बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको घुम्नै पर्ने स्थान

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको घुम्नै पर्ने स्थान तरुण खबर २५ श्रावण २०७८, सोमबार ०९:१९
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको घुम्नै पर्ने स्थान

परशु घिमिरे

काठमाडौं । बारा जिल्लाको सिम्रौनगड नगरपालिका वडा नम्बर ११ (साविकको कोचर्वा गाविस) बसबरियामा रहेको विशाल पोखरी देउतालको नामले चिनिन्छ । नेपाल–भारत सीमाना दशगजासँग जोडिएको देउताल ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । जसमध्ये २८ बिघा क्षेत्रफलमा पानी नै छ । बाँकी क्षेत्रफल पोखरीको डिल हो । जहाँ आँपको बगैँचा लगाइएको छ । यो डिलमा २००७ अगाडीको क्रान्तिमा तीन वटा सभाहरु भएका थिए । यो पोखरीको चलनचल्तीको नाम झरोखर पोखरी हो । तालबाट दक्षिणतर्फ करिब दुई सय मिटर दूरीमा भारतीय गाउँ झरोखर छ । त्यही गाउँको नामबाट झरोखर पोखरी नामाकारण गरिएको हो या झरोखर पोखरीको नामबाट उक्त गाउँको नामाकरण भएको हो ? भन्ने कुरा अझै एकीन छैन ।

यो पोखरी कसले र कहिले निर्माण ग¥यो ? भन्ने तथ्य भने हालसम्म फेला परेको छैन । सिम्रौनगढका राजाले आफ्नो दरबारको आसपासमा धेरै पोखरी निर्माण गरेको इतिहास फेला परेको छ । देउताल पोखरी पनि त्यही इतिहाससँग जोडिएको अनुमान केही वर्षअघि अवलोकन गर्न आएका इटालियन पुरातत्वविद्हरूले गरेको स्थानीय बासिन्दा बताउँछन् । विगतमा पोखरीको डिल धेरै अग्लो रहेको र रातिको समय पोखरीको डिलबाट हेर्दा करिब सात किलोमिटर पर रहेको भारतीय बजार घोडासहनमा रेल कुदेको देखिने गरेको स्थानीय बुढापाकाहरू बताउँछन् । तर अहिले पोखरीको डिल धेरै होचो भइसकेकाले नगरपालिकाले पर्खाल तथा तारबार लगाएर संरक्षण गरिसकेको छ । साथै, पोखरीको डिलमा भ्युटावर निर्माण गर्ने तयारी पनि नगरपालिकाले गरेको छ ।

भर्खरै पोखरीको डिलमा नगरपालिकाले साधारण सभाहलसहितको दुईतले पक्की भवन निर्माण गर्दैछ । स्थानीय गाउँमै जन्मेर २००७ सालको जनक्रान्तिमा ठूलो योगदान पु¥याएका नेपाली कांग्रेसका पुराना नेता एवं २०१५ सालको निर्वाचनमा सांसद बनेका भागवत यादवको अन्त्येष्टि यही पोखरीको डिलमा गरिएको थियो । दिवंगत नेता यादवको सम्झनास्वरूप उक्त स्थानमा पूर्णकदको शालिक तथा पार्क निर्माण गर्ने कामको थालनी नगरपालिकाले गरिसकेको छ । पोखरीको डिलमा लगाइएका आँपका रुख अधिकंश बुढा भएर ढलिसकेका छन् । बेलैमा यसको रोकथामका लागि पुनः नयाँ बिरुवा रोपेर आँपको बगैंचा निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेका छ । यस वर्ष मात्रै एक हजारवटा आँपका बिरुवा रोपिएका छन् ।

ऐतिहासिक मात्रै होइन, पुरातात्विक महत्व बोकेको निकै आकर्षक देउताल पोखरीले यस क्षेत्रको पर्यटनलाई ठूलो टेवा पु¥याउने आंकलन सजिलै गर्न सकिन्छ । तर पर्यटकीय पूर्वाधार निर्माणको अभावका कारण उक्त पोखरीले अहिले दिइरहेको आम्दानी भनेको माछा पालन तथा बगैंचाका आँप बिक्री नै हो । रुखहरू पुराना भइसकेकाले आँपको बगैंचाले खासै आम्दानी दिन सकेको छैन । वार्षिक एक–डेढ लाख रुपैयाँमा ठेक्का लाग्ने गरेको मेयर विजयशंकर यादवले बताएका छन् । माछा पालनले भने नगरपालिकालाई निकै राम्रो आम्दानी दिइरहेको छ । उक्त पोखरीमाछा पालनका लागि पाँच वर्षअघि टेन्डर गर्दा अग्रिम ९३ लाख रुपैयाँ भाडामा लागेको थियो । पाँच वर्षको म्याद अब सकिँदै छ । अब टेन्डर गर्दा पाँच वर्षको कम्तीमा दुई करोड रुपैयाँ भाडामा लाग्ने अनुमान मेयर यादवको छ ।

