तरुण खबर
३० श्रावण २०७८, शनिबार ११:०३
बाँके जिल्लाको खजुरा गाउँपलिकाको वडा नम्बर २ मा आजभन्दा करिब ५५ वर्ष पहिले यो क्षेत्र घनघोर जंगल थियो । नेपाल भारत दुवैतर्फ घनघोर जंगल भएकाले सीमाक्षेत्र पहिचान गर्नसमेत कठिन थियो । जंगलको उत्तरतर्र्फ फाँट फुट थारु बस्ती थियो भने मुस्लिम बस्ती पनि फाटफुट थियो भन्ने सुनिन्छ । अमेरिका र इजरायलको सहयोगमा २०२१ सालमा औलो उन्मूलन गरिएपछि जंगलको केही क्षेत्र फँडानी गरी बसोबास गराउने योजना बन्यो । तत्कालीन सरकारले पुनर्वास कम्पनी नै खडा गरी जग्गा वितरण सुरु ग¥यो । जंगलको छेउ, त्यसमा पनि भारतीय सिमाना भएकाले सित्तैमा जग्गा पाउँदा पनि मान्छेहरू बसोबासका लागि आउन डराएछन् । त्यसपछि सरकारले प्रतिपरिवार तीन बिघा जग्गा दिएर भूपूसैनिकलाई बसोबास गराउन थाल्यो । हतियारसहित भूपूसैनिकको सीमा क्षेत्रमा बसोबास भएपछि सर्वसाधारणलाई पनि सुरक्षाको प्रत्याभूति हुन थाल्यो । अलग–अलग उद्देश्यका साथ व्यवस्थित बसोबास गराइएको हुनाले यहाँको बसोवासमा विविधता छ । सामाजिक रूपमा मिश्रित बसोबासको विश्लेषण गर्न यहाँ जति अन्यत्र सहज होलाझैं लाग्दैन हामीलाई ।
पुनर्वास कम्पनीले नै बसोबासका लागि सहज व्यवस्था गरिदिएका कारण यस क्षेत्रको आकर्षण बढ्यो । साथै त्यतिबेलै खजुरामा विमानस्थल पनि निर्माण भयो । सुविधासम्पन्न सहर नेपालगन्ज जम्मा दुई घन्टाको पैदलदुरीमा पर्ने भएकाले पनि यस क्षेत्रमा बसोबासका लागि आकर्षण बढेको हो । पहिले यो पुनर्वास क्षेत्र गाँउ फर्क पञ्चायत (सीतापुर र राधापुर) का रूपमा चिनिन्थ्यो । ३५ घरधुरीलाई एउटा वडाका दरले विभाजन गरी ९ वडा कायम गरिएको थियो । पछि जनसंख्या बढ्दै गयो । गाउँ फर्क पञ्चायतलाई टुक्र्याएर सीतापुर र राधापुर गरी दुर्ईवटा गाउँ पञ्चायत बनाइयो । अहिले राधापुरलाई वडा नम्बर १ र सीतापुरलाई वडा नम्बर २ कायम गरिएको छ ।
साविक सीतापुर गाविसलाई खजुरा गाउँपालिकाको वडा नम्बर २ को संरचना गरिएको हो । १८.३७ वर्ग किलोमिटर क्षेत्रफल भएको यो वडाको जनसंख्या करिब १५ हजार पुगेको छ । पुनर्वास कम्पनीले व्यवस्थित गरेको बसोबास भएकाले सडक, खेलमैदानका लागि सार्वजनिक जग्गाको खाँचो अहिलेसम्म परेको छैन । पुनर्वास कम्पनीले बस्ती विकास गरेका मुलुकका प्रायः सबै ठाउँमा एकै खालको नाम दिएको छ । हाम्रो वडामा पनि अंग्रेजी अक्षरका आधारमा सीगाउँ, केगाउँ, एलगाउँ, एगाउँ जस्ता गाउँहरूको नामाकरण गरिएको थियो । हाम्रो वडाका यी गाउँबस्तीहरूलाई पछिल्लो समय हामीले गौतम बस्ती, गाउँफर्क, गुँरासपुर, गौघाट, पशुपतिनगर, सिद्धनगर, सत्ताइसधुरी पनि भन्ने गरेका छौं । सत्ताइसधुरीमा २०३६ सालमा आएको बाडीले सुकुम्वासी बनाएकाहरूलाई डेढ बिघासम्म जग्गा दिएर बस्ती बसाइएको ठाउँ हो । यहाँ करिब १५० जति घर परिवार होलान् । हाम्रो वडामा तीनवटा माध्यमिक विद्यालय छन् । तीनवटा माध्यमिक विद्यालयमा करिब १२ सय विद्यार्थी छन् । तीनवटा प्राथमिक विद्यालयमा प्रत्येकमा सय आसपास विद्यार्थी छन् । यसरी हेर्दा लगभग तीन सय विद्यार्थी होलान् । यही वडामा माविसम्म पढाइ हुने तीनवटा बोर्डिङ पनि छन् । यो पहाडी समुदायको बस्ती भएको क्षेत्र हो । बाहुन, क्षेत्री, ठकुरी, मगर, थारु, गुरुङ र १५ प्रतिशत जति दलित छन् । क्षेत्री–बाहुनको बस्ती भएकाले पढलेख गर्नेहरूको संख्या उल्लेख्य छ । सुर्खेत, दैलेख, रुकुम, दाङ र चितवनबाट बसाइँ सरेर आउनेहरूको संख्या अत्यधिक छ ।
