तरुण खबर
२९ श्रावण २०७८, शुक्रबार ०९:१४
काठमाडौं । बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जदेखि ६ किलोमिटर पश्चिमको खजुरा गाउँपालिकामा कपास विकास समितिको प्रधान कार्यालय रहेको छ । २०३७ पुस १ गते कपास विकास समिति गठन गर्ने निर्णय भएको एक वर्षपछि अर्थात् २०३८ सालमा कार्यान्वयनमा आएको थियो । बिज बृद्धि फार्म, अनुसन्धान केन्द्र, सेयर फार्मिङ सञ्चालन गर्ने गरी सुरु गरिएको कपास विकास समितिले बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, सुर्खेत र प्युठान क्षेत्रका क्रमशः खजुरा, नेपालगञ्ज, जमुनी, ताराताल, लमही देउखुरी, तुलसीपुर, त्रिभुवन बस्ती, रामघाट, बांगेसालालगायतका ठाउँ छनोट गरी कपास खेती लगाइएको थियो । दाङ, प्युठान, नेपालगञ्ज क्षेत्रमा अहिले पनि खेती भइरहेको छ । कुनै समय कपास विकास समितिमा १७५ कर्मचारी थिए भने अहिले १२ जना कर्मचारीमा खुम्चिएको छ ।
दाङको दंगिशरण गाउँपालिका र तुलसीपरमा ७० बिघा जग्गामा खेती गर्दा एक सय टन कपास उत्पादन भइरहेको छ । इजरायली र अमेरिकी उच्चकोटिका कपास लगाइएका कारण एक बिघा जमिनमा करिब २१ सय ३५ केजीसम्म उत्पादन भएको थियो । यूएनडीपी, एडीबीलगायतका संस्थाहरूको आर्थिक सहायता बन्द भएपछि ठूलो फार्म सञ्चालन गर्नुभन्दा दुई सय हेक्टरमा कपास खेती, दुई सय हेक्टरमा अन्य बाली र बालीचक्रको रूपमा गर्ने गरी चार सय हेक्टरमा सञ्चालन गर्न थालियो । यी योजना असफल हुन थालेपछि तीन सय हेक्टरमा टांगिया प्रथाद्वारा कृषकहरूबाट कपास खेती गराउन थालिएको हो । पाँच वर्षसम्म निरन्तर काम गर्ने आदिवासी थारुहरूलाई कृषि ऋण एवं प्राविधिक सेवा उपलब्ध गराउन सुरु गरिएको हो । उत्पादन खर्च कटाई बाँकी रहेको उत्पादनको रकममध्ये कपासमा २५ प्रतिशत, बालीचक्रको रूपमा लगाइने चना, तोरी, मसुरोमा ३५ प्रतिशत र धान खेतीमा ४५ प्रतिशत सेयर रहने गरी कपास विकास समितिले नीतिगत निर्णय गरेको थियो ।
६ हजार हेक्टर जंगली क्षेत्रमध्ये १२५५ हेक्टर जंगल फँडानी गर्ने योजना बनाइएको थियो । तर ५५५ हेक्टर कपास खेतीका लागि उपयुक्त नभएकाले प्रयोगमा ल्याइएन । करिब सात सय हेक्टर क्षेत्रमा मात्र कपास खेती गरिँदै आएको थियो । यद्यपि १९७७ देखि नै युएनडीपी, एफएओलगायतको अन्तर्राष्ट्रिय संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत् कपास बाली विकास तथा उत्पादन आयोजना सुरु गरी अनुसन्धान गर्ने, कृषकहरूलाई खेती गर्न प्रेरित गर्ने र कपास विकास समिति आफैंले पनि खेती गर्ने काम भएको थियो ।
कपासको ठूलो उद्योग
आधा शताब्दी लामो इतिहास बोकेको नेपालको कपास उद्योगको प्रारम्भ आधुनिक र व्यवस्थित खजुराबाटै सुरु भएको हो । हाल यो उद्योग अर्धचेतको अवस्थामा छ । नेपालको उद्योग इतिहासमा ऐतिहासिक महत्व राख्ने यो उद्योगबाट खजुरा गाउँपालिकाले कसरी लाभ लिन सक्छ भन्ने विषयमा गाउँपालिका कार्यालयले प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ ।
ठूलो क्षेत्रफल ओगटेको खजुरा कपास उद्योग आफैंमा पर्यटकीय गन्तव्य हो । यो उद्योग र उद्योग परिसरलाई भ्रमण गन्तव्यका रूपमा विकसित गर्न सकिने यथेष्ट आधारहरू छन् । साथै कपासको बीउ, बियाँ र कपास बिक्रीका वर्तमान प्रक्रियाहरूमा सुधार गरिए आर्थिक सम्भावनाका ढोकाहरू खोल्न सकिने देखिन्छ । कपास आफैंमा अनौठो बिरुवा हो ।
