क्रियाशील सदस्य विवाद: पाँच दिने म्याद आज गुज्रदै

क्रियाशील सदस्य विवाद: पाँच दिने म्याद आज गुज्रदै तरुण खबर १९ श्रावण २०७८, मंगलवार ०९:०९
क्रियाशील सदस्य विवाद: पाँच दिने म्याद आज गुज्रदै

एकै दिन वडा र पालिकाहरुको अधिवेशन गरेर पनि निर्धारित मितिमै अधिवेसन

काठमाडौं । नेपाली काँग्रेसका क्रियाशील सदस्य छानवीन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमाथि शिर्ष नेताहरुले विवाद टुंग्याउन प्रयत्न गरिरहेका छन् तर सकिरहेका छैनन् । सभापति देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिइएको छ । तीन नेतालाई सहयोग गर्न डा. प्रकाश शरण महत, डा.मिनेन्द्र रिजाल र रमेश लेखकलाई राखिएको छ ।

विवाद मिलाउँन दिएको पाँच दिनको समय आज मंगलबार सकिदैछ । तर एकथरी व्यक्तिहरुले क्रियाशील छानवीन समितिका सदस्यहरुकै बारेमा छानवीन गर्नु पर्ने विषय उठान गरेको बुझिएको छ । क्रियाशील सदस्यहरुको प्रतिवेदनबारे दुई वटा मात्र शिर्ष नेताहरुको बैठक बसेको छ, त्यो बैठकले कुनै समाधान दिन सकिरहेको छैन । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले साउन १२ गते आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाएका थिए ।

१४औं महाधिवेशनका लागि साउन १२ गतेदेखि वडा अधिवेशन गर्ने भनिएकोमा अनिश्चिकालका स्थगित गरिएको छ । यद्यपी वडा र पालिकाहरुको अधिवेशन एकै दिन गरेर पनि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने दावी गर्न संस्थापन पक्षले छाडेको छैन ।

त्यस्तै, नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सबै क्रियाशील सदस्यले पार्टीको क्षेत्र वा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न पाउने भएका छन् । काँग्रेसमा नयाँ थप र समायोजन गरेर ८ लाख ५२ हजारभन्दा बढी क्रियाशील सदस्य पुगेका छन् । काँग्रेसले पार्टीको विधान संशोधन गर्दै सबै क्रियाशील सदस्यले सदस्यता पाएकै वर्षबाट क्षेत्रीय प्रतिनिधि वा तल्लो तहमा सभापतिसहितका पदमा उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ । क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकाले प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत उम्मेदवारी दिन पाउनेछन् ।

यसअघि, केन्द्रीय समितिको बैठकले कांग्रेसको विधानको धारा ४७ र ५० (५) ले दिएको अधिकार प्रयोग गरी निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने सम्बन्धी व्यवस्था निलम्बन गरेको थियो । बैठकले पार्टीको विधानका विभिन्न ११ वटा व्यवस्था निलम्बन गरेको हो । विधानको धारा ६ (२) (क), धारा ७ (२) (क) (१), धारा ७ (२) (ख) (१), धारा ७ (२) (ग) (१), धारा ८ (२) (क) (१), धारा ९ (२) (क) (१) (उपमहानगरपालिका र महानगरपालिकाको सभापतिबाहेक), धारा १० (३) (क), धारा १० (४) (क) (१), धारा ११ (२) (क), धारा १२ (५) (क) (४), धारा १५ (१) (क) र धारा १५ (१) (ख) निलम्बन गरेको थियो ।

ती धारामा पार्टीका विभिन्न कार्यसमितिका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको ‘अवधिसम्बन्धी व्यवस्था’ रहेको थियो । ‘क्रियाशील सदस्य भएको निश्चित अवधिपछि मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था थियो, अब त्यो व्यवस्था हटाइएको छ, अब सबै क्रियाशील सदस्य सीधै क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न सक्छन्,’ केन्द्रीय सदस्यहरुले त्यतीबेलै बताएका थिए ।

काँग्रेसको १४औं महाधिवेशनका लागि ८ लाख ५२ हजार ७१२ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ । जसमा नयाँ चार लाख ४३ हजार ६७८ र नवीकरण गरिएका ४ लाख ९ हजार ३३ जना छन् । कांग्रेसको आगामी महाधिवेशनका लागि १७६ जना तेस्रो लिंगीले पनि सदस्यता पाएका छन् । क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र एक लाख ९९ हजार ९७ जना महिला छन् । उमेर समूह अनुसार, सबैभन्दा बढी ४१ देखि ६० वर्षका छन् । प्रतिवेदनका अनुसार यो उमेर समूहका ३७.३० प्रतिशत अर्थात् तीन लाख २८ हजार २३४ जनाले क्रियाशील सदस्यता पाएका छन् । यस्तै, १६ देखि २५ वर्षसम्मका ४.५९ प्रतिशत अर्थात् ४० हजार ४२७ जना र २६ देखि ४० वर्षसम्मका २८.३७ प्रतिशत अर्थात् दुई लाख ४९ हजार ७७४ जना सदस्य बनेका छन् ।

स्रोतका अनुसार प्रदेश अनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा एक लाख ८६ हजार १४३ जना सदस्य बनेका छन्, जसमध्ये नयाँ ९६ हजार ३२८ र नवीकरण गरेका ८९ हजार ८१५ जना छन् । त्यस्तै, प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६ र गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ जना सदस्य बनेका छन् । लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिममा ७४ हजार ७५६ जना क्रियाशील सदस्य बनेका छन् । सबै प्रदेशमा नयाँ सदस्य नै बढी थपिएका छन् । प्रदेश १ मा ८९ हजार २९० नयाँ र ८५ हजार ४९२ नवीकरण, प्रदेश २ मा ५९ हजार ४६५ नयाँ र ५३ हजार ४८१ नवीकरण तथा गण्डकीमा ६१ हजार ५२४ नयाँ र ५७ हजार १०९ नवीकरण गरिएका छन् ।

यस्तै, लुम्बिनीमा ६७ हजार ११६ नयाँ र ६३ हजार ७६९ नवीकरण, कर्णालीमा ३० हजार ९१७ नयाँ र २३ हजार ५४९ नवीकरण तथा सुदूरपश्चिममा ३९ हजार ३८ नयाँ र ३५ हजार ७१८ नवीकरण गरिएका छन् ।

सर्लाहीमा अन्य पार्टीबाट आएकालाई सदस्ता नै नदिइने ?

यता, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको संयोजनामा बनेको समायोजन समितिले सर्लाहीका अन्य पार्टीबाट भित्रिएकालाई सदस्य दिने प्रतिबद्धता जनाए पनि दिन सकिरहेको छैन । रामचन्द्र पौडेल समूहले असहमति जनाएकाले यो विवाद मिल्न सकिरहेको छैन । नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवा, उपसभापति निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरुमा अर्जुन नरसिंह केसी, गगन थापालगायतका नेताहरुले सर्लाहीका विभिन्न सभाहरुमा पुगेर क्रियाशील सदस्यता दिने प्रतिबद्धता जनाएको थिए । तर पौडेल समूहका केन्द्रीय सदस्य दीपक गिरी र दिलेन्द्रप्रसाद बडुले एक जनालाई पनि सदस्ता दिन नहुँने अडान लिएपछि प्रतिबद्धताले काम गर्न सकिरहेको छैन । समायोज समितिको हिजो सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।