देउतालका संरक्षण र विकासका लागि चालू आर्थिक वर्षको बजेटमा प्रदेश २ सरकारले ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो । अहिले भइरहेको काम यही बजेटको हो । संघीय सरकारको सहरी विकास मन्त्रालयले तयार गरेको डिपीआरअनुसार नै काम अघि बढेको छ । यसैगरी गढीमाई, सिम्रौनगढ र देउताल पोखरीलाई एक आपसमा जोडेर पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश २ सरकारले चालू आर्थिक वर्षको बजेटमा एक अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

कंकाली मन्दिर
सिम्रौनगढ बजारको दक्षिण पूर्वतर्फ पुरातात्विक महत्वको प्रसिद्ध कंकाली माईको मन्दिर छ । तर यो मन्दिर कहिले निर्माण गरियो ? भन्ने एकीन छैन । ऐतिहासिक सिम्रौनगढ दरबार निर्माणसँगै यो मन्दिर निर्माण गरिएको हो या यो मन्दिरको पवित्रतालाई मध्यनजर राख्दै मन्दिर नजिकै सिम्रौनगढ दरबार तथा किल्ला निर्माण गरिएको हो ? भन्ने कुरामा पुरातत्वविद्हरूको फरक–फरक धारणा रहेको स्थानीय पत्रकार रामेश्वर मेहता बताउनुहुन्छ ।

कंकाली माईको मन्दिर शिखर शैलीको छ । मन्दिरभित्र समपादस्थ मुद्रामा देवीको मूर्ति राखिएको छ । चिल्लो कालो पत्थरबाट बनेको यो मूर्ति तुर्कहरूको प्रहारबाट क्षतविक्षत भएको छ । तर पनि तीनतिरबाट आड दिएर यो मूर्तिलाई पूर्ववत् स्थितिमा राखिएको छ । यो मन्दिर अगाडि रहेको घन्टामा ल.स. ११९ अर्थात् वि.सं १३४० कँुदिएको छ ।

सिम्रौनगढ राज्यको अस्तित्व लोप भएपछि भग्नावशेषमा परिणत भएको कंकाली माई मन्दिरको पुननिर्माण वि.सं १९३५ सालमा भएको हो । स्थानीय बुढापाकाहरूका अनुसार त्यसभन्दा अघि मन्दिरको भग्नावशेषलाई कंकाली माईको स्थान भनिन्थ्यो । मन्दिरको आसपासमा पुरातात्विक महत्वका अरु सम्पदा पनि फेला परेका कारण यस क्षेत्रको ऐतिहासिकता सिम्रौनगढ दरबारको इतिहाससँग प्रत्य जोडिएको अनुमान लगाउन सकिन्छ । मन्दिरभन्दा दक्षिण पूर्वमा करिब आठ बिघा क्षेत्रफलको सुन्दर पोखरी छ । जसलाई इसरा पोखरी भनिन्छ । पोखरीको सौन्दर्यताका लागि प्रदेश २ को सरकारले ६ करोड ६५ लाख बजेट निकासा गरी टेन्डरसमेत गरिसकेको छ ।

डिलसमेत पोखरी परिसरको क्षेत्रफल ४५ बिघाको छ । तर पानीले ओगटेको करिब आठ बिघाबाहेक अरु जग्गाको समुचित सदुपयोग हुन सकेको छैन । अतिक्रण तीव्र भएको छ । तत्कालीन राजा शिवसिंह देवले आफ्नी प्रियसी इसराको इच्छाअनुसार उक्त पोखरी निर्माण गरेको कंकाली मन्दिरका महन्थ मिलन गिरीले बताए । शिवसिंह देवले १२औं शताब्दीमा सिम्रौनगढको राजपाठ सम्हालेका कारण उक्त पोखरी पनि १२औं शताब्दीकै भएको अनुमान लगाउन सकिन्छ ।

