टोकियो ओलम्पिकः ३० देशले जिते पदक

टोकियो ओलम्पिकः ३० देशले जिते पदक तरुण खबर २५ श्रावण २०७८, सोमबार ०८:५०
टोकियो ओलम्पिकः ३० देशले जिते पदक

काठमाडौं । जपानको टोकियो राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थितिबिनै ओलिम्पिक सम्पन्न भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए । उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान् उपहार आशा दिएको टिप्पणी गरेका थिए ।

कोभिड–१९ महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए । हमा ओलिम्पिकको झण्डा प्यारिसका मेयरलाई हस्तान्तरण गरियो, जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ । अरू अधिकांश प्रतिस्पर्धाझैँ फाइनल खेलहरू पनि एउटा रङ्गशालामा दर्शकहरूको उपस्थितिविनै भए । प्रतिस्पर्धामा गएका देशका खेलाडीहरूले सङ्गीत, नृत्य र झिलिमिलीबीच समापन समारोहमा उपस्थित जनाए ।

आयोजकहरूका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण मात्र १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन् । पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ भने त्यसभन्दा एउटा कम पाएको चीन दोस्रो स्थानमा रह्यो । आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो । टोक्यो ओलिम्पिक्समा सहभागी मुलुकहरुमध्ये ३० देशले पदक प्राप्त गरेका छन् । पदक प्राप्त गर्ने मुलुकहरुमा अमेरिकाल सबैभन्दा बढी ११३ पदकमध्ये ३९ वटा स्वर्ण, ४१ वटा रजत र ३३ वटा काँस्य पाएको छ भने दोस्रोमा चीन रहेको छ ।

उसले ८८ पदकमध्ये ३८ वटा स्वर्ण, ३२ रजत र १८ काँस्य पदक पाएको छ । आयोजक मुलुक जापानले ५८ पदक पाएकोमध्ये २७ स्वर्ण, १४ रजत र १७ वटा काँस्य पाएको छ । विभिन्न पदक पाउँने देशहरुमा बेलायत, रुस, अष्ट्रलिया, नेदरल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, क्यानडा, ब्राजिल, न्यूजिल्याण्ड, क्यूवा, हंगेरी, दक्षिण कोरिया, पोल्याण्ड, चेक गणतन्त्र, केन्या, नर्वे, जमैका, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, डेनमार्क, क्रोशिया, इरान, सर्विया, बेल्जियम र बुल्गेरियाले पाएका छन् ।