खोप लगाएपछि कलाकार खुशी

खोप लगाएपछि कलाकार खुशी तरुण खबर २५ श्रावण २०७८, सोमबार ०८:५६
खोप लगाएपछि कलाकार खुशी

काठमाडौं । सधैँजसो अभिनय तथा नक्कल गर्नमा व्यस्त रहने कलाकार तथा चलचित्रकर्मी भेरोसिल खोप पहिलो डोज लगाउन पाउँदा खुशी भएका छन् । नेपाल चलचित्र कलाकार सङ्घले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब १६०० चलचित्रकर्मीलाई खोपको व्यवस्था गरेको हो ।

ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको उक्त खोप लगाउने कार्यक्रममा उनीहरू संवेदनशील देखिन्थे । कोभिड–१९ का कारण यस क्षेत्रका आफ्ना साथीभाइ, शुभेच्छुक तथा आफन्तलाई गुमाउनु परेको पीडा बोध उनीहरूमा देखिन्थ्यो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको बताए । उनले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गरे ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा चलचित्रकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायत खोपसम्बन्धी प्रचारप्रसार गरेका थिए ।

सङ्घका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । वरिष्ठ कलाकार मोहन निरौलाले उक्त सङ्घले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गरे ।