भाँगेटारबाट काठमाडौंको धरहरा लौरी उभ्याएजस्तो देखिन्थ्यो

भाँगेटारबाट काठमाडौंको धरहरा लौरी उभ्याएजस्तो देखिन्थ्यो तरुण खबर २९ श्रावण २०७८, शुक्रबार ०९:०७
भाँगेटारबाट काठमाडौंको धरहरा लौरी उभ्याएजस्तो देखिन्थ्यो

दूधराज तामाङ

काभ्रेको रोशी गाउँपालिकाको साबिकको वाल्टिङ गाविसलाई वडा नम्बर १० कायम गरिएको छ । बीपी राजमार्गले नछोए पनि वडाको अधिकांश क्षेत्र सुगम छ । शैक्षिक क्षेत्रमा पनि यो वडा तुलनात्मक रूपमा अघि छ । ९० प्रतिशत साक्षर छन् । बीपी राजमार्गबाट दुई किलोमिटरदेखि १२ किलोमिटरसम्मको दूरीमा यो वडाका गाउँहरू छन् । तर सडक भए पनि वर्षायाममा बस चल्न सक्दैन ।
भाँगेटारबाट काठमाडौंको धरहरा लौरी उभ्याएजस्तो देखिन्थ्यो । हिमाल, पहाड, तराई सबै देखिन्छ । यो वडामा दुईवटा पञ्चकन्या कुण्ड छन् । छरिएको बस्ती भएका कारण विकास पु-याउन गाह्रो भएको छ । तर आधा घण्टाभन्दा बढी हिँड्नु नपर्ने गरी गाउँगाउँमा कच्ची सडक पु¥याइएको छ । पहिले नै स्थापना भएको पञ्चकन्या माविले यस वडाको शिक्षामा राम्रै मद्दत पु¥याएको छ । करिब चार सय विद्यार्थी रहेको पञ्चकन्या माविको शैक्षिक गुणस्तर अहिलेसम्म राम्रै छ । तर शिक्षकको अभाव भएकाले शैक्षिक गुणस्तर जोगाउने तथा वृद्धि गर्ने चुनौती छ । यसैगरी चारवटा आधारभूत विद्यालयहरू छन् । एउटा उपस्वास्थ्य चौकी छ । यो उपस्वास्थ्य चौकीमा बर्थिङ सेन्टर राख्ने तयारी थालिएको छ ।

१५ किलोवाट, सात किलोवाट र पाँच किलोवाट क्षमताका तीनवटा लघुजलविद्युत् केन्द्र छन् । विद्युत् प्रयोग नहुने भएकाले दिउँसो उत्पादन बन्द गरिन्छ । दिउँसोको खेर गइरहेको बिजुलीलाई कसरी उपयोगमा ल्याउने ? भन्ने चुनौती छ । साबिकको वडा नम्बर १, २, ३ बाहेक अरू वडामा त्यही बिजुली पुगेको छ ।

तरकारी खेती र पशुपालनले व्यावसायिक रूपधारण गर्दैछ । दैनिक तीनवटा गाडीले दूध ओसार्छन् । एउटा गाडीले १५०० देखि २००० लिटरसम्म दूध बोक्छ । यहाँ अहिले एउटा भैंसी फार्म र एउटा बाख्रा फार्म रहेका छन् ।

तरकारी खेतीका लागि २० वटा कृषि समूह र तीनवटा सहकारी छन् । साबिकका एक वडा एक सहकारीको अवधारणा अघि सारेका छौं । दैनिक तीन गाडी तरकारी निर्यात हुन्छ । यो वडालाई सिलामको पकेट क्षेत्र घोषणा गरिएको छ । गत वर्ष १० मेट्रिकटन सिलाम निर्यात भएको थियो । यो करिब १५ लाख रुपैयाँ मूल्यको हो । प्रतिकेजी एक सय ५० रुपैयाँका दरले बिक्री हुने भएकाले किसानले सिलाम खेतीबाट राम्रै आम्दानी लिएका छन् । तरकारीले उचित मूल्य पाउने हो भने अर्थात् काठमाडौंका उपभोक्ताले खरिद गर्नेभन्दा आधा मात्रै मूल्य पाउने हो भने मेरो वडाका किसानहरूको जीवनस्तर कायापलट हुने अवस्था छ । तीन–चार घर मिलेर दैनिक एक गाडी तरकारी उत्पादन गर्न सक्छन्, तर भाउ नै पाउँदैनन् ।

फलफूलतर्फ जुनार, सुन्तला र कागतीको प्रशस्त सम्भावना देखिएको छ । केही किसानहरूले व्यावसायिक फलफूलको खेती गरेर राम्रो आम्दानी लिएका छन् । उदाहरणका लागि समरबहादुर कामीले यस वर्ष चार लाख रुपैयाँको कागती बेच्नुभयो । खाद्यान्नमा मकै मुख्य बाली हो । रोपेको ६ महिनामा मात्रै मकै पाक्ने भएकाले एक वर्षमा मुस्किलले दुई खेती हुन्छ । मकैपछि सस्र्यु, तोरी, केराउ, लसुन, बोडी, सिमी खेती गरिन्छ, धानको उत्पादन नगन्य हुन्छ । पछिल्लो समयमा सिस्नो संकलन गरी पाउडर बनाएर बिक्री गर्ने प्रचलन पनि सुरु भएको छ । यस क्षेत्रको सिस्नो नेपालकै उत्कृष्ट मानिन्छ । रानी, लोकल र अल्लो गरी तीनथरीको सिस्नो पाइन्छ ।

यसैगरी, उत्तिसको काठ बिक्रीबाट पनि वडावासीले राम्रै आम्दानी लिन थालेका छन् । किबी खेती पनि व्यावसायिक हुँदैछ । सार्क ड्रागन फ्रुट खेतीको परीक्षण निकै उत्साहजनक रूपमा सफल भएको छ । बर्खे सेतो आलु र एकपटक रोपेपछि स्थायी रूपमा उत्पादन भइरहने आलुको मूल्य उच्च भएकाले किसानहरू आकर्षित भएका छन् । यसैगरी जंगलमा वनतरुल प्रशस्त पाइन्छ । हिउँदको समयमा वनतरुल खनेर बिक्री गर्ने व्यवसाय पनि सुरु भएको छ । वनतरुलको मूल्य उच्च छ । अलैंची खेती सुरु भएको छ । उत्पादन र मूल्य दुवै राम्रो भएकाले किसानहरू आकर्षित भएका छन् । एक किसानले देशी बदाम ५० झ्याङ लगाएका थिए । उत्पादन राम्रो भयो । अब यसको विस्तार हुने सम्भावना बढेको छ । कश्मीरी स्याउ पनि फल्यो, तर औषधि प्रयोग नगरी फललाई बचाउन सकिएन । मेरो वडामा यस वर्ष स्याउका पाँच सय बिरुवा लगाइएको छ ।

डाँडाखर्क साइड अर्थात् साबिकका वडा नम्बर १, २ र ३ मा वनलसुन र वनप्याजको खेती तथा उत्पादन प्रशस्त हुन्छ । तर बिक्रीका लागि बजारको समस्या भएको छ ।

यसैगरी, परम्परागत जडीबुटीबाट औषधि उपचार गर्ने धामीझाँक्रीहरू पनि प्रशस्त छन् । अन्यत्र निको हुन नसकेको रोग उनीहरूले निको पार्ने गरेका छन् । तर उनीहरूले जडीबुटीलाई गोप्य राख्छन् । आफ्नो पेसा व्यवसायमा सकभर अरू नआऊन् भन्नका लागि गोप्य राख्नु स्वाभाविकै हो, तर उनीहरूको शेषपछि जडीबुटीको पहिचान समाप्त नहोस् भन्न केही न केही गर्नु जरुरी भइसकेको छ । निजी वनमा उत्तिसका रूख प्रशस्त छन् । साथै, खेती गर्न अलि अप्ठ्यारो हुने भिराला जग्गामा उत्तिस रोप्ने अभियान सुरु भएको छ । पहिरोको रोकथाम पनि हुने भएकाले उत्तिस रोपणलाई प्रोत्साहन गरेका छौं । एकजनाले ३० हजार क्युफिटसम्म काठ बेचेका छन् । प्रतिक्युफिट एक सय ५० देखि चार सय ५० रुपैयाँसम्ममा बिक्री भएको छ ।

वाल्टिङ गाउँमा एकीकृत बस्ती छ । त्यहाँ भ्युटावर निर्माण गर्ने र होमस्टेहरू सञ्चालन गर्ने योजना छ । वाल्टिङ महाभारत पदमार्गको मुख्य बिन्दुसमेत भएका कारण यो योजना जतिसक्दो छिटो सम्पन्न गर्ने अभियानमा छौं । प्याराग्लाइडिङको सम्भावना पनि पुष्टि भइसकेको छ । यसका लागि निजी लगानीकर्ता आकर्षित गर्ने अवधारणा अघि सारेका छौं । यस वडाका गुम्बामध्ये दुईवटा सम्पदा सूचीमा परेका छन् । यी गुम्बामा लामा बस्छन्, तर विद्यार्थीलाई अध्ययन गराउने काम हुन सकेको छैन । यसको तयारीमा पनि हामी छौं । तामाङ भाषाको विद्यालय खोल्ने योजना छ । यसका लागि गुम्बाहरूसँग सहकार्य गर्न सकियो भने सजिलो हुने देखिएको छ । मृग, झारल, घोरल, बँदेल, दुम्सीजस्ता वन्यजन्तु पनि पाइन्छन् । गर्मीको समयमा मयूर पनि पाइन्छ । कालिज पनि प्रशस्त मात्रामा पाइन्छन् ।
(रोशी गाउँपालिका–१० का वडाध्यक्ष दुधराज तामाङसँग दुई वर्ष अघि कुराकानी गरिएको थियो । स्थलगत रिपोर्टिङ सन्दर्भमा उनीसँग कुराकानी भएको हो । रोशी गाउँपालिको वडा नम्बर १० को अबस्था बुभ्mन सहज होस् भन्ने उद्देश्यले पाठकहरु माझ यो सामाग्री पेश गरेका छौं । स.)