इतिहासमा स्थानीय बाँके र वर्दियाको संस्कृति तथा भेषभुषा

इतिहासमा स्थानीय बाँके र वर्दियाको संस्कृति तथा भेषभुषा तरुण खबर २१ श्रावण २०७८, बिहीबार ०८:४७
इतिहासमा स्थानीय बाँके र वर्दियाको संस्कृति तथा भेषभुषा

परशु घिमिरे, केदार अधिकारी

काठमाडौं । बाँके जिल्ला नेपालको नयाँ मुलुकको एक भाग हो । नेपाल–भारतस्थि इष्ट इण्डिया कम्पनीबीच भएको ई.सं. १८१४–१६ सम्म लडाइँपछि सुगौली सन्धिमा यस क्षेत्रको बारेमा उल्लेख भएको इतिहास पाइन्छ । यो युद्ध अगाडी बाँके, वर्दिया, कैलाली र कञ्चनपुर नेपालकै भूभाग थिए । ई.सं. १८१६ सुगौली सन्धि भयो । यसपछि यी इलाका इष्ट इण्डिया कम्पनीलाई दिनु पर्ने भएको थियो । १८४०–५६ मा इष्ट इण्डिया कम्पनीले आप्mनो अधिनमा रहेको मुलुकमा गाभ्यो । ई.सं. १८५६ मे १० तारिखमा ठूलो विद्रोह दवाउन नेपाल सरकारसँग सहयोग मागेका थिए । ई.सं. १८६० नेपाल सरकार सहायताले विद्रोह दवाउन अंग्रजहरु सफल भए । इष्ट इण्डिया कम्पनी खुशी भएर जंगबहार राणलाई यी क्षेत्रहरु उपहार दिएका हुन् ।

लुम्बिनी प्रदेशमा राखिएको बाँके जिल्लाले आप्mनो असन्तुष्टि जनाइरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको व्यापारी केन्द्र बनेको नेपालगञ्ज, बाँके जिल्लामै पर्दछ भन्ने कुरा प्रदेश संरचना गर्नेहरुले राम्रोसँग जानकारी राखेकै थिए । तर लुम्विनी प्रदेशमै परियो, किन पारियो ? भन्ने प्रश्न अभैm अनुत्तरित नै छ । बाँके जिल्लाको पूर्वमा दाङ, पश्चिममा बर्दिया, उत्तरमा सुर्खेत र दक्षिणमा भारतको बहराइच जिल्ला पर्दछन् । आजभन्दा ५० वर्षअघिको बाँके, बर्दियाको रहन सहन, संस्कृति र भेषभुसाबारे तरुणका पाठकहरुलाई जानकारी होस् भन्ने उद्देश्यले यो सामाग्री पस्किएको हो । तरुण टिमले खोज तथा अनुसन्धान गरे अनुसार जोसेफ डब्लु एल्डर, महावीर आले, म्यारी ए इभान्स, डेविड पी जिलेस्पी, रोहितकुमार नेपाली, सीतारामप्रसाद पौडेल, ब्राइस पी स्मिथले २०३१ सालमा खजुरा र बर्दियामा गरेको पुनर्वास आयोजनाअन्तर्गतको कर्यक्रमका सामाजिक विकासको विश्लेषणसम्बन्धी पुस्तकमा व्यक्त अनुभव तथा खोजहरूको सारसंक्षेपमा राखिएको छ– मोटामोटा र ठूल्ठूला आँपका हाँगाहरूले पुनर्वास नजिकका गाउँहरूको उमेर प्रमाणित गरे जस्तै पानी भरिएका खाडलहरू जहाँबाट वर्षौदेखि निकालिएका माटोले गाउँका भित्ताहरू निर्माण र पुनर्निर्माण हुने गरेका छन् । आकाश माथिबाट नेपाली तराईका गाउँ र भारतीय सीमावर्ती गाउँहरूबीच फरक छुट्याउन सकिँदैन, दक्षिणतर्फ जतिजति नजिकबाट नियालिन्छ, यी दुवै स्थानबीचको समानता अझ गहिरो देखिन्छ । अवधी, हिन्दी र उर्दू यहाँको भाषा हो, नेपाली भाषा त सबैको साझा भइहाल्यो । दक्षिणवर्ती भारतमा पनि यही नै साझा भाषा हो । स्थानीय स्थानीय थरहरू पनि भारतीय समतल भूभागका जस्तै छन् । नेपालका पहाडी थरहरूसँग मिल्दैनन् ।

तराईमूलका बासिन्दाहरू बेरुवा धोती सामान्यतः सेतो रङको लगाउन मन पराउँछन् भने पहाडियाहरू ठूलो कट्टु वा फरक तरिकाले धोती प्रयोग गर्छन् । मूलबासीको कपाल सानो र टाउकामा फेटा हुन्छ भने पहाडियाहरूको कपाल सामान्यतः लामो र उनीहरू नेपाली टोपी लगाउँछन् । तराईका मूलवासीहरू टाउकामा भारी बोक्छन् र आफ्ना अन्य सरसामान र छाता काँधमा राख्छनु । पहाडियाहरू डोकोमा सामान बोक्छन् र छाता पछाडिपट्टि भिर्छन् । तराईवासीहरू पान खान्छन् भने पहाडियाहरू पान खाँदैनन् । पहाडीहरू आफूलाई नेपाली भन्छन्, तर तराईवासीलाई मधेसी र केही अवसरमा भारतीयसमेत भन्छन् ।