कपास विकास समितिको फोटो
यसको पात र कलिला डाँठ गाईवस्तुका लागि खानाको स्रोत हो । अमेरिकाको जर्जिया विश्वविद्यालयका लटन स्टेवाड र जोनी रोशीले सन् २०१० मा कपासका अतिरिक्त उत्पादन बाइप्रोडक्टबारे गरेको अध्ययन–अनुसन्धान अत्यन्त रोचक छ । यो अनुसन्धानले आफ्नो सुझावमा कपासको बोटबाट निस्कने अतिरिक्त उत्पादनबाट गाईवस्तुका लागि धेरै प्रकारका खाद्य सामग्रीहरू तयार गर्न सकिने र यसबाट गाईवस्तुको उत्पादन प्रक्रिया धेरै सस्तो पर्न जाने देखिएको छ ।
साथै, कपासको सिंगो बियाँ र कपासको तेल निकालेपछि बाँकी रहेको पिनासमेत कुनै पनि वर्गका गाईवस्तुका लागि रासनको राम्रो स्रोत हो । तोकिएको मात्रामा पातपतिंगर र कलिला डाँठहरूसमेत गाईवस्तुको खानाको एउटा स्रोतका रूपमा प्रयोग गर्ने हो भने यसले समग्र गाईवस्तु उत्पादन प्रक्रियामै ठूलो आर्थिक लाभ दिने छ । स्रोत ः अयततयल।तबmग।भमगरनभलभचब५िद्दण्
कपासको बोटको फोटो
यो अध्ययनबाट कपास खेतीलाई गाईवस्तु उत्पादन प्रक्रियासँग जोडेर लान सकिए अति लाभकारी बनाउन सकिने देखिएको छ । कपासको पातपतिंगरपछि अब कपासको मूल उत्पादनतिर लागौं । कपासको फल कपासको बोटको मूल उत्पादन हो । यो फल त्यस्ता थोरै फलहरूमध्ये पर्दछ, जसको कुनै पनि भाग खेर जाँदैन । फलबाट कपास निस्किएपछि कपासमा अडिएका दाना बाँकी रहन्छन् । कपास टाँसिएका दानालाई समेत मेसिनमा राखेपछि फेरि कपास निस्कन्छ र दाना बाँकी रहन्छ । बाँकी रहेको दाना आफैंमा आयस्रोतको माध्यम हो । दानाको बाहिरी भाग निकाल्यो भने यो गाईवस्तुका लागि अत्यन्तै पौष्टिक मानिन्छ । छिमेकी भारतमा यो १५ देखि २० भारतीय रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । यसलाई अंग्रेजीमा हल भनिन्छ ।
हालको बजार मूल्य र फोटो
दानाको बाहिरी पत्र हटाएपछि बाँकी रहेको भित्री भाग अझ बहुमूल्य हुन्छ । भित्री भागलाई पेलेर वा अन्य विधिबाट तेल निकालिन्छ । अहिले र पहिलेदेखि नै तारेर खाने खाद्यपदार्थ, सलादमा हाल्ने तेल, छालामा दल्नेलगायत सौन्दर्य प्रशाधनका रूपमा समेत यो तेल प्रयोग हुँदै आएको छ । यसको मूल्य महँगा जैतुन र बदामको तेलभन्दा निकै कम हुने र उच्च तापमा मात्र धूवाँ आउने विशिष्ट गुणका कारण यसको प्रयोग हुने गरेको हो । अहिले पनि खजुरा कपास उद्योगमा सयौं टन बियाँ रहेका छन् । गाउँपालिकाले विस्तृत अध्ययन र अनुसन्धानमार्फत यी बीउहरूबाट लिन सकिने लाभका बारेमा खोजबिन गरिरहेको छ ।
यसैगरी कटन फ्याक्टस नामक अमेरिकी पुस्तकमा उल्लेख भएअनुसार कपासको बियाँबाट हुने फाइदा धेरै प्रकारका छन् । यसको बियाँ अप्रशोधित तेल क्रुड आयल निस्कन्छ र त्यसलाई प्रशोधन गरेपछि प्रशोधित तेल जुन खानेकुरा तार्न, सलादमा हाल्न, मायोनेज, मार्गानिन बनाउनलगायत बेकरीमा समेत प्रयोग गरिन्छ । साथै, क्रुड आयलबाट बोसोजन्य पदार्थ निर्माण, ग्लिसिरिन, साबुनलगायतका वस्तु उत्पादनमा प्रयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रिय कपास संगठनका लागि रफिक चौधरी र आन्द्रेइ गचन्सले लेखेको अनुसन्धनात्मक पुस्तक कटन फ्याक्टसमा कपास निकालेपछिका रहलपहल, कपाससहितका बियाँ, बियाँका बोक्रा र बियाँको बोक्रा हटाएपछि निस्कने पदार्थ र प्रयोगलाई लिएर तलको चित्र राखिएको छ । जसमा धेरै फाइदा उल्लेख गरिएका छन् ।
