तरुण खबर
२७ श्रावण २०७८, बुधबार ११:३७
काभ्रेपलाञ्चोक जिल्ला देशको राजधानी काठमाडौंबाट साँगा पुग्न २१ किलोमिटर पूर्वमा छ भने सदरमुकाम धुलिखेल ३१ किलोमिटर दूरीमा रोशी गाउँपालिका छ । जिल्लाको सदरमुकाम धुलिखेलबाट २५ किलोमिटको दूरीमा रहेको रोशी गाउँपालिकामा ऐतिहासिक र धार्मिक हिसावले पवित्र ठाउँ हो । बौद्ध धर्मप्रति आस्था राख्नेहरु नै बहुमतमा छन् । काठमाडौंबाट बनेपा, धुलिखेल, भकुन्डेबेसी हुँदै रोशी गाउँपालिकाको कार्यालय रहेको कटुञ्जेबेसी बजार सार्वजनिक बसबाट पुग्न सकिन्छ । ५, ६, ७, ८, ९, ११ र १२ नम्बर वडा बीपी राजमार्गको ५५ किलोमै झरेर जान सकिने सुविधा पनि छ । हाल गाउँपालिकाको कार्यालय भएको कटुञ्जेबेंसी पुग्न सार्वजनिक यातायातको सुविधा सजिलै पाइन्छ । चार सय मिटरका बेंसीदेखि महभारत शृंखला २१ सय मिटरदेखि २९ सय मिटरसम्मको उचाइ भएकाले जाडो या गर्मीमा न्यानो कपडा बोक्नै पर्ने हुन्छ ।
साबिकको सिपाली चिलाउने गाविसलाई रोशी गाउँपालिकाको वडा नम्बर ६ का रूपमा संरचना गरिएको छ । ३३ सय जनसंख्या रहेको यो वडा क्षेत्रफलका हिसाबले रोशी गाउँपालिकाकै सबैभन्दा ठूलो हो । वडाको क्षेत्रफल २६ दशमलव १९ वर्गकिलोमिटर रहेको छ । पालिकाका १२ वडामध्ये बीपी राजमार्गले नछोएको वडा यो पनि हो । यो वडा बीपी राजमार्गबाट नौ किलोमिटर दक्षिणमा पर्छ । बीपी राजमार्गले रोशी गाउँपालिकाका वडा नम्बर १, २, ३, ५, ६ र १० लाई छोएको छैन ।
तामाङ जातिको ठूलो बाहुल्य रहेको यो वडामा ८७ प्रतिशत जनता साक्षर छन् । तीन आधारभूत र दुई माध्यमिक गरी पाँचवटा विद्यालय छन् । हिमालय माविमा ३३५ र हरिसिद्धि माविमा २८७ विद्यार्थी छन् । आधारभूत विद्यालयतर्फ कालीदेवीमा ५७, चम्पादेवीमा ४२ र ठाकुरस्थानमा ४७ जना विद्यार्थी छन् । विद्यालयमा शिक्षकको संख्या अपुग छ ।
करिब ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् । प्रायःजसोकोे घरमा भैंसी पालिएको छ । किसानहरूले दूध बेचेर राम्रै गुजारा चलाएका छन् । वडा नम्बर ६ बाट दैनिक २८ सय लिटर दूध निर्यात गरिन्छ । बाख्रापालनबाट पनि कृषकहरूले राम्रो आम्दानी लिएका छन् । वर्षको पाँच–सात सय खसीबोका यहाँबाट निर्यात हुन्छ । दैनिक दुई–तीन गाडी तरकारी निर्यात हुन्छ ।
महाभारत लेकको धेरै भूभाग भएका कारण जडीबुटीको सम्भावना छ, तर व्यवसायीकरण हुन सकेको छैन । महाभारत क्षेत्रमा पदमार्गको सम्भावना छ । यसका लागि प्रयास सुरु भएको छ । २२०० मिटर उचाइको सिन्डिलेकमा भ्युटावर निर्माणको प्रक्रिया अघि बढाइएको छ । त्यहाँ दुईवटा ऐतिहासिक मन्दिरहरू पनि छन् । शिव मन्दिर रहेको थुम्को नजिकैको अर्को थुम्कोमा बुद्धको मूर्ति राख्ने प्रक्रिया अघि बढाइएको छ । धेरै पुरानो कानेगाउँ यही वडामा पर्छ । बीउबिजन उत्पादनका दृष्टिले प्रसिद्धि पाएको कानेगाउँमा महाभारतको लडाइँ भएको किंवदन्ती छ । धेरै पुराना अवशेषहरू पाइएका पनि छन्, तर पुरातत्वविद्हरूलाई ल्याएर अध्ययन गर्ने काम भने बाँकी छ, जसका लागि वागमती प्रदेशले १० लाख बजेट विनियोजन गरिसकेको छ । मानव निर्मित गढी सिद्धिका सुरक्षा हेतु बनाइएको अनुमान स्वतः गर्न सकिन्छ । करिव २४०० मिटर उचाइमा रहेको गढीको वरिपरि पानी जम्ने खाडल खनिएको छ भने यत्रतत्र गोलीका टुक्राहरू अहिले पनि पाइन्छन् ।
वडाका सबै गाउँहरूमा कच्ची सडक पुगिसकेको छ । साबिकको सिपाली चिलाउनेको वडा नम्बर ६ केही गाउँ बाहेक अन्यमा विद्युतीकरण पनि भइसकेको छ । बाँकी ठाउँमा पनि विद्युतीकरणको प्रक्रिया अघि बढिसकेको छ । यो वडा राजनीतिक रूपमा पनि सचेत तथा पहुँच भएको मानिन्छ । पूर्वसांसद तीर्थ लामा र पूर्वजिविस सभापति यदुमन शाह यही वडाका हुन् । यो वडाको जक्सन प्वाइन्ट कटुञ्जेबेसी नै हो ।
हामी जनप्रतिनिधिको रूपमा आइसकेपछि यो वडामा धेरै गुणा बढी विकास भएको वडाका जनताहरु नै बताउँन थालेका छन् । मैले दाबी मात्रै गरेको होइन, स्थलगत अध्ययन गरे पनि हुन्छ । पालिकाभित्रको करिब पाँच सय किलोमिटर सडकमध्ये करिब दुई सय किलोमिटर सडक यही चार वर्षमा बनेको हो । वडा कार्यालय भवनहरू धमाधम बन्दैछन् । ६ नम्बर वडा कार्यालय भवनको उद्घाटन कोभिड–१९ का कारण रोकिएको हो । निर्माण सम्पन्न भइसकेको पनि छ आठ महिना भैसकेको छ । भूकम्प प्रभावितमध्ये काभ्रे जिल्ला ख श्रेणीमा परेको छ । त्यतिबेला रोशी गाउँपालिकाका ८६ प्रतिशत घरमा क्षति पुगेको थियो । पुनर्निर्माणको काम ९९ प्रतिशत सकिएको छ । बाँकी एक प्रतिशत नसकिनुको कारण घर बनाउने जग्गाको अभाव हो । यसका लागि गाउँपालिकाले पहल गरिरहेको छ ।
(नेपाली काँग्रेसबाट चुनाव जितेका पद्मबहादुर लामा ६ नम्बरका वडाध्यक्ष हुन् । उनलाई रोशी गाउँपालिकाले प्रवक्ताको समेत जिम्मेवारी दिएको छ । उनीसँग केही समयअघि कुराकानी गरेका थियौं)