तराईको हिन्दुत्व पहाडको हिन्दुत्वभन्दा फरक छ । तराईका हिन्दुहरूले आधिकारिक रूपमै आफ्ना दुई प्रमुख चाडपर्वमा साकाहारी खाने र साथै मद्यपान निषेध गरेका छन् । पहाडियाहरू मन्दिरमा बोका बलि दिन्छन् र धेरैलाई मासु र रक्सीबिना उत्सव पूर्ण हुने जस्तो लाग्दैन । तराईका हिन्दुहरूले शिवरात्रि, कृष्णजन्माष्टमी रक्षाबन्धन मनाउँछन् भने पहाडबाट आएका हिन्दुहरू माघे संक्रान्ति चैतेदशै र बालाचतुर्दशी मनाउँछन् । साथै, एकै समयमा मनाइने चाडपर्व पनि फरक नाम र शैलीमा मनाइन्छ । तराईमा दशहरा हुन्छ भने पहाडमा दशैं अनि तराईमा दीपावली हो भने पहाडियाका लागि तिहार ।

यो क्षेत्रमा गैरहिन्दु पनि छन्, जो मुसलमान हुन् । यिनीहरूको नाम अरबी शैलीको अब्दुल, महम्मद जस्ता हुन्छन् । यिनीहरू दाह्री पाल्छन् । धर्का भएको धोती लुंगी र मुसलमानी टोपी लगाउँछन् । मुस्लिम महिलाहरू सार्वजनिक रूपमा जाँदा बुर्का लगाउँछन् र शरीर अनुहारसहित पूरै ढाक्छन् । साथै, मुसलमानहरूको शुक्रबारे प्रार्थनाले यिनीहरू आफ्ना हिन्दु छिमेकीभन्दा पूर्णरूपमा अलग देखिन्छन् ।

तराईका केही गाउँहरू थारुका छन्, जसको आफ्नै भाषा छ जुन नेपाली र हिन्दीभन्दा फरक छ । साथै, उनीहरूको प्रकृति जन्य धर्म र गुरुबा पनि छन् । उनीहरूको फराकिलो घर र ठूल्ठूला गोठ अन्य जातका छिमेकीभन्दा फरक देखिन्छन् । थारु महिलाहरू रंगिन लुगा लगाउँछन् । उनीहरूको चोलो पछाडिपट्टि खुल्ला हुन्छ । सेतो सुतीको ओढ्ने प्रयोग गर्छन् । यसैगरी, उनीहरूले प्रयोग गर्ने गरगहनाका कारण तराईका अन्य महिलाभन्दा थारु महिलाहरू पृथक् हुन्छन् ।

पुनर्वासका क्रममा जब व्यक्तिहरू तराईमा आए, सुरुमा ती समयमा उनीहरूको अन्न उब्जनी सुरु भएको थिएन । उनीहरू प्रायःजसो छिमिकी गाउँहरूमा कृषि वा निर्माण श्रमिकका रूपमा काम गर्दथे । बदलामा उनीहरूले अन्न वा दैनिक तीनदेखि पाँच रुपैया ज्याला पाउथे । केही पुनर्बासीहरू नजिकको जंगलबाट दाउरा काटेर पुराना गाउँहरूमा बेचबिखनसमेत गर्थे । पुनर्वासीहरू ऋण लिनसमेत छिमेकका गाउँ जानुपर्ने बाध्यता थियो ।

पुनर्वास भएकाहरूका लागि आफूहरूसँग थोरै मात्र समानता देखिने रैथाने गाउँलेहरू भारतीय वा मुस्लिम मात्र थिए र आफूइतरकालाई शत्रु जस्तै मानिन्थ्यो । पुनर्वास भएकाहरूलाई प्रश्न सोधियो, तपाईलाई कुन व्यक्ति बढी मनपर्छ ? तपाईंको छेउको छिमेकी जो १० वा १५ वर्षदेखि सँगै छन् वा ती व्यक्तिहरू जो धेरैअघिदेखि नजिकका गाउँमा बसोबास गर्छन् ? त्यसबेला २७ प्रतिशतले मात्र छिमेकका गाउँका बासिन्दाहरू भनेर उत्तर दिएका थिए । ४९ प्रतिशतले गुनासो गरे । उनीहरूको गुनासो थियो कि रैथाने गाउँलेहरूले ज्याला कम दिन्छन्, तर पनि काम दिएकोमा भने पुनर्वासीहरू गाउँलेप्रति आभारी नै छन् ।

हामीहरूले वरपरका गाउँलेहरूसँग पनि पुनर्वासीका बारेमा के धारणा छ भनेर अन्तर्वार्ता ग¥यौं । धेरै जग्गा जमिन भएकाहरू अत्यन्तै खुसी देखिए । पुनर्वासीहरूका कारण जग्गाको मूल्य बढेको र सस्तो मूल्यमा कामदारसमेत पाइएका कारण जमिनदारहरूको आय वृद्धिमा ठूलो टेवा पुगेको देखियो । साथै, पुनर्वासीका कारण खुद्रे व्यापारी र पेसाकर्मीहरू पनि खुसी देखिए किनभने व्यक्तिको आगमन बढेपछि वस्तु र सेवाको माग पनि बढेको थियो ।