तरुण खबर
२१ श्रावण २०७८, बिहीबार ०८:४१
काठमाडौं । मेलम्ची नदीमा डेढ महिनाको अन्तरालमा आएका दुइटा ठूला बाढीको निरीक्षण र प्रारम्भिक अध्ययन गरेपछि विज्ञहरूले अब नेपालका उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको अध्ययन आवश्यक भएको कुरा औँल्याएका छन् । सरकारी अधिकारीहरूका अनुसार यो विपद् आधुनिक इतिहासमै थाहा नभएको बताउँदै यतिखेर त्यसको प्रवाह रोक्ने ज्ञान, सीप र क्षमता आफूहरूसँग नरहेको बताएका छन् । तर यस विषयमा केही विज्ञहरू फरक धारणा राखेका छन् । उनीहरू विपद् भइसकेपछि तत्काल रोक्ने क्षमता नभए पनि विपद्अघि र पछिका अध्ययनले रोकथाम गर्नै नसकिने भने नदेखाएको बताएका छन् । तल्लो तटीय क्षेत्रमा थुप्रै बस्तीहरू एवम् अर्बौँ रुपैयाँ खर्च भएका आयोजना निर्माण हुँदा त्यसको तुलनामा माथिल्लोपट्टि भौगर्भिक अध्ययन गर्ने र तिनलाई नियमन गर्ने पूर्वाधार नभएको उनीहरू ठान्छन् ।
भूगर्भशास्त्री वसन्तराज अधिकारीले मेलम्ची खानेपानी आयोजनाजस्तो ठूलो पूर्वाधार बनाउँदा केही अध्ययनहरू भए पनि यो तहको सम्भावनालाई ख्याल नगरेको देखिएको बताएका छन् । कहालीलाग्दो बाढीको कारण तथा प्रभावबारे अध्ययन गरिरहेका विज्ञहरू विपद् केवल यो वर्षको वर्षा वा केही महिनामा विकसित परिस्थितिबाट उत्पन्न नभएको बताएका छन् । उनीहरूले त्यसको कारण पत्ता लगाउन लामो समयअघिको भौगर्भिक अवस्थिति र घटनाक्रमको अध्ययन र मूल्याङ्कन गर्नुपर्ने बताएका छन् बीबीसी अनलाइन नेपाली सेवामा उल्लेख छ । खासगरी उच्च हिमाली भेगमा मानवबस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिने गरेको बताइन्छ । त्यसमा आइरहेका परिवर्तनसँग मात्र यति ठूलो विपद्को आकार जोडिन्छ, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापनरत भूगर्भशास्त्री वसन्तराज अधिकारीले सञ्चार माध्यमहरुलाई बताएका छन् ।
गेगरान किन र कसरी सक्रिय भयो ?
हिमताल वा हिमनदीमा हिउँ जम्नु र पग्लिनुलाई अस्वाभाविक मानिँदैन । हिउँ पग्लिँदा दीर्घकालमा ताल वा नदी भएको ठाउँको सतह माथि सर्छ । त्यस क्रममा थुप्रिएको गेगरान हिमालय क्षेत्रभरि फैलिएको बताइन्छ । मेलम्ची खोलाको माथिपट्टि देखिएको चिज त्यही (गेगरान) हो एक भूगर्भशास्त्रीले भनेका छन् । त्यसैले एउटा ठूलो सम्भावना गेगरान सक्रिय भएको हुन सक्ने देखिएको हो, आइतवार सरकारी टोलीसँग स्थलगत अवलोकनका लागि गएका भूगर्भशास्त्री अधिकारीले जानकारी दिए । अहिले के कारणले गेगरान सक्रिय भयो भन्ने विषयमा विज्ञहरूले प्रारम्भिक अनुमान गरेका भए पनि स्पष्ट कारण भने पत्ता लागिसकेको छैन ।
बाढीको स्रोत मानिएको भेमाथाङमा खिचिएको एउटा भिडिओका आधारमा उनीहरूले त्यहाँ विभिन्न किसिमको गेगरानको सतह भएको सङ्केत पाइएको बताएका छन् । पछिल्लो अवस्थाका लागि त्यस भेगमा केही समयदेखि माथिपट्टिको हिउँले ढाक्ने सतहबाट खुइलिँदै तलपट्टि आउन थालेको, त्यसैबीच भूकम्पले चिरा पारेपछि गेगरानको रासभित्रैसम्म छिरेको पानीले त्यो कमजोर सतहलाई अझ चलायमान गराएको हुनसक्ने देखिन्छ– उनले भनेका छन् । त्यस क्रममा तलपट्टि कैयौँ ठाउँमा पहिरोले नदी थुनेको हुनसक्छ ।
कहाँबाट आयो गेगरान ?
