तरुण खबर
३० श्रावण २०७८, शनिबार ११:०१
नेपालगञ्ज । बाँके जिल्लाको खजुरा गाउँपालिकामा रहेको गिजरा सामुदायीक वन २०४८ सालमा शुरु भएको हो । वनले बाँके जिल्लाका धेरै सामुदायिक वनलाई उछिनेको रहेको छ । बाँके जिल्लाकै पहिलो सामुदायिक वनले २०५५ सालदेखि जिल्लास्तरीय पुरस्कार पाउँदै आएको छ । श्री गिजरा सामुदायिक वन उपभोक्त समूह खजुरा गाउँपालिका–६ स्थित पुरैनामा पर्छ । २०५५–०५६, २०५९–०६० र २०६०–०६१ मा जिल्लाबाट उत्कृष्ट पुरस्कार पाएको गिजरा सामुदायिक वनले २०७१ मा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाएको थियो । १२३ हेक्टरमा फैलिएको यो वनमा मुख्य त सिमल, सिसौ, खयर, कलम (कदम), जामुन, डुम्री, टोटे, कालीकाढ, मेदा, धाइरो, हर्रो, बर्रो, सिदुरे, सागुवान, राजवृक्ष र अर्जुनका रुखहरू पाइन्छ ।
श्री गिजरा सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष फारुक शेखका अनुसार जंगलमा कुरिलो, सर्पगन्ध, खस, वनकरेला, तरुल, गर्जेलहरा, पिपला, मेहदालगायत जडीबुटी पनि पाइन्छ । मेहदा र टटेलाको बोक्रा कुटेर पकाएपछि जस्तोसुकै भाँचिएको हड्डी पनि जोडिने कार्यालय सचिव कमालुद्दिन खाँन बताउनु हुन्छ । गाउँपालिकाको सबैभन्दा ठूलो सामुदायिक वन गिजरा नै हो । यद्यपि वडा नम्बर २ मा १० र १४ हेक्टरका स–साना दुईवटा हरित सिर्जना सामुदायिक वन र गुँरासपुर सामुदायिक वन छन् भने शिव सामुदायिक वन दर्ताको चरणमै छ ।
वर्षको करिब १२ लाख आम्दानी गर्दै आएको गिजरा सामुदायिक वनमा निलगाई, बादर, स्याल, खरायो, दुम्सी, बँदेल, चितुवा, भेडेबाघ, हुँडारजस्ता जीव–जन्तु पाइन्छन् । झिँजा दाउरा, बेत, बाँस, सिसौ र खयरको काठ बिक्री गरेर आएको आम्दानीबाहेक नर्सरीको पनि आय स्रोत भएको अध्यक्ष फारुक शेख बताउनु हुन्छ । दुईवटा पिकनिक स्पट बनाइएको वन क्षेत्रमा ठाउँठाउँमा पानीको सुविधा छ । कार्यालय सञ्चालनका लागि साना दुई वटा भवन पनि बनाइएको छ । विभिन्न सामाजिक काम गर्दै आएको गिजरा सामुदायिक वन समूहले विद्यार्थी छात्रवृत्ति, शौचालय निर्माणका लाथि आर्थिक सहयोग, वैदेशिक रोजगारीमा जानेलाई आर्थिक सहयोग र आयआर्जनका काममा आर्थिक सहयोग गर्दै आएको छ ।
बर्गदीबाबा
यो कुरा सुन्दा धेरै मान्छेलाई आश्चर्य लाग्न सक्छ । आश्चर्य नमान्नु पनि किन ? एउटै रुखमा १५ सय घार मौरी बस्थे र सालैपिच्छे ६–७ सय केजी मह निकालिन्थ्यो भन्ने स्वयं आश्चर्यलाग्दो कुरा नै हो । खजुरा गाउँपालिकाको वडा नम्बर ८ स्थित सयौं वर्ष पुरानो वरको रुख छ । त्यो रुखलाई स्थानीय वर्गद भन्छन् र त्यही रुखको नामबाट ठाउँको नाम पनि राखिएको छ । वर्गदी बाबाको समाधिमा तीन पुस्तादेखि पूजा गर्दै आएका ५८ वर्षीय नुर अली सई भन्छन्– तीन पुस्तादेखि हामी नै पूजा गर्दै आएका छौं । बाजेको नाम याद भएन, बुबा मैकु अलिसँगै म आउजाउँ गर्थें । यो रुख धेरै ठूलो र अग्लो पनि थियो ।
१२ किलो मिटर टाढाको कोहलपुर र नेपालगञ्जबाट पनि सजिलै देखिन्थ्यो । मौरीको मह काड्दा कसैले राँको बालेर छाडेछ, गाउँले सबै आएर आगो निभाइयो, वडा सदस्य मुडुवा सई भन्छन् । चार सय बाल्टिनभन्दा बढी त माटो नै हालियो । आठ कट्ठा मात्र जग्गा भएको वर्गदी बाबाको क्षेत्रमा आप, कटहरलगायतको रुख छ । यही स्थानको नजिकै ऐतिहासिक कुवा छ । यो कुवामा कुनै समय पाँच सय मिटरदेखि डेढ किलोमिटसम्मका मान्छे पानी लिन आउँथे ।
(स्थलगत रिपोटिङ)