पोखरीको डिलमा फेला परेका विष्णु, सूर्य, हनुमान, पार्वती र शंकरका पुराना मूर्तिहरूलाई केही वर्षअघि इटालियन पुरातत्वविद्हरूले अनुसन्धान गरेका थिए । यी मूर्तिहरू कम्तीमा एक हजार वर्ष पुराना रहेको अनुसन्धानबाट प्रमाणित भएपछि गुठी संस्थानद्वारा भवनभित्र ताला लगाएर राखिएको छ । भक्तजनहरूले बाहिरैबाट पूजाआजा गर्दै आएका छन् । पालिका वा प्रदेश सरकारहरुले अझै व्यवस्थित गर्न सकिरहेको छैन ।

राजधानी काठमाडौं उपत्यकामा मल्लकालमा निर्माण गरिएका मन्दिरमा राखिएका मूर्तिहरू र यी मूर्तिहरूको निर्माण शैली एउटै छ । काठमाडौं उपत्यकाका पुरातात्विक मूर्तिहरू र सिम्रौनगढ क्षेत्रका पुरातात्विक मूर्तिहरू एकै समय र एकैखालका कालिगढहरूले निर्माण गरेका हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ । यथाशीघ्र मन्दिरहरू निर्माण गरी यी मूर्तिहरूलाई मन्दिरमा राख्ने र पूजा–आजाको व्यवस्था गर्ने तयारी नगरपालिकाले गरेको छ । नजिकै रहेको इसरा पोखरीलाई गुठी संस्थानले पाँच वर्षको दुई करोड रुपैयाँ पाउने गरी भाडामा लगाएको छ । यही आम्दानीले यी मन्दिरहरूको पूजाआजाको व्यवस्था तथा पूर्वाधार निर्माण गर्न पुग्ने देखिन्छ । तर गुठी संस्थानमा जाने उक्त रकम पुनः फर्किन नसकेको कंकाली माईका पुजारीले बताए ।

सिम्रौनगढको बीच भागमा स्थापना गरिएको कंकाली मन्दिर इँटाद्वारा निर्माण गरिएको शिखर शैलीमा छ । मन्दिरको चारैतिर चतुष्कोणाकारको भवनको बीचमा शिखर उठेर माथिसम्म चुलिएको छ । मन्दिरको चारैतिर खुल्ला गुम्बजाकारको प्रवेशद्वार निर्माण गरिएको छ । मन्दिरभित्र १२० से.मि. को अग्लो मञ्च बनाइएको छ, जसमाथि पूर्वतिर फर्काएर कंकालीको मूर्ति प्रतिष्ठापित गरिएको छ । सम्पूर्ण भाग इँटाबाट निर्मित यस मन्दिरको गाह्रो ७५ से.मि.चाक्लो छ । मन्दिरको दलिनमा विभिन्न चित्रहरू बनाइएको छ । यस मन्दिरको निर्माण मान्साराम बाबाले सन् १८१६ भन्दा अगाडि नै सानो आकारमा गरेका थिए । पछि उनका चेला रामसेवक दासले सन् १९६७ अहिलेको मन्दिर निर्माण गरेका थिए भन्ने भनाइ पनि छ ।

मन्दिरमा रहेका कंकालीको मूर्ति कालो प्रस्तरमा कुँदिएको छ । मूर्तिको गोलाकार अनुहार, ठूला आँखा, पुष्ट छातीले त्यसबेलाको विशेषतालाई दर्शाउँछ । देवीको गालामा हार, कानमा गोलाकार कुण्डल, कम्मरमा हार जडेको चेप्टो पेटी छ । शान्त सौम्य मुद्रामा रहेको यो मूर्तिले कलामा छुट्टै स्थान ओगटेको छ ।

यहाँ वर्षको एकचोटि चैत महिनामा रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ । सामान्य रूपमा भक्तजनहरूको आउने क्रम दिनहुँ नै रहन्छ । अहिले पनि यो क्षेत्रमा कंकाली माताको ठूलो महिमा छ भनिन्छ । त्यसैगरी चिताएको फल देवीले पूरा गर्छिन् भने जनविश्वास छ । यस क्षेत्रमा पानी नपर्दा यहाँका महिलाहरूद्वारा कंकाली माताको पूजाआजा गरेपछि पानी पर्ने गर्दछ भन्ने विश्वास गरिन्छ ।
कंकाली मन्दिर प्रांंगणमा विभिन्न देवीदेवताका अन्य मन्दिर रहेका छन् । प्रांगणमा रहेका मान्साराम बाबाको मन्दिर ३ मिटर उचाइ, ५.४७ मिटरको चतुष्कोणाकारमा निर्माण गरिएको छ । मन्दिरभित्र मान्साराम बाबाको समाधिस्थल छ । समाधि अगाडि एक जोर खराउ छ, जसलाई मान्सा बाबाको खराउ भनी पूजा गरिन्छ । प्रांगणमा शिव, पार्वती, हनुमान, विष्णु, विश्वकर्माको मन्दिर रहेका छन् ।

सिम्रौनगढका केही मूर्ति र दरबारका अवशेषलाई राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहित गरिएको छ । राष्ट्रिय संग्रहालयमा सिंहबाहिनी दुर्गा, सप्तअश्वरथ सवार सूर्यमूर्ति र ब्रम्हाको मूर्ति संरक्षित छ । सिम्रौनगढको तोरणद्वारको टुक्रा संग्रहालयको भित्री गेटमै राखिएको छ । यस क्षेत्रको सयौं बिघा सार्वजनिक जग्गामा सिम्रौनगढ बजार बसको छ । बजारमा करिब एक हजार घरहरू छन् । साथै पोखरीको किनारमा साताको एक दिन विशाल हाटबजार पनि लाग्ने गर्छ । तर नगरपालिकाले यस क्षेत्रबाट खासै आम्दानी लिन सकेको छैन ।

रानीवास मन्दिर (दरबार)
यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि सिम्रौनगढ क्षेत्रको मुख्य आकर्षणको केन्द्र भनेकै रानिवास मन्दिर (दरबार) हो । सिम्रौनगढ बजारबाट एक किलोमिटर उत्तरमा रहेको यो मन्दिर तथा दरबार तत्कालीन श्री ३ जंगबहादुर राणाका छोरा जगतजंग राणाले वि.सं १९३५ मा निर्माण गरेका हुन् । यो मन्दिर र दरबारको परिसर ६ सय बिघा क्षेत्रफलमा फैलिएको छ । तर करिब दुई सय बिघा जग्गा अतिक्रमण भइसकेको छ । बाँकी रहेका जग्गा भने तारबार लगाएर जोगाइएको छ ।

वि.सं. १९३३ मा श्री ३ जंगबहादुर राणाले सिम्रौनगढमा सिकार क्याम्प सकेर फर्कदा पत्थरघट्टा भन्ने ठाउँमा उनको मृत्यु भएको थियो । उनकी रानी हिरण्यकुमारी सती जाने बेलामा व्यक्त गरेको इच्छाबमोजिम उनका छोरा जगतजंगले यो मन्दिरको निर्माण गरेका थिए । जुन कुरा यहाँको घण्टामा समेत उल्लेख छ ।

मूल मन्दिर तीन तहको पेटिमाथि बनेको छ, जसको चारैतिर खुल्ला प्रदक्षिणा भाग छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका धातुका सुन्दर कलात्मक मूर्तिहरू प्रतिस्थापित छन् । अगाडि जंगबहादुर, हिरण्यकुमारीलगायत परिवारका सदस्यहरूको प्रतिमा रहेका छन् । मन्दिरको प्रांगण वरिपरि दुई तल्लामा चतुष्कोणाकारका धर्मशाला बनेका छन् । मन्दिर निर्माणमा त्यहाँका भग्नावशेषहरू प्रयोग भएको देखिन्छ । अहिले पुनर्निर्माणको काम भइरहेको छ ।

समय–समयमा प्राप्त भएका मूर्तिले सिम्रौनगढको महत्वलाई झन् बढाइदिएको छ । यहाँका मूर्तिकलाका रचनाहरूले सिम्रौनगढको सांस्कृतिक समृद्धिलाई पुष्टि गर्दछ । यहाँको मूर्तिकलाले आर्थिक रूपले समृद्ध यो राज्यमा कला र साहित्यले भरपूर उन्नति गर्ने मौका पाएको स्पष्ट हुन्छ । मूर्तिहरू हिन्दू धर्म संस्कृतिसँग सम्बन्धित रहेको हुनाले यस क्षेत्रमा हिन्दु धर्मालम्बीहरूको बाहुल्यता रहेको प्रमाणित हुन्छ । अनन्त शान्ति, ऐश्वर्य, करुणाले धपक्क बलेको, अलौकिक भाव र मुस्कानयुक्त चिल्ला काला ढुंगामा कुदिएका मूर्तिहरूले यहाँको कलाको स्वतन्त्र र मौलिक शैलीलाई प्रस्तुत गर्दछ ।

