तरुण खबर
२० श्रावण २०७८, बुधबार ०९:१९
काभ्रेको रोशी गाउँपालिकामा यो मेरो दोस्रो कार्यकाल हो । स्थानीय तहको पुनर्संरचना हुँदै गर्दा म तत्कालीन काशीखण्ड नगरपालिका (भकुण्डेबेसी) मा कार्यरत थिएँ । पुनर्संरचना पछि तत्कालै रोशी गाउँपालिका गठनकै क्रममा पहिलो प्रशासकीय अधिकृतका रूपमा आएँ । केही महिना पछि चुनाव पनि भयो । जनप्रतिनिधिहरूलाई भित्र्याएर म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फर्किएँ ।
म पहिलो प्रशासकीय अधिकृतका रूपमा रोशी गाउँपालिका आउँदै गर्दा शून्यको अवस्था थियो । रोशी मात्रै होइन, मुलुकका कुनै पनि गाउँपालिकामा न त कर्मचारी थिए, न त कार्यालयहरू थिए । म एक्लै रोशी आएँ । कहाँ कार्यालय राख्ने ? कस्तो हुन्छ कार्यालय ? छाप कस्तो हुन्छ ? लेटर प्याड कस्तो बनाउने ? भन्ने कुनै जानकारी थिएन । फर्निचरलगायतका कुरा त कल्पनाभन्दा पनि बाहिर थियो । तत्कालीन गाविसहरू वडाका रूपमा रूपान्तरण भए पनि गाउँमा वडा कार्यालयहरू सञ्चालनमा थिएनन्, वडा सचिवहरू सबै जिल्ला सदरमुकाम धुलिखेलमा बस्थे । तत्कालीन गाविस सचिवहरूको मानसिकता हाम्रो कार्यालय गाउँपालिका मातहत हुँदैन भन्ने थियो । यो भयावह स्थितिलाई कसरी पार लगाउने होला ? भन्ने चुनौती थियो ।
म आउने बित्तिकै निर्वाचनको माहोल सुरु भयो । एक्लै कसरी काम गर्ने भन्ने चुनौती त थियो, यद्यपि काभ्रेकै नमोबुद्ध नगरपालिकामा काम गर्दा गर्दै रोशी सरुवा भएका कारण मलाई केही सजिलो भयो । नमोबुद्ध नगरपालिकाकै गाडी तथा सामग्री मैले प्रयोग गरेँ । नमोबुद्धका कर्मचारीहरू र रोशी गाउँपालिकाका स्थानीयवासीहरूले ठूलो सहयोग गर्नुभयो । रोशीको भूगोल, समाज र कसरी काम गर्ने ? भन्ने विषयमा नमोबुद्धमा बस्दा नै मेसो पाइसकेको थिएँ । म आएको २–३ दिन पछाडि लेखापाल आउनु भयो । हामी दुई जनाले कार्यालयको व्यवस्था ग¥यौं । गुणराज राई लेखापाल हुनुहुन्थ्यो । त्यहाँ आउने मानिसहरू राई शाखा र दाहाल शाखा भन्थे त्यतिबेला । नयाँ संरचना भएकोले सुरुमा मान्छेहरू आउँदै आउँदैनथे । तत्कालीन कटुञ्जे गाविसको कार्यालय पनि त्यहीँ थियो । त्यहाँका सचिव तथा कार्यालय सहायकलाई बोलाएर हाम्रै कार्यालयमा राख्यौं । केही दिन पछि निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको रूपमा गणेशप्रसाद आचार्य आउनुभयो । उहाँले मलाई नै सहायक निर्वाचन अधिकृत तोक्नु भयो ।
उहाँलाई एक जना लेखापाल पनि चाहिन्थ्यो । हाम्रै कार्यालयका लेखापाललाई लेखापाल तोक्नु भयो । निर्वाचन अधिकृतले जिल्ला सदरमुकाममा कम्प्पुटर अपरेटर खोज्ने क्रममा एक जना दक्ष व्याक्ति भेट्नु भएछ । उहाँले फुसर्दको समय गाउँपालिकाका लेटर प्याडहरू डिजाइन गर्ने, कम्युटर कस्ता खालका राख्ने ? लगायतका आइडिया दिनु भयो । निर्वाचन प्रयोजनका लागि एउटा गाडी भाडामा लियौं । त्यही गाडीको ड्राइभरलाई पछि गाउँपालिकाले आफ्नो सवारी चालकको रूपमा नियुक्ति ग-र्यां जो अहिलेसम्म कार्यरत हुनुहुन्छ । लेखाको सफ्टवेर जडान गर्ने