियो ।
’म यो पीडासँग बाँच्न सक्दिन। म पनि मरेको भए हुन्थ्यो ।’ तर अन्तर्राष्ट्रिय सेनाको लगातार उपस्थिति, अफगान सेनाको सहयोग र तालिममा खर्च गरिएको करोडौँ डलरका बाबजुद तालिबान पुनः शक्तिशाली भएर निस्केको छ । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य सहयोगी देशहरू तालिबानसँग सहमति गरेर सेना हटाउन राजी भए । त्यही वर्ष राष्ट्रपति जो बाइडनले सन् २०२१ को सेप्टेम्बरमा अफगानिस्तानबाट सेना हटाउने घोषणा गरे ।