हिमतालको बारेमा लामो समयदेखि अध्ययन गरेका काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख रिजनभक्त कायस्थले आफूले यसपालि त्यति धेरै गेगरान कहाँबाट आइपुग्यो भन्ने दृष्टिबाट हेरिरहेको बताए । भेमाथाङमाथिको क्षेत्र लाङटाङ हिमालको पश्चिमपट्टिको भागमा पर्ने गर्छ ।
मेलम्चीको घटनाले के सिकायो ?
विज्ञहरूले सिन्धुपाल्चोकको माथिल्लो क्षेत्र धेरै पानी पर्ने भेग भएको बताएका छन् । तथापि त्यहाँ वर्षा र बाढी मापन गर्दै तल्लो तटीय क्षेत्रमा सजग गराउन सक्ने जलवायुसम्बन्धी उपकरण निकै कम वा नभए सरह भएको बताइन्छ । यस्तो ठूलो तहको विपद्को पूर्वसूचना पाउन वा रोक्न अब हिमतालमा गरिए जस्तो त्यसमुनिका गेगरानको अध्ययन आवश्यक देखियो । ठूला पूर्वाधार निर्माणका बेला अहिले पनि गेगरानको केही अध्ययनहरू भए तापनि ती स्रोतमा पुगेर नभई खोलामा बगेर आएका नमुनालाई हेर्ने गरिन्छ– काठमाडौं विश्वविद्यालयका रिजनभक्त कायस्थले भनेका छन् । उनले जोखिमयुक्त महत्वपूर्ण क्षेत्रको कम्तीमा ४ हजार मिटरमाथिको क्षेत्रसम्म वर्षाको मापन गर्ने मापदण्ड बन्नुपर्ने बताएका छन् ।
मेलम्चीको बाढीबारे इसिमोडको प्रतिवेदनमा के छ ?
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गत मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनमा पनि मेलम्ची नदीका माथिल्ला उपनदीहरू लास्ट ग्लेशल म्याक्सिमम (एलजीएम) भनिने हिमयुगको अन्तिम कालखण्डसँग उक्त मेलम्ची नदीमा आएको बाढीको सम्बन्ध भएको सङ्केत गरेको छ । अध्ययनहरूका अनुसार उत्तर अमेरिका, उत्तर युरोप र एशियाका धेरैजसो भूभाग हिउँले ढाकिएको हिमयुग १६,००० वर्षअघिसम्म कायम थियो ।
प्रतिवेदनमा थप भनिएको छ– जुन हिमनदी पग्लिँदाका गेगरानसँग मिसिएर टार बन्नेगर्छ र त्यहाँ पानी र गेगरान घुलन भएमा बग्न सक्छ । मेलम्चीमा मिसिने पेम्दाङ खोलाको हकमा त्यही भएको उल्लेख गर्दै उक्त प्रतिवेदनले त्यहाँ यसअघि नै एउटा टार एउटा पुरानो पहिरोले रोकिएको जनाएको छ । प्रतिवेदनमा उक्त सो हिमताल विस्फोटनलाई प्रधान कारण नमानीकन उक्त प्रक्रियाका लागि “थप बल पु-याएको हुनसक्ने“ जनाइएको छ ।
त्यसमा अध्ययनकर्ताहरूले विपद्पछाडि एकभन्दा धेरै कारण जोडिएको देखिएको जनाएका छन् । उक्त अध्ययनका अनुसार ५,००० मिटरमाथिको उच्च हिमाली भूभागमा ठूलो वर्षा भएको अनि त्यसकै कारण २,७६१ वर्गमिटरको एउटा सानो हिमताल विस्फोट थियो । त्यसो हुँदा पुराना पहिरोहरू सक्रिय भएका, नयाँ पहिरोहरू बनेका अनि किनारामा भूक्षय सुरु हुँदा नदीको प्रवाह रोकिएको अध्ययनकर्ताहरूले औँल्याएका छन् । इसिमोडले आफ्नो अध्ययन भूउपग्रहबाट सङ्कलित तस्बिर र परैबाट विवरण सङ्कलन गर्ने अन्य विधिका आधारमा गरिएको भन्दै थप स्पष्टताका लागि स्थलगत अध्ययन आवश्यक पर्ने जनाएको छ ।
उक्त अध्ययनमा मध्यसाउनमा आएको दोस्रो पहिरो र बाढीको कारण भने समेटिएको छैन । अहिले गेगरानयुक्त बाढीको स्रोतको रूपमा देखा परेको भेमाथाङ पहिला विस्फोटन भएको भनिएको हिमतालबाट झन्डै छ किलोमिटर तलपट्टि पर्छ । उक्त घटनासँग पछिल्लो भूकम्पको सम्बन्ध कति छ भन्ने थाहा भइनसके पनि २०७२ सालपछि त्यस क्षेत्रमा पहिरोको क्रम बढेको देखिएको उल्लेख छ ।