करिब १५० वर्षको इतिहास बोकेको रानीवास दरबार यतिबेला भग्नावशेषमा परिणत भइसकेको छ । जगतजंगले निर्माण गरेको कृष्ण, शंकर, राम र हुनुमानका मन्दिरहरू भने संरक्षित अवस्थामा छन् । मन्दिरमा नियमित पूजा–आजा हुने गर्छ । कृष्ण मन्दिरका पुजारी नागेन्द्र गिरीका अनुसार यहाँ निकै विशाल दरबार र दरबारको मुख्य चोकमा यी चारवटा मन्दिर रहेका थिए । दरबार भत्कियो, मन्दिर बाँकी छन् ।
इटालियन पुरातत्वविद्हरूले प्राचीन सिम्रौनगढ दरबारकै भग्नावशेषमाथि जगतजंगले रानीवास मन्दिर निर्माण गरेको अनुमान गरेका छन् । जसका कारण सिम्रौनगढको ऐतिहासिकता संरक्षित भए पनि उत्खनन्मा समस्या परेको कृष्ण मन्दिरका पुजारी गिरी बताउँछन् । गिरी भन्छन्– ‘सिम्रौनगढ दरबार मुसलमानहरूको आक्रमणमा परी ध्वस्त भए पनि कृष्ण मन्दिर भने बाँकी नै थियो । जंगबहादुर राणा सिकार खेल्न आउँदा कृष्ण मन्दिरको दर्शन गरे । दर्शनपछि उनको मनोकांक्षा पूरा भयो । आफ्नो मनोकांक्षा पूरा भएपछि उनले कृष्ण मन्दिर नजिकै राम मन्दिर निर्माण गरे, राम मन्दिर निर्माणसँगै हनुमान मन्दिर पनि निर्माण गरे । त्यसपछि उनका छोरा जगतजंगले शंकरको मन्दिर निर्माण गरे । यी चारवटै मन्दिर मूल चोकमा पर्ने गरी विशाल सतल निर्माण गरे ।

वीरगन्जबाट ३८ किलोमिटर पूर्व तथा कलैयाबाट २२ किलोमिटर दक्षिण पूर्व तथा गौरबाट करिब २२ किलोमिटर पश्चिममा रहेको रानीवास मन्दिर भारतीय सिमानाबाट दुई किलोमिटर उत्तरमा पर्छ । मन्दिर तथा दरबार दर्शनका लागि दैनिक सरदर दुई सय पर्यटक आउँछन्, तर यहाँ बास बस्दैनन् । शनिबारका दिन दर्शनार्थीहरूको घुइँचो हुन्छ । नेपालबाट मात्रै होइन, भारतबाट पनि शैक्षिक भ्रमणमा विद्यार्थीहरू आउने क्रम बढेको छ । पर्यटकहरू बास बस्ने होटल तथा लजको अभाव छ । खासगरी रामनवमी र कृष्णअष्टमीका दिन यहाँ धेरै नै ठूलो मेला लाग्छ ।

पाँचजना प्रहरी तैनाथ गरिएको एउटा चौकी र एउटा आयुर्वेद औषधालयबाहेक यो परिसरमा सरकारको उपस्थिति देखिँदैन । वीरगन्ज, कलैया, गौर र भारतीय सिमानासम्म पक्की सडकले जोड्ने हो भने यस क्षेत्रमा पर्यटकहरूको आगमन ह्वात्तै बढ्ने सम्भावनालाई मध्यनजर राख्दै आफूले पहल सुरु गरिसकेको नगरपालिकाका मेयर विजयशंकर यादवले बताउनुभयो । नगरपालिका क्षेत्रभित्रका गाउँ तथा बजारहरूबाट यस क्षेत्रमा पुग्न पक्की सडक निर्माणको काम नगरपालिकाले आरम्भ गरिसकेको छ ।