तरुण खबर
२३ श्रावण २०७८, शनिबार ०९:४१
जिल्ला सभापतिको भेलामा बढीमा २५ जिल्लाको सहभागिता हुने
काठमाडौं । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले साउन २५ गते जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
पौडल समूह निकट रहेका एक जिल्ला सभापतिका अनुसार २५ गतेको भेलामा कम्तिमा २५ जिल्लाका सभापतिहरु आउँने जानकारी दिए । कोभिड–१९ का कारण धेरै जिल्लाका सभापति आउन नसक्ने भएकाले अप्ठ्यारो भएको हो । उनले भने– स्थापनाको ७५ वर्षपछि बैधानिकता र नैतिकताको प्रश्न उठेको छ । हामीले भनेका छौं– पार्टीलाई यो संकटबाट मुक्त गरियोस् ।
तर सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक भने दुई दिनपछि अर्थात साउन २८ गते बस्ने भएको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताएका छन् । हिजो शुक्रबार साँझ १४औँ महाधिवेशन गर्ने सुनिश्चितता गर्न माग गर्दै बालुवाटार पुगेका चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, सरिता प्रसाईलगायतका नेताहरूसँग देउवाले यस्तो बताएका हुन् ।
केन्द्रीय सदस्यहरुले मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक इतिहास बोकेको पार्टीले वेलामा महाधिवेशन नगर्ने कुरा उपयुक्त हुँदै होइन । पार्टीको विधान र संविधानले दिएको सुविधासमेत उपयोग भइसकेको अबस्था छ, अब महाधिवेशनलाई सुनिश्चित गर्नुहोला– नेताहरूले देउवासँग आग्रह गरेका थिए ।
नेपाली काँग्रेसले हिजै विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो । बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २४ देखि पार्टीको वैधानिकता समाप्त हुने दावी गर्दै आएका छन् । जवकि संविधानमा एक पटक दर्ता भएको दल कहिलै खारेज नहुँने संविधान पौडेलहरुले नै बनाएका हुन् । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका छन् । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।
एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको जानकारी दिएका छन् । ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुन्छ,’ ती नेताले भने । अर्का एक जिल्ला सभापतिले भने भेला गर्ने बारे छलफल भइरहेको तर मिति र स्थान भने टुंगो नलागेको बताए ।