क्रममा सेवा प्रदायक संस्थाबाट एक जना प्राविधिक आउनु भएको थियो । उहाँ कम्प्पुटरमा निकै पोख्त हुनुहुँदो रहेछ । उहाँलाई पनि हामीले गाउँपालिकामै राख्यौं । यसरी संयोगले हामीले केही जनशक्ति पायौं । थप तीन जना कर्मचारीहरू तत्कालीन जिल्ला विकास समितिबाट आउनु भयो । अरू कतिपय गाउँपालिकामा आफ्नो भाइ, भतिजा तथा आफन्त नियुक्त गरेको आरोप लागिरहेको सुनेको छु तर रोशी गाउँपालिकाले यसरी कर्मचारी व्यवस्थापन गरेका कारण यो आरोपबाट मुक्त भयो ।
चुनाव सम्पन्न भइसकेपछि वडा सचिवहरू पनि सदरमुकामबाट गाउँमा आउन थाल्नुभयो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूलाई कार्यकक्षको प्रबन्ध ग-यौं । वडा कार्यालयहरू सबै गाउँबाट सदरमुकाम विस्थापित भएका थिए गाउँमा नै त्यसको व्यवस्था ग¥यौं । सुरुमा आफ्नै भूगोलभित्र भन्दा पनि जहाँ पायक पर्छ, सजिलो हुन्छ त्यहीँ अस्थायी रूपमा वडा कार्यालय स्थापना ग¥यौं । अहिले वडा कार्यालय भवनहरू निर्माणाधीन छन् । अब एक, डेढ वर्षभित्र स्थायी रूपमा सबै वडा कार्यालयहरूको आप्mनै भवन हुनेछ ।
हाम्रो सदरमुकाम यो हो भनेर जनता गाउँपालिकाको कार्यालयमा आउने अवस्था सिर्जना गर्नु सबैभन्दा पहिलो चुनौती थियो । सुरुमा जनता आउँदै आएनन् । यहाँको बस्ती पनि धेरै टाढा छ । पालिका सदरमुकाम रहेको ठाउँबाट यहाँको भूगोल सरसर्ती हेर्ने हो भने गाउँ बस्ती देखिँदै देखिँदैन । जनता नै छैनन् कि क्या हो जस्तो लाग्थ्यो । २०६८ सालको जनगणना अनुसार करिब २८ हजार ७४६ जनसंख्या पालिका भित्र देखिन्छ तर कटुञ्जेबेसीबाट हेर्दा, यत्रो जनसंख्या यहाँ कहाँ होला र ? भन्ने जस्तो लागिरहेको थियो तर चुनावको दिन भीड देखेपछि विचित्र लाग्यो ।
राजनीतिक क्षेत्रले जनभावनालाई महत्व दिन्छ । प्रशासनिक क्षेत्रले विधिलाई महत्व दिन्छ । वास्तवमा दुवै अत्यन्त महत्वपूर्ण पाटा हुन् । विधिका नाममा जनभावनालाई गौण ठान्नु भएन र जनभावनाका नाममा विधिलाई गौण ठान्नु भएन । जनप्रतिनिधिले भावनात्मक कुरा गरे भनेर प्रशासनमा बस्नेले झिँझो मान्नु हुँदैन, किनकि उहाँहरूको पेसा नै भावनात्मक कुरा गर्ने हो । यसैगरी प्रशासनले विधिको कुरा ग-यो भने जनप्रतिनिधिले झिँझो मान्नु हुँदैन, किनकि विधिवत् रूपमा काम होस् भनेरै प्रशासनको व्यवस्था गरिएको हो ।
वैशाखमा चुनाव भयो, त्यसपछि म असोजसम्म बसेँ । त्यतिबेलासम्म पनि जनता सेवा लिन आउनुहुन्नथ्यो । वडा कार्यालयबाटै प्रायः सबै सिफारिसहरू भइहाल्ने भएकोले गाउँपालिकामा आउनै पर्दैनथ्यो । गाउँपालिकामा आउनुपर्ने भनेको उपभोक्ता समिति गठन गरिसकेपछि योजना सम्झौता गर्न हो । त्यसमा पनि साना योजनाहरू वडामै सम्झौता हुन्थे भने प्राविधिक जनशक्ति चाहिने ठूला योजनाहरू मात्रै गाउँपालिकामा सम्झौता हुने हुन् ।
