हाम्रो आवश्यकता, स्रोतको परिचालन र विकासमा वडा

हाम्रो आवश्यकता, स्रोतको परिचालन र विकासमा वडा तरुण खबर २८ श्रावण २०७८, बिहीबार १०:०२
हाम्रो आवश्यकता, स्रोतको परिचालन र विकासमा वडा

मिलन लामा

प्रदेश ३ अन्तर्गत पर्ने काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिकामध्ये रोशी गाउँपालिका एक हो । काभ्रेको रोशी गाउँपालिकाको वडा नम्बर ११ साबिकको भीमखोरी गाउँ विकास समितिका १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर बनाइएको हो । २०६८ जनगणना अनुसार ४ हजार ३८२ जनसंख्या रहेको यो वडाको मतदाता संख्या करिब १३०० मात्र छ । एउटा उच्च मावि, दुईवटा मावि, एउटा आधारभूत निमावि र पाँचवटा प्राथमिक विद्यालय रहेको यो वडामा विद्यार्थीको संख्या १,११६ छ । ठूलो क्षेत्रफल भएकाले स्कूलहरु धेरै देखिएको हो । शिक्षक दरबन्दी गाउँपालिकास्तरीय समायोजनपछि २७ पुगेको छ । विद्यार्थी संख्याको तुलनामा यो शिक्षक दरबन्दी पनि नगन्य हो । शिक्षा सेवा आयोग पास गरेर आएका अधिकांश शिक्षकहरूले नै आप्mनो शिक्षाप्रति विश्वास राख्न सकेका छैनन् भने यी बालबालिकाको भविष्य कसरी सुन्दर होला ? हामीलाई चिन्ता लाग्नु स्वाभाविक हो । मैले यो तीतो कुरा किन उठाइरहेको छु भने हाम्रा केही शिक्षकहरू आफूले पढाउने विद्यालयमा आप्mना छोराछोरी पढाउँदैनन् । उनीहरू सुविधासम्पन्न विद्यालय खोज्दै हिँड्छन् ।

करिब ६ किलोमिटर पक्की सडक अर्थात् बीपी हाइवेले छुने यो वडालाई सुगममा गणना गरिए पनि अधिकांश भाग दुर्गमझैं छन् । पञ्चायतकालमै प्रहरी चौकी, स्कुललगायतका कार्यालय रहेको मंगलटार कटेपछिको पहिलो बजार कालढुंगा हो । यहाँ ६०–६५ घर छन् । सार्वजनिक जग्गामा बसेको यो बजारलाई व्यवस्थित गर्नु हाम्रा लागि चुनौती छ । वडा कार्यसमितिका सदस्यहरूले पनि बेलाबखत यसबारे कुरा उठाइरहनु हुन्छ ।

बीपी हाइवेमै पर्ने गरी डम्फु पार्क र औद्योगिक ग्राम बनाउने योजनाअनुसार हामीले जग्गा छुट्ट्याएका छौं । डम्फु पार्कका लागि ३५ रोपनी र औद्योगिक पार्कका लागि ६० रोपनी जग्गा छुट्ट्याइएको छ । डम्फु पार्कको गुरुयोजना बनाएर मन्त्रालयमा पेस भइसकेको छ भने औद्योगिक ग्रामको काम अगाडि बढाउने योजनामा लागिरहेका छौं । साबिकको भीमखोरी गाविस लेकदेखि बेंसीसम्म जोडिएकाले यहाँ कोल्डस्टोरको आवश्यकता महसुस गरिएको थियो । किसानहरूको मागअनुसार जापान सरकारको सहयोगमा तीन रोपनी क्षेत्रफल भएको जमिनमा कोल्डस्टोर पनि बन्दैछ । रोशी गाउँपालिकाको ११ नम्बर वडा जलस्रोतका हिसाबले धनी नै भन्नुपर्छ । किनभने आर्थिक स्रोत भयो भने यहाँको मिनरलयुक्त पानी विदेश निकासी गर्न सकिन्छ । १.५ किलोवाटदेखि १९ किलोवाटसम्मका सातवटा लघुजलविद्युत् योजना यही वडामा सञ्चालनमा छन् भने ढुंगाखानीलाई ठूला उद्योगको रूपमा सञ्चालन गर्न सकिन्छ । अहिले पनि दुईवटा रोडाढुंगा (क्रसर) उद्योग चलिरहेकै छन् । यसलाई व्यवस्थित ढंगले विदेशी लगानी भित्र्याउने हो र एक्सपोर्ट क्वालिटीको ढुंगा उत्पादन गर्ने हो भने रोशी गाउँपालिकाको मात्र होइन, देशकै राजस्वमा यो वडाले योगदान दिन सक्छ भन्ने हाम्रो विश्वास छ । आर्थिक अभावकै बीचमा हामीले करमडाँडा, माम्ती, डालाबेसी, पिप्ले, गाउँटोलमा कच्ची सडक पु¥याइसकेका छौं भने मध्यपहाडी क्षेत्रका अमलबास, पुरानो गाउँ, भैंसे, छहरे, मिनदुप्पामा पनि कच्ची सडक पुगेको छ । जुगेपानी, कातार्चे, पौवा, मास्लो छहरे, रामरिमजस्ता उच्च पहाडी भेगसम्म सडक र खानेपानीको सुविधा पु¥याइएको छ । कातार्चे यस वडाको अन्तिम बस्ती हो ।

कर्मपुण्य सामुदायिक वन हाम्रो वडाको प्राकृतिक स्रोत हो । यहाँ सल्लाको घना जंगल छ । भ्याकुरे खोलाबाट सुरु भएको यो जंगल बीपी हाइवे हुँदै माम्ती खोलासम्म पुग्दा १६४ हेक्टर छ । जनताको आयवृद्धिका लागि हामीले यो जंगललाई सदुपयोग गर्न सक्छौं । त्यस्तै, माम्दी र पिप्लेको घना जंगलमा हरेक सालजस्तै डँढेलो लाग्ने गर्छ, यसको नियन्त्रणका लागि राज्यस्तरबाटै सोच्नुपर्ने देखिन्छ ।

यही वडामा माम्दी भीमसेन र कालीको मन्दिर छ । माम्दी भीमसेनमा विशेष शक्ति रहेको विश्वासमा काठमाडौं, भक्तपुर, पाटन, दोलखादेखिका भक्तहरू दर्शन–पूजापाठका लागि आउने गर्छन् । श्री ऊँ आद्यमहाशक्ति गोरक्षकालीबाला आध्यात्मिक योगपीठ नेपालको संरक्षणमा रहेको काली मन्दिरको दियो विगत ५० वर्षदेखि बलिरहेको छ । यही वडाको पिप्लेमा रहेको यो मन्दिरका लागि गत वर्ष सरकारले ४० लाख दिएको थियो भने यो वर्ष सडक निर्माणका लागि ५० लाख बजेट दिएको छ । त्यस्तै, हालसालै रोशी गाउँपालिका डालबेसीमा महादेवको मूर्ति रोशी खोलामा फेला परेको छ । बग्दै गरेको खोलामा स्कुले भाइबैनीले नुहाउँदा देखेपछि उनीहरूले खबर गरेका हुन् । उक्त ठाउँमा जलकुण्ड र मन्दिर बनाउने तयारी गाउँपालिकाले गरेको छ ।

बीपी हाइवेमा बजार विस्तारको सम्भावना छ भने कृषि र पर्यटन हाम्रो भविष्यको समृद्धिको आधार बन्न सक्ने देखिन्छ । बजार विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदनका आधारमा काम गर्नुपर्ने अवस्था भए पनि आर्थिक अभावका कारण हामीले खुम्चिएर बसिरहनु परेको छ । महाभारत जंगलसँग जोडिएको यो वडाको खाद्यबाली पाक्न ६–७ महिना लाग्छ । तर वर्षको तीन बाली लाग्ने ठाउँको खाद्यान्न र सात महिनामा पाक्ने खाद्यान्नको बजार मूल्य एउटै हुँदा यहाँका किसानहरू बसाइँ सर्दै पलायन हँुदै विकल्पको खोजीमा लागेका छन् ।

पर्यटन विकासको अत्यधिक सम्भावना बोकेको चौकीडाँडामा होमस्टे वा होटलको व्यवस्था गर्नसके घुमघामका लागि कार्यक्रम बनाउन सकिन्छ.। चौकीडाँडामा अधिक दूध उत्पादन हुन्छ । करिब २१०० मिटर उचाइ रहेको यही स्थानमा धेरै वर्षअधि दुग्ध विकास संस्थानले स्विस सरकारको सहयोगमा चीज कारखाना स्थापना गरेको छ । यहाँका किसानले उत्पादन गरेको अधिकांश दूध संस्थानले लिने गरेको छ भने निजी क्षेत्रका डेरीहरूले पनि दूध संकलन गरी काठमाडौं लाने गरेका छन् । त्यस्तै, तरकारी खेतीका लागि पनि यो ठाउँको सम्भावना छ । हप्तामा तीन मिनीट्रक तरकारी बिक्रीका लागि काठमाडौंको कालिमाटी लाने गरिए पनि किसानको मेहनत, लगानी र बजारका हिसाबले दयालाग्दो अवस्था भन्नुपर्ने हुन्छ ।

अहिले किसानहरूले निर्वाहमुखी खेती गरिएका छन् भने व्यावसायिक खेतीको पनि सम्भावना छ । केही व्यक्तिहरूले यही वडाको कर्मडाँडा, माथ्लो छहरे, भैंसेलगायतका ठाउँमा बुद्धचितको खेती पनि गरेका छन् । १५–२० घर–परिवारले गरेको यो खेतीबाट उनीहरूले राम्रो आम्दानी पाएका छन् । तर यसलाई स्थायी आम्दानीको स्रोत बनाउन सकिँदैन कि भन्ने जनताको चिन्ता छ । आम्दानीको स्रोतलाई स्थायी गर्न राज्यले लगानी र बजारको खोजी गरिदियो भने किसानले चिन्ता गर्नुपर्ने थिएन । करिब ६० प्रतिशत तामाङ जाति रहेको यो वडामा बाहुन–क्षेत्री, मगर, दलित, भुजेल, अल्पसंख्यक मानिने दुई घर पहरी र एक घर शेर्पाको बसोबास छ । परम्परादेखि जातीय हिसाबले बनाइएका पौवाका सातवटा पानी भर्ने कुवालाई संरक्षण गरेर राखेका छौं र त्यहाँ महदेवको मन्दिर आधुनिक ढंगले बनाई संरक्षणसमेत गरिएको छ ।
(काभ्रे, रोशी गाउँपालिका–११ का अध्यक्ष मिलन लामासँग गरिएको कुराकानीमा यो लेख तयार गरिएको हो । उनी नेपाली काँग्रेसबाट विजयी भएका हुन् ।)