तरुण खबर
२१ श्रावण २०७८, बिहीबार ०८:५४
आफ्नो उमेर मलाई थाहा छैन । नागरिकताअनुसार मेरो उमेर १०२ वर्षको हो । यो गाउँमा मभन्दा जेठा एकजना थारु छन् । उनले र मैले २००७ सालको जनक्रान्तिमा हामीले लडाकुहरुसँगै बन्दुक बोकेका थियौं । त्यतिबेला बर्दियाका ठूला जमिन्दार एवं काँग्रेस नेता राधाकृष्ण थारु हात्ती घोडा लिएर रनियापुर आए । नेपालगन्ज कब्जाका तयारीका लागि उनी आएका रहेछन् । उनले नै यस क्षेत्रमा नेपाली कांग्रेसको संगठन गरेका हुन् । उनी मभन्दा ५–७ वर्ष जेठा हुन् जस्तो लाग्छ । त्यसबेला उनले रनियापुरमा कांग्रेसको अध्यक्ष बनाउन मलाई नै खोजेका थिए । मैले गाउँकै ठूला जिमिन्दार रहँु खाँको नाम दिएँ । त्यतिबेला जिमिन्दारले भनेको सबैले सुन्ने, रैतीले भनेको कसैले नसुन्ने अवस्था थियो । अहिले वडा नम्बर ८ का वडाध्यक्ष फिरोज खानका बाजेका पनि बाजे हुन् रहुँ खाँ ।
मैले सामान्य अक्षर यहीँको मदरसामा पढेको हुँ । भारतबाट मौलावी यही पढाउन आउँथे । कुरान पढ्न जाने भइहाल्यो नि, थप किन पढ्नुप¥यो ? भन्ने चलन थियो त्यतिबेला । १८–२० वर्षको उमेरमा १४–१५ वर्षकी केटीसँग मेरो विवाह भयो । दिउँसो गाईभैंसी चराएर बेलुका घर फर्केको थिएँ, बा–आमाले ल तेरो अहिले बिवाह हो भन्नुभयो । सुरुमा पत्याइनँ । केहीबेरपछि थाहा भयो मेरो साँच्चि नै विवाह हुन लागेको रहेछ । हाम्रो एउटा मात्रै छोरा हो, ऊ ७०–७२ वर्षको उमेरमा १०–१५ वर्षअघि बित्यो । अहिले नातिसँग बस्छु । पनातिहरू विदेशमा छन् ।
म केटाकेटी छँदा नेपालगन्जमा भर्खर भर्खर बजारको विकास हुँदै थियो । रूपैडियामा भारतीय व्यापारीहरूले धान खरिद गर्ने गल्ला राखेकाले हिउँदमा ठूलो चहलपहल हुन्थ्यो । दैनिक ४–५ सय लडिया धान जान्थ्यो । बिक्रीका लागि लाइनमा बस्नुपथ्र्यो । दुई–तीन दिनपछि मात्रै धान बेच्ने पालो आउँथ्यो । पहाडबाट समान किन्ने मान्छेहरू पनि त्यतिकै आउँथे । घरहरू थिएनन्, छाप्रामा बस्नुपथ्र्यो । बर्खा लागेपछि भने सुनसान हुन्थ्यो ।
नेपालगन्जबाट गुलरिया जोड्ने अहिलेको हुलाकी राजमार्ग तथा यसभन्दा दक्षिणतिर घना जंगल थियो । घना जंगलमा बाघ, जंगली हात्ती, सर्प, बिच्छी जस्ता विषालु जनावरहरूको बिगबिगी थियो । त्यसमाथि पनि हात्ती र घोडा चढेर भारतबाट डाँकाहरू लुट्न आउँथे । दुई चार लडिया धान लगेर बेच्न सम्भव थिएन । डाँकाले लुटिहाल्थे । गाउँभरिको धान जम्मा गर्ने र सय डेढ सय लडिया बनाएर एकैचोटि धान बेच्न जाने चलन थियो । धानको मूल्य पनि धेरै सस्तो थियो । एक लडिया धानको बढीमा १० रुपैंयाँ आउँथ्यो । तर १० रुपैयाँको महत्व ठूलो थियो । १० रुपैयाँले त त्यतिबेला एक बिघा खेत नै आउँथ्यो । पुनर्वास कम्पनीले बस्ती विकास नगर्दासम्म धान रोप्ने चलन थिएन, छर्ने चलन थियो । उव्जनी ज्यादै कम हुन्थ्यो ।
धानको उव्जनीबाट कुतसमेत तिर्न नसकेर कतिपय जिमिन्दारहरू टाट हुन्थे । उनीहरूको जमिन लिलामीमा चढ्थ्यो । नयाँ जिमिन्दारले किन्थ्यो । एक दुई वर्ष सुख्खा सिजन भयो भने ऊ पनि कुत तिर्न नसकेर टाट हुन्थ्यो । राम्रो वर्षा भएको सिजनमा एक कट्ठामा एक क्विन्टल धान फल्थ्यो । जब पुनर्वास सुरु भयो, तब कृषि कार्यालयले धान रोप्ने तरिका सिकायो । त्यसपछि त राम्रो वर्षा भएको सिजनमा एक कट्ठामा तीन क्वीन्टलसम्म धान फल्न थाल्यो । त्यसपछि किसानका दुःखका दिन हटे ।
(बाँके, रनियापुरका अव्दुल हाँकिफ मियाँ, जो १०२ वर्षीय जेष्ठ नागरिक पनि हुन्, उनीसँग कुराकानी गरेपछि यो आलेख तयार पारिएको हो ।)


