कटुञ्जे विस्तारै व्यापारिक केन्द्र बन्दैछ

कटुञ्जे विस्तारै व्यापारिक केन्द्र बन्दैछ तरुण खबर ३० श्रावण २०७८, शनिबार ११:०६
कटुञ्जे विस्तारै व्यापारिक केन्द्र बन्दैछ

पोष्टराज गौतम

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको केन्द्र रहेको साबिकको कटुञ्जेबेसी गाविसलाई नै रोशी गाउँपालिकाको वडा नम्बर ७ मा बनाइएको हो । काभ्रेको भकुन्डेबेंसीभन्दा सात किलोमिटर तल रहेको कटुञ्जेबेंसीमा करिब दुई हजार आठ सय जनसंख्या छ । २०२९ सालको जनगणनाको तथ्यांक हेर्ने हो भने एक हजार चार सय ७५ थियो । २५ वटा गाउँबस्ती सबैमा कच्ची सडक पुगिसकेको छ । हामी निर्वाचित भएर आउनुअघि ती गाउँहरूमा कच्ची सडक खासै पुगेको थिएन । लगभग दुई किलोमिटको पक्की सडक बीपी हाइवेले छोएका कारण यहाँको व्यापार व्यवसाय फस्टाएको हो । दूध संकलनका लागि चिस्यान केन्द्रको अभावमा वर्षाको समयमा नमोबुद्ध नगरपालिकाको वडा नम्बर ६ को दूध संकलन हुन सक्ने अवस्था छैन ।

यस वडामा वर्षामा आठ हजार लिटर दूध संकलन हुन्छ भने सुक्खायाम अर्थात् हिउँदमा पाँच हजार लिटरसम्म दूध संकलन हुने गर्छ । कम्तीमा १० लिटरदेखि ६५ लिटरसम्म दूध बेच्ने किसान पनि छन् । दूधका लागि यो ठाउँ उर्वर नै मान्नुपर्छ । तर यही वडामा रहेका करिब एक सय घरधुरी जसले गाईभैंसी किनेर पाल्न सक्दैनन् । हामी उनीहरूलाई कसरी आर्थिक समृद्धिमा सहभागी गराