२०२७ सालमै स्थापना भएको काभ्रेको रोशी चीज कारखाना

२०२७ सालमै स्थापना भएको काभ्रेको रोशी चीज कारखाना तरुण खबर २८ श्रावण २०७८, बिहीबार १०:०६
२०२७ सालमै स्थापना भएको काभ्रेको रोशी चीज कारखाना

धुलिखेल । नेपालमा गाई, भैँसी, चौँरी तथा नाकको दूध खाद्यपदार्थको रूपमा उपयोग गरिन्छ, केही मात्रामा बाख्रा तथा भेडीको दूध पनि उपयोगमा ल्याइन्छ । नेपालमा प्रत्येक वर्ष करिव १ करोड ६२ लाख २७ हजार ५५० मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ ।

जसमा भैँसीबाट ११ लाख ५३ हजार ८३९ मेिट्रकटन र बाँकी गाई तथा चौरीबाट भएको थियो । हाल नेपालमा प्रति व्यक्ति दूधको खपत ५१ लिटर प्रति व्यक्ति प्रति वर्ष रहेको अनुमान गरिएको छ । कुल उत्पादित दूधमध्ये थोरै मात्र सङ्गठित रूपमारहेको डेरी उद्योगहरूमा प्रशोधन तथा अन्य दुग्धजन्य पदार्थको उत्पादनको लागि प्रयोग गरिने अनुमान छ । हाल नेपालमा सानाठुला गरी चारसय वटा दुग्ध उद्योगहरू सञ्चालित छन् ।

जसमा सरकारी स्तरमा सञ्चालन भएको नेपाल दुग्ध विकास सस्थान तथा निजीस्तरका ठूला दुग्ध उद्योगहरू हिमालयन डेरी, सीताराम गोकुल मिल्क, सुजल डेरी, चितवन डेरी आदि रहेका छन् ।

उच्च हिमाली क्षेत्रमा हाल करिब २० वटा चिज उद्योगहरूमध्ये १२ वटा सरकारी र बाँकि निजी क्षेत्रका सञ्चालनमा रहेका छन् । यी चिज कारखानाबाट वर्षेनी २२५ मेट्रिक टन चिज उत्पादन हुने गर्दछ ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा स्विस सरकारको सहयोगमा बनेको चीज उत्पादन केन्द्र सञ्चालनमा छ । मासिक १५ लाखको हाराहारीमा कारोबार गरिरहेको छ । चीज उत्पादन केन्द्र २०२७ सालमा साबिकको भीमखोरी गाविस–१ जुगेपानी पौवामा स्थापना भएको हो । भीमखोरीको कातारचे, केराबारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका ठाउँबाट संकलन भएको दूध विभिन्न सहकारी संस्थाबाट गरी दैनिक रूपमा ७०० देखि ७५० लिटरसम्म जम्मा हुने गरेको छ । संकलित दूधबाट चीज, मक्खन, पनिरलगायतका उत्पादित वस्तु काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय लैनचौरबाट बिक्री वितरण गरिन्छ । पनिर ११० देखि १२० किलोग्राम, चिज ७० देखि ८० किलोग्राम र मक्खन १८ देखि १९ किलोग्रामसम्म दैनिक उत्पादन हुने गरेको छ ।