तरुण खबर
२८ श्रावण २०७८, बिहीबार १०:०७
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज अर्थात २०७८ श्रावण २८ गते दिउँसो २ः०० बजे बस्ने भएको छ । बैकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने पार्टी कार्यलयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४औं महाधिवेशन सार्ने सहमति भएको बुझिएको छ । हिजो बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।
महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक–फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
तर, नेपाली कांग्रेसको १४औँ महाधिवेशन समयमा नहुने निश्चितजस्तै भइसकेको छ । किन भने अबको २० दिनमा १४औं महाधिवेशन नहुने पक्का भएको छ, १४औं महाधिवेशनको कुनै तयारी नै छैन । महाधिवेशनको पहिलो आधार क्रियाशील सदस्यताको टुंगो अझै लागिसकेको छैन । उक्त बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यता, काँग्रेसको संस्थापन समूहका जिल्ला सभापतिहरूले भदौमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरूले कोरोनाका कारण देशभरका महाधिवेशन प्रतिनिधि एकै ठाउँमा जम्मा हुने अवस्था नभए जिल्ला–जिल्लाबाट मतदान गर्ने व्यवस्था गर्नुपर्ने सुझाब दिएका छन् । मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँको सक्रियतामा भएको जुम मिटिङमा करिब ३६ जिल्लाका सभापतिहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।
यसअघि सोमबार र मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिको भेलाले पनि सकेसम्म नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकता बचाउनुपर्ने निष्कर्ष निकालेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्ने त होइनन् भन्ने चिन्ताले गाँजेको छ । जसोतसो पुरानैलाई कायम गरेर वैधानिकता जोगाएको अवस्थामा देउवाले विशेष महाधिवेशन टार्ने चिन्ता पनि उत्तिकै छ पौडेल पक्षका जिल्ला सभापतिहरुले भन्दै आएका छन् ।


