तरुण खबर
२० श्रावण २०७८, बुधबार ०९:५५
काठमाडौं । स्थानीय भाषामा सिलामेका नामले चिनिने विचित्र र अति दुर्लभ प्रजातिको फूल फुल्ने लेक क्षेत्रलाई गाउँपालिकाले आप्नो तहबाट अति संरक्षित क्षेत्र घोषणा गरेर त्यहीअनुरूप कार्ययोजना सार्वजनिक गर्ने योजना बुनेको छ । हालसम्म प्राप्त प्रमाणअनुसार सम्भवतः यो प्रजातिको फूल भारतको केरलामा मात्र देखिएको छ । काभ्रेका रोशी गाउँपालिको वडा नम्बर १० मा गोदावरी क्षेत्र, १२ वर्षमा मात्र मूल फुट्ने प्राकृतिक धारा र गोदावरी मन्दिर रहेको छ ।
दन्त्यकथा र वास्तविकताको दोसाँधमा रोशी
१२ वर्षमा फुल्ने फूल अत्यन्तै दुर्लभ मानिन्छ । छिमेकी मुलुक भारतको केरलामा १२ वर्षमा मात्र फुल्ने अति दुर्लभ नीलाम्बरी फूलले विश्वभर चर्चा पाएको छ । यो फूललाई कुरिञ्जीको नामले समेत चिनिन्छ । यो पूmलको वैज्ञानिक नाम स्ट्रो–बिलान्थेस कुन्थिएनस हो । यो फूलले हरेक १२ वर्षमा केरलाको पर्यटन व्यवसाय अकासिन्छ । सेभ कुरिञ्जी काउन्सिल संस्था नै गठन गरेर ३२ वर्ग किलोमिटरको यो पूmल फुल्ने क्षेत्रलाई संरक्षित गरिएको छ । भारतमा यो फूलको महत्व बुझेर सन् १८३८ देखि औपचारिक रूपमै पूmल फुल्न सिजन र समय सूचीकरण गरिएको छ । सेप्टेम्बर–अक्टोबर महिनामा केरलाको मुनार पहाड यो पूmलले ढकमक्क हुन्छ । नेपालको (अहिलेसम्म थाहा पाएअनुसार) रोशीमा मात्र यो फूल रहेको पाइएको छ ।
नीलाम्बरी पूmलका बारेमा व्यापक प्रचारप्रसार गर्दै १२ वर्षमा पूmल फुल्ने बेलामा मात्र मूल फुट्ने विचित्र धारो गोदावरीलाई समेत समेटेर तत्काल विकास कार्ययोजना अघि सार्न आवश्यक छ । विश्वविद्यालय, वन विभाग, ट्राभल एजेन्सीलगायत सरोकार निकायमार्फत यो क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन जरुरी छ । १२ वर्षमा र त्यो पनि नीलाम्बरी फुल्ने बेलामा मात्र मूल फुट्ने गोदावरी क्षेत्रमा होमस्टे, विश्रामस्थल, खानपिन र बासको व्यवस्था साथै अध्ययन अनुसन्धानका कामलाई एकैसाथ अघि बढाउन जरुरी देखिएको छ । रोशी गाउँपालिकाले चरणबद्ध रूपमा यस्ता योजनाहरू अघि बढाउने छ ।
रोशी गाउँपालिका–१० स्थित महाभारत लेकमा गोदावरी भन्ने स्थान छ । समुद्री सतहबाट करिब २३–२४ सय मिटर उचाइको यो ठाउँमा हरेक १२ वर्षमा एक पटक गोदावरी मेला लाग्छ । रोशी गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानामा पर्ने उक्त लेक नै वास्तविक गोदावरी भएको स्थानीय बासिन्दाको भनाइ छ । पूजाआजाका लागि ज्यादै दुर्गम र अपायक भएका कारण मल्लकालमा ललितपुर जिल्लाको फुल्चोकीको फेदीमा रहेको कुण्डमा गोदावरीको प्रतीक बनाएर पूजाआजा सुरु गरिएको किंवदन्ती छ । तर यो वास्तविक गोदावरी हो वा होइन ? अध्ययन हुनु बाँकी छ । यो स्थानलाई गोदावरीको शिर र ललितपुरको कुण्डलाई गोदावरीको पाउ भन्ने किंवदन्ती पनि छ ।
स्थानीय बासिन्दाका अनुसार हरेक १२ वर्षमा यहाँ पानीको मूल फुट्छ र करिब एक महिनापछि बन्द हुन्छ । त्यहीबेला मात्रै यस जंगलमा फूल फुल्छ । जसलाई गोदावरी फूल भन्ने चलन छ । १२ वर्षमा एकपटक फुल्ने निलाम्बरी फूलको विषयमा अध्ययन हुन बाँकी छ । स्थानीय वाल्टिङ गाउँका पण्डितहरूले हरेक वर्ष यहाँ रुद्री लगाउने गर्दछन् । हरेक वर्ष जनै पूर्णिमा र तीजमा ठूलो मेला लाग्छ । मेलाको बेला हजारौं भक्तजनको घुइँचो लाग्ने गरे पनि अघिपछि भने यो क्षेत्र निर्जन र अनकन्टार छ ।
गोदावरी स्थान पूरै जंगल र झाडीले ढाकिएको छ । अघिपछि गोदावरी स्थान कुन हो भनेर स्थानीय गाइडको सहयोगबिना चिन्नसमेत हम्मेहम्मे अवस्था छ । न मन्दिर बनाइएको छ, न त गोदावरी स्थानसम्म पुग्ने गोरेटो बाटो । गोदावरी स्थानभन्दा केहीमाथि डाँडोमा पुरानो शिव मन्दिर छ । केही वर्षसम्म यहाँ एक साधु तपस्या गरेर बस्थे, तर उनको निधनपछि मन्दिरमा नियमित पूजाआजासमेत हुन छाडेको छ । गोदावरी स्थानभन्दा करिब पाँच सय मिटर दक्षिणसम्म भने महाभारत गाउँपालिका र रोशी गाउँपालिका दुवैतर्फबाट कच्ची सडक बनेका कारण सवारीसाधन हुनेहरूका लागि अब गोदावरी दुर्गम छैन । मंगलटार नजिकै कालढुंगाबाट करिब १२ किलोमिटर कच्ची सडक भएर दुई घण्टामा गोदावरी स्थान पुग्न सकिन्छ । पैदल हिँड्दा करिब चार घण्टा लाग्छ ।
गोदावरी स्थानको आसपासमा तीनवटा टाकुरा छन् । भूमिचुली, सीताचुली र घोडेचुली । यी तीनवटै चुलीबाट तराई र काठमाडौं उपत्यका देखिन्छ । उत्तरतर्फ तिब्बतसम्म देखिन्छ । घोडेचुली सिन्धुली जिल्लाको सिमाना पनि हो ।
(नीलाम्बरी रोशी गाउँपालिकाको वडा नम्बर १० मा पाइएको पूmलको नाम गोदावरी र नीलो रङलाई आधार मानेर दिइएको नयाँ नाम हो)