पहिले पहिले आम्दानीको स्रोत नहुँदा जंगलबाट दाउरा ल्याई नेपालगन्ज लगेर बेच्ने चलन थियो । बिँडी बनाउन प्रयोग हुने खल्लु (तिदु पनि भनिन्छ) को पात टिपेर बेच्ने चलन पछिसम्म थियो । अहिले त जंगल नै छैन भने पनि हुन्छ । वडाभरिमा एउटा मात्र सानो सामुदायिक वन छ । आधा घन्टामा वडाको सबै क्षेत्र घुम्न सकिन्छ । यहाँका मान्छेहरूको मुख्य पेसा कृषि नै हो । तर किसान आफैंले उत्पादन गरेको धान भारतको रूपेडिया लगेर बेच्छन् र आफूले दैनिक किनेर खान्छन् । यो दुखद् पक्ष हो । उनीहरूको आयस्रोतले खर्च धानिरहेको छैन भन्ने यसबाट बुभ्mन सकिन्छ । अहिले भर्खर भर्खर वैदेशिक रोजगारीमा जान थालेका छन् । कमाएको पैसा घर व्यवहारका लागि पठाउँछन्, कसैकसैले जग्गा पनि किनेका छन् । यो वडामा करिब १० प्रतिशत प्राध्यापक, डाक्टर, इन्जिनियर नै छन् । व्यावसायिक तरकारी खेतीतर्फ केहीको ध्यान गएको छ । पहिले पहिले निर्वाहमुखी खेती गरिन्थ्यो, अहिले दुई चारजनाले व्यावसायिक खेती गरेका छन् । यहाँबाट अन्यत्र बसाइँ सरेर जानेहरू पनि थिए, तर अहिले रोकिएको छ । अन्यत्र पैसा कमाएर यहाँ घरजग्गा किन्ने क्रम बढेको छ । हाम्रो लागि यो खुसीको कुरा हो । आप्mनो ठाउँमा कमाएको पैसा अन्यत्र गएन भने समृद्धि आउँछ भन्ने लाग्छ ।
पहिले र अहिले: २०३२ सालमा हामी दैलेखबाट यहाँ बसाइँ सरेका हौं । त्यतिबेला म ११ वर्षको थिएँ । त्यतिबेलाको तुलनामा त अहिले यो ठाउँ स्वर्ग हो भन्दा पनि हुन्छ । त्यतिबेला साइकल चढ्नु भनेको अहिले प्लेन चढेजस्तो ठूलो कुरा थियो । झाडापखाला लागेर कति मान्छे मर्थे, सर्पले टोकेर पनि त्यतिकै मान्छे मर्थे । माध्यमिक विद्यालय त्यतिबेलासम्म पनि थिएनन् । प्लानिङ गरिएका सडक त थिए, तर हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे । पढेलेखेका मान्छेहरू खासै थिएनन् । कृषिउपजको मूल्य नै थिएन । अहिले प्रायः सबैको घरमा मोटरसाइकल छन् । सडक पक्की छन् । १०–१५ मिनेटमा नेपालगन्ज पुगिन्छ । नेपालगन्जमा जे सुविधा छ, त्यो प्रायःजसो सबै यहीँ नै छ । नेपालगन्जमा भन्दा राम्रा अस्पताल तथा क्याम्पसहरू यहीँ छन् । खेलकुद मैदान, रंगशाला तथा सभाहल पनि नेपालगन्जमा भन्दा यहीँ नै राम्रा बन्दैछन् । तर पछिल्लो समयमा यहाँको सहरीकरणलाई कोहलपुरले ओझेलमा पारेको हो कि जस्तो देखिएको छ ।
(बाँके जिल्लाको खजुरा गाउँपलिका–२ का अध्यक्ष देवीलाल शर्मासँग परशु घिमिरेले कुराकानी गरेका थिए । स्थलगत रिपोर्टिङको सिलसिला नेपालगञ्ज नगरपालिकासँग जोडिएको खजुरा गाउँपालिका व्यवस्थित बसोबासको हिसावले नेपालकै नमुना भन्न सकिन्छ । यो लेख त्यसैमा केन्द्रीत छ ।)


