१४औं महाधिवेशनको आएन कार्यतालिका, अनिश्चयको बन्दी

१४औं महाधिवेशनको आएन कार्यतालिका, अनिश्चयको बन्दी तरुण खबर २९ श्रावण २०७८, शुक्रबार ०९:१६
१४औं महाधिवेशनको आएन कार्यतालिका, अनिश्चयको बन्दी

काठमाडौं । नेपाली काँग्रेसको बैठकले १४औं महाधिवेशन कार्यतालिका ल्याउँन नसके पनि काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यको विवाद टुंगो लगाउँन नसकेको नेपाली काँग्रेसले बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरेको छ ।

यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ ।

यता, काँग्रेसमा क्रियाशील सदस्यताको विवाद थप चर्किएको छ । बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको नीजि निवासमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन र छानबिनका क्रममा भएका विषयहरूबारे समितिका सदस्यहरूले धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताका विषयमा विवाद सिर्जना गर्ने, तर दोष अर्कैलाई थोपर्ने गरेको भन्दै आरोप लगाएका थिए । अर्का केन्द्रीय सदस्य हृदयराम थानीले पार्टीमा संस्थापन पक्षले फर्जी क्रियाशील सदस्यता थप गरेको भन्दै समाधानका लागि आग्रह गरेका थिए । थानीले भने– रामचन्द्र दाइ, हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुप¥यो । क्रियाशीलको समस्या समाधान नभई महाविधेशन हुने अवस्था छैन । उनीपछि बोलेका नेता बस्नेतले वरिष्ठ नेता पौडेलमाथि आक्रोश व्यक्त गरेका थिए । उनले पौडेलबाट कुनै अपेक्षा नराख्न आग्रह गरे । ‘गोविन्दराज जोशीलाई तह लाउनका लागि पुष्कर ओझालाई उहाँले सहिद बनाउनुभयो । थानीजी उहाँबाट के आस गर्नुहुन्छ ?’