सार्क राष्ट्रका देशहरुको कोरोना संक्रमणको चिरफार

सार्क राष्ट्रका देशहरुको कोरोना संक्रमणको चिरफार तरुण खबर २० श्रावण २०७८, बुधबार ०९:०९
सार्क राष्ट्रका देशहरुको कोरोना संक्रमणको चिरफार

काठमाडौं उपत्याकाभित्र सभा–सम्मेलनमाथि प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले भीडभाडजन्य नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, -याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमित मानिसको कुल संख्या ७ लाख र मृत्यु हुनेको सङ्ख्या करीब १० हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार अपवादबाहेक अझै संक्रमण पुष्टि दर २० प्रतिशतभन्दा घट्न सकेको छैन । मंगलबारकै तथ्याङ्क हेर्दा २४ घण्टाभित्र परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पाइएको छ । ती संक्रामक मानिएको डेल्टा भेरिअन्टको उत्परिवर्तन हालै नेपालमा पनि पुष्टि भएपछि कोभिड महामारीबारे थप चिन्ता र चासो व्यक्त भइरहेका छन् ।

यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न काठमडौंका प्रजिअ पराजुलीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

१ अर्ब ३९ करोड ४७ लाख १६ हजार ५४६ जनसंख्या भएको भारतमा २०७८, साउन २० गते बुधबार बिहान ७.०० बजेसम्ममा कुल ३ करोड १७ लाख ६७ हजार ९६५ कोरोनाभाइरस संक्रमित भएका छन् भने कुल संक्रमितमध्ये ४ लाख २५ हजार ७८९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । भारतमा कुल संक्रमितमध्ये ३ करोड ९ लाख २५ हजार ३४८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १६ हजार ८२८ जना मात्र छन् ।

भारतपछि बंगलादेशमा हालसम्म कुल १२ लाख ८० हजार ३१७ जनामा संक्रमण पुष्टि भएको छ भने कुल संक्रमितमध्ये २१ हजार १६२ जनाले ज्यान गुमाएका छन् । २२ करोड ५५ लाख ३३ हजार ३७६ जनसंख्या भएको पाकिस्तानमा कोरोना भाइरसका कुल संक्रमित संख्या १० लाख ४३ हजार २७७ पुगेको छ भने कुल संक्रमितमध्ये २३ हजार ५२९ को मृत्यु भएको छ । २ करोड ९७ लाख ४ हजार ४८ जनसंख्या भएको नेपालमा २०७८, साउन २० गते बुधबार बिहान ७.०० बजेसम्म कुल संक्रमितको संख्या ७ लाख २ हजार ९७ पुगेको छ । संक्रमितमध्ये संक्रमणबाट निधन हुनेको संख्या ९ हजार ९२२ जना छन् । नेपालमा पछिल्ला केही सातायता १९ देखि २३ प्रतिशतको बीचमा संक्रमण दर पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार २ करोड १५ लाख १० हजार ७१२ जनसंख्या भएको श्रीलङ्कामा हालसम्म ३ लाख १३ हजार ७६९ जना कुल सङ्क्रमित छन् भने ४ हजार ५७१ जनाको मृत्यु भएको छ । ३ करोड ९८ लाख ७६ हजार २८८ जनसंख्या भएको अफगानिस्तानमा १ लाख ४८ हजार ५७२ जना कुल संक्रमित भएका छन् भने ६ हजार ८०४ जनाको मृत्यु भएको छ ।

५ लाख ५० हजार ८५० जनसंख्या भएको माल्दिभ्समा ७७ हजार ६३३ जना कुल संक्रमित छन् भने २२१ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली मुलुकमध्ये भुटानमा सबैभन्दा कम संक्रमण र मृत्यु भएको तथ्यांक छ । ७ लाख ८० हजार ८१९ जनसंख्या भएको भुटानमा हालसम्म २ हजार ५२४ जना मात्र कोरोना भाइरसका संक्रमित छन् भने कोरोना भाइरसका संक्रमितमध्ये दुई जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

दक्षिण एशियाली मुलुकमध्ये १६ करोड ६४ लाख ६८ हजार ५०३ जनसंख्या भएको बंगलादेशमा कोरोना भाइरसको संक्रमण लहर सबैभन्दा उच्च देखिएको छ । अहिले तेस्रो लहर खेपिरहेको बंगलादेशमा संक्रमण पुष्टि दर ३० प्रतिशत रहेको छ । बंगलादेशमा कोरोना भाइरसका संक्रमितको संख्या १२ लाख ९६ हजार ९३ जना छन् भने ११ लाख २५ हजार ४५ जनालाई कोरोना भाइरसको संक्रमितलाई निको भैसकेको छ । कुल संक्रमितमध्ये २१ हजार ३९७ जनाको मृत्यु भएको छ । बंगलादेश १ लाख ४९ हजार ६५१ जना सक्रिय संक्रमित छन् । ३ अगष्टमा १५ हजार ७७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३, अगष्टमै २३५ जनाको मृत्यु भएको छ ।