दोस्रो पटक २०७५ चैत १८ गते म यहाँ हाजिर भएको हुँ । अहिले गाउँपालिकामा शिक्षा शाखा, स्वाथ्य शाखा, कृषि शाखा, पशु शाखा, सहकारी शाखा, लेखा शाखा, प्रशाशन शाखा, राजश्व शाखा, सूचना प्रविधि शाखा छन् । कर्मचारी पदस्थापनामा अरू गाउँपालिकाको जस्तो समस्या छैन । संयोगले सबै शाखाका प्रमुखभन्दा म नै सिनियर भएकोले उहाँहरूलाई अप्ठ्यारो महसुस भएको छैन । प्रशासकीय अधिकृतभन्दा पनि सिनियर अधिकृतहरू अरू शाखामा आएको अवस्थामा पनि प्रमुख प्रशासकीय अधिकृतले नै गाइड गर्ने व्यवस्था छ । तर यो व्यवस्थाले धेरै निरन्तरता पाउला जस्तो लाग्दैन । सिनियरले जुनियर कहाँ गएर निर्णय गराउनु पर्दा कता कता डोमिनेट फिल त भइहाल्छ नि । त्यसैले प्रशासकीय अधिकृतका रूपमा उपसचिवलाई खटाउने हो भने यो समस्या रहँदैन कि भन्ने कुरा धेरै गाउँपालिकाबाट संघीय सरकार कहाँ पुगेको छ ।
जनप्रतिनिधि आइसकेपछि मैले थोरै थोरै समय अरू गाउँपालिका तथा नगरपालिकामा पनि काम गरेँ । तुलनात्मक रूपमा यो गाउँपालिकामा जनप्रतिनिधिहरूबीच विवाद कम छ । पालिकाको अध्यक्ष र उपाध्यक्षबीच, कर्मचारी र जनप्रतिनिधिवीच, प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षबीच द्वन्द्व हुने, तर त्यसको दोष कर्मचारीलाई लगाउने प्रवृत्ति पनि अरु पालिकाहरूमा देखिएको छ । यो पालिकामा भने त्यो समस्या छैन । बुझेका जनप्रतिनिधिसँग मैले काम गर्ने मौका पाएको छु, सायद मेरो भाग्य पनि होला जस्तो लाग्छ । कर्मचारीले आफू पढेर (लोकसेवा पास गरेर) आएको दम्भ देखाउने र जनप्रतिनिधिले म त निर्वाचित हुँ भन्ने दम्भ देखाउने भयो भने द्वन्द्व हुन्छ । अर्को कारण अपारदर्शिता हो । तर रोशी गाउँपालिका यी दुवै रोगबाट मुक्त छ । राजनीतिक क्षेत्रले जनभावनालाई महत्व दिन्छ भने प्रशासनिक क्षेत्रले तथ्यलाई महत्व दिन्छ । वास्तवमा दुवै अत्यन्त महत्वपूर्ण पाटा हुन् । तथ्य प्रयोग गर्दा जनभावनालाई गौण ठान्नु भएन र जनभावनाको कार्यान्वयन गर्दा विधि तथा पद्धतिलाई गौण ठान्नु भएन । जनप्रतिनिधिले भावनात्मक कुरा गरे भनेर प्रशासनमा बस्नेले झिँझो मान्नु हुँदैन, किनकि उहाँहरूको पेसा नै भावनात्मक कुरा गर्ने हो । यसैगरी प्रशासनले विधिको कुरा ग¥यो भनेर जनप्रतिनिधिले रिसाउने अवस्था आउनु हुँदैन किनकि विधिवत् रूपमा एकरूपताका साथ काम होस् भनेरै प्रशासनको व्यवस्था गरिएको हो । रोशी गाउँपालिकाको सन्दर्भमा हामीले सुरुमै यी कुराहरूलाई अन्डरस्ट्यान्डिङ गरेका छौं ।
रोशी आएको १५–२० दिन पछि चुनावकै सन्दर्भमा म रोशी गाउँपालिकाका सबै गाउँमा पुगेँ । त्यसपछि पनि विभिन्न कार्यक्रम तथा सन्दर्भमा पुगिरहेको छु । रोशी गाउँपालिकाको भूगोल ठूलो छ । दुर्गम ठाउँमा पनि धेरै बस्तीहरू छन् । प्राकृतिक स्रोतको दृष्टिकोणले रोशी निकै धनी देखिन्छ । आसपासका गाउँ तथा नगरपालिकाहरूमा पानीको स्रोत कम छ । निर्माण समग्रीहरू खोज्न धेरै टाढा जानुपर्ने स्थिति छ । तर रोशी गाउँपालिमा एक–दुई ठाउँबाहेक पानीको खासै समस्या छैन । ढुंगा, गिटी, वालुवाका सन्दर्भमा भन्ने हो भने नेपालभरिमा नै रोशी अगाडि होला । हामीले केही दिन अघि एउटा सर्भेसमेत गराएका थियौं, यहाँ जडीबुटीहरू प्रशस्त पाइन्छन् ।
बस्तीहरू पनि प्रायः झुरुप्प छन् । छरिएका बस्तीहरू पनि नभएका होइनन् तथापि कम्तीमा पनि आठ–दस घर छन् । झुरुप्प बस्ती भएका कारण विकासका पूर्वाधार पु¥याउन केही न केही सजिलो छ । अर्को कुरा रोशी गाउँपालिकालाई दुईवटा भागमा राजमार्गले जोडेको देखिन्छ । एउटा भनेको बीपी राजमार्गले ७, ८, ९, ११ र १२ वडालाई छोएको छ । त्यसमा लिंक रोड बनाइदिने हो भने सबै वडा जोडिन्छ । अर्को भनेको चौकी डाँडादेखि खहरे पाँगुसम्मको एउटा बाटो छ, त्यो बाटोले ७ देखि १ सम्मका वडालाई जोड्छ । त्यो रोडमा लिंक रोड बनाइदिने हो भने सबै गाउँमा सडक सुविधा पुग्छ । बीपी राजमार्ग माम्तीदेखि कटुञ्जे बेंसीसम्म करिब १८ किलोमिटर रहेको छ । अर्को पनौतीबाट रोशीको किनारैकिनार कटुञ्जेसम्म जोड्ने करिब २२ किलोमिटर लामो वैकल्पिक राजमार्ग बन्दै छ । रोशी गाउँपालिकाबासीलाई बनेपा, काठमाडौं जान धुलिखेल नपुगे पनि हुने गरी अर्को छोटो राजमार्ग बन्दैछ । रोशी गाउँपालिकाको अर्को सहज पक्ष भनेको एकल समुदायको बाहुल्य हो । ६२ प्रतिशतभन्दा बढी तामाङ जातिको बसोबास छ । एउटै भाषा, संस्कृति, रहनसहन, पेसा भएकाले काम गर्न सजिलो पनि छ । त्यसलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सकिने सम्भावना पनि त्यत्तिकै छ ।
गाउँपालिकाका धेरै बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका वडाहरूमा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । वडा नं ११ मा मात्रै पाँच वटा र वडा नं. १० मा तीन वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । रोशी गाउँपालिकाको वडागत रूपमा हेर्ने हो भने १, २ र ३ को भूगोल मिलेको छ । सम्म पनि छ । तरकारी खेतीको प्रचुर सम्भावना छ । ४ नं वडामा अहिले पनि घर घरमै खुवा बनाउँछन् । ५ नं वडामा कृषि पशुपालन नै बढी देखिन्छ । ६ नं वडामा २ वटा पाटा छन् । एउटा पाटामा पशुपालनको एकदमै सम्भावना छ ।
अर्को पाटामा तरकारी फलफूललगायत खाद्यान्न उत्पादनको सम्भावना छ । ७ नं वडालाई बीपी हाइवे ले दुई भागमा विभक्त गरेको छ, त्यहाँ पर्यटन उद्योग एवं व्यापारको विकास गर्न सकिन्छ । रोशीको चिसो पानी प्रयोग गरी मत्स्यपालन गर्न सकिन्छ । ८ नं वडामा पनि कृषि र पशुपालनको सम्भावना छ । ९ नं वडा ठूलो छ, बजार र फाँटहरू धेरै छन् । भूमीचुलीजस्ता अग्ला पर्यटकीय डाँडाहरू छन् । त्यहाँ भ्युटावरहरू बनाउने कार्यक्रम छ । वडा नं १० खाद्यान्न तथा जडीबुटीका लागि प्रचुर सम्भावना भएको ठाउँ हो । ११ नं वडामा ढुंगा, गिटी, बालुवाको प्रचुर सम्भावना छ । सार्वजनिक जग्गाहरू पनि प्रशस्त छन् । १२ नं वडाको माथिल्लो भेकले पदयात्रा पर्यटनको प्रचुर सम्भावना बोकेको छ । जडीबुटीको खेती गर्न सकिन्छ । बीपी राजमार्गका यात्रुहरूलाई रोशी गाउँपालिकाको १८ किलोमिटर खण्डमा एक दुई घण्टा अड्याउन मात्रै सक्ने हो भने आर्थिक उन्नतिको ठूलो सम्भावना बढ्छ । तर राजमार्ग लक्षित होटल तथा रेस्टुरेन्टमा निजी क्षेत्रलाई आकर्षित गर्न अझै सकिएको छैन । हाम्रो सिमाना जोडिएको सुनकोसी गाउँपालिकामा धेरै होटल तथा रिसोर्ट खुलेको देखिन्छ । हाम्रो क्षेत्रमा फाँट अलि साँघुरा भएका कारण पनि होटल तथा रिसोर्टहरू नखुलेका हुन् कि । कृषि उत्पादनका लागि बजारको खाँचो छैन । नजिकै काठमाडौं छ, बनेपा, धुलिखेलजस्ता सहरहरू पनि नजिकै छन् ।
विकास–निर्माणमा रोशी
रोशी गाउँपालिकाको संरचना भइसकेपछि विकास निर्माणले के कस्तो गति लिएको छ त ? भन्ने सन्दर्भ ज्यादै महत्वपूर्ण हुन्छ । सुरुमा हामीले डाटाबेस नबनाई योजना बनायौं । के का लागि ? कति लगानीले जनतालाई फाइदा हुन्छ ? वातावरणीय प्रभाव कस्तो पर्छ ? भन्ने लगायतका तथ्य अध्ययन गर्नुभन्दा पनि जसले जे माग ग¥यो त्यसलाई पूरा गर्नुपर्छ भन्ने आधारमा सुरुमा योजनाहरू बने । अर्थात् वडाध्यक्षज्यूहरूद्वारा जे प्रस्ताव भयो, त्यसैलाई योजनाका रूपमा हामीले समाबेश ग¥यौं । तर त्यसबाट हामीले अपेक्षित उपलव्धि हासिल गर्न सकेनौं । दोस्रो वर्ष केही सुधार भयो । तेस्रो वर्ष आइसक्दा के महसुस भयो भने गन्तव्य पहिचान गरेपछि मात्रै यात्रा आरम्भ गर्नुपर्ने रहेछ । तीन वर्षको समय त कार्यान्वयनको संक्रमणकालमै सकिइहाल्यो । सबै जनप्रतिनिधिले ल्याएका योजना अटाउन खोज्दा बजेट छरिने रहेछ । सबै योजना अधुरा हुने रहेछन् । जनतालाई कन्भिन्स गर्न नसक्दा जनप्रतिनिधिलाई पनि अप्ठ्यारो पर्ने रहेछ, किनकि फेरि चुनाव लड्नुपर्छ, अहिले योजना पारिएन भने अर्को चुनावमा जनता कहाँ कसरी भोट माग्न जाने ? भन्ने प्रेसर उहाँहरूलाई पनि हुँदो रहेछ । त्यही कारण टुक्रे योजना हावी भए । यस्ता टुक्रे योजनाले काम गर्न झन्झट खडा ग¥यो र उपलब्धि देखिएन ।
रोशी गाउँपालिकाको समस्या
अधिकांश गाउँपालिकाहरू आफ्नो आम्दानीले साधारण खर्चसमेत नधान्ने अवस्था रहेका कारण विकास निर्माणका लागि वजेटको अभाव हुन थालेको आमगुनासो छ । रोशी गाउँपालिका पनि यो समस्याबाट मुक्त छैन । आम्दानीका दुई वटा क्षेत्र छन्, एउटा कर तथा दस्तुर हो, अर्को ढुंगा, गिटी, बालुवालगायत प्राकृतिक स्रोतहरू हुन् । यी दुई स्रोत हेर्दा गत वर्षको जसरी नै उठ्यो भने चालू खर्च धान्न सकिन्छ । ५ देखि ६ करोड रुपैयाँसम्म उठ्ने देखिन्छ । यति बजेटले चालू खर्च धान्न सक्छ । तर चालू खर्च पनि बढिरहेको छ । नेपाल सरकारले दिएको बजेट पुँजीगत खर्चका लागि मात्रै लगाउनु पर्ने हो तर व्यवहारमा त्यस्तो देखिएको छैन । पालिकाभित्र २० देखि २५ वटा डोजर छन् । त्यसले पनि सडक निर्माणको काम सहज बनेको छ । पालिका आफैंले डोजर किनेको छैन । आवश्यक परेको बेला सानोतिनो कामका लागि उहाँहरूले पालिकालाई निःशुल्क डोजर उपलव्ध गराउनुहुन्छ । विपत्को समयमा उहाँहरूले गर्नु भएको योगदान अत्यन्त सराह्रनीय छ ।
(डमरु दाहाल रोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन्, तर उनी श्रम मन्त्रालयमा तीन दिनअघि मात्र हाजिर भएका छन् । करीब तीन वर्षअघि उनीसँग भएको कुराकानीका आधारमा तयार गरिएको लेख हो यो । र, यो लेख रोशी गाउँपालिकाद्वारा प्रकाशित रोशीबाट लिइएको हो)