कपासको बियाँको प्रयोग
खजुरामा रहेको कपास उद्योगमा हालसम्म कपासको बियाँको प्रयोग सोझै मल कम्पनी वा पशु आहार कम्पनीलाई थोकमा बेच्ने प्रचलन छ । किलोको नेपाली २० रुपैयाँमै यो बिक्री हुने गरेको तथ्यांकले देखाउँछ । बियाँको उचित प्रयोग गरेर तेल, कपासको पिनालगायतका वस्तु उत्पादन गर्ने हो भने कपास विकास कम्पनीको कायापलट हुनाका साथै समग्र खजुराको आर्थिक विकासमा यसले ठूलो टेवा दिन सक्ने निश्चित छ ।
कपास विकास केन्द्रमा रहेको रुख र इनार
इजरायलीहरूले सीप र प्रविधि मात्र भित्र्याएनन् सँगसँगै केही विदेशी बिरुवासमेत नेपाल भित्र्याएका थिए । कपास विकासको प्रांगणमा रहेको एउटा ठूलो रूख नेपालको खजुरामा मात्र पाइने अनौठो प्रजातिको छ । बाँकेको गर्मीलाई सजिलै झेल्न सक्ने यो रुखको तलपट्टिको भाग बाहिरको भन्दा धेरै डिग्री सेन्टिग्रेट तापक्रम कम हुन्छ । अहिले पनि गर्मी महिनामा स्थानीय बटुवाहरू यो अजंगको रुखमुनि सुस्ताउने गर्छन् । यद्यपि कति तापक्रम कम हुन्छ भनेर वैज्ञानिक ढंगले नापिएको छैन । इजरायली रुख आफैंमा विचित्रको छ ।
सामान्यतः कुनै मौसममा रुखका पातहरू झर्छन्, तर बाक्लो र सघन रूपमा उम्रने यो रुखका पात अर्को पात त्यही स्थानमा उम्रिएर गाढा हरियो भएपछि मात्र पुरानो पात तल झर्छ । यसरी बाह्रैमासे यो रूख हरियो र सघन देखिन्छ । अहिले यो रुख विस्तारै अन्यत्र पनि सार्न थालिएका छन् । तर माउ बिरुवाका रूपमा कपास विकास समितिभित्र रहेको यो रुखको संरक्षण गर्न आवश्यक छ । रुखमुनिका स्थानलाई सौन्दर्यीकरण गरेर आवश्यक प्रचार गरेमा खजुरा आउने पर्यटकलाई यही रुखकै वरपर केही समय सजिलै भुलाउन सकिन्छ । साथै यो रुखसँगै रहेको इनार पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ । ५० वर्षअघि पिउने पानीको विकराल समस्या भोगेका स्थानीय जनतालाई यहीँ बनाइएको इनारले जीवनदान दिएको थियो । रूख र इनारको इतिहास लेखेर राख्न जरूरी छ ।
इजरायली प्राविधिकहरूले पुनर्वास परियोजनाअन्तर्गत खजुरा क्षेत्रमा खनेका ५१ इनार र पाँच भूमिगत पानी तान्ने ठूला स्तरका इनारमध्ये सग्लो रूपमा रहेको यो इनारको अवशेष रुख नजिकै छ । हाल यो इनार रहेको क्षेत्र झाडीले घेरिएको छ भने कसैले नभन्ने हो भने यो इनारको महत्व नै थाहा नहुने अवस्था छ । गाउँपालिकाले आफ्नो ऐतिहासिक धरोहर र पर्यटकीय गन्तव्यको सूचीमा यो इनार र रूखलाई समेत समावेश गरेर अघि बढ्ने विषयमा पर्यटकीय सम्भावना विषयक अध्ययन प्रक्रियालाई अघि बढाएको छ ।
अन्य ऐतिहासिक कुवाहरू इनार
तत्कालीन नेपाल पुनर्वास कम्पनीले हालको राष्ट्रिय आवास कम्पनी लिमिटेड खजुरामा पुनर्वासका क्रममा ५१ वटा इनार खनेको तथ्यांक पाइन्छ । २०२० देखि २०४६ सालसम्म प्रगति विवरणमा खनिएका ५१ इनारहरू मुलुकका अन्य पुनर्वास क्षेत्रमा खनिएका कुल २५१ इनारमध्येकै हुन् । खजुरामा पुनर्वास कार्यक्रम लागू गर्दा तत्कालीन अवस्थामा बस्तीविहीन क्षेत्रमा कार्यक्रम लागू गरिएको हो ।
(स्थलगत अध्यायनपछिको रिपोर्टिङ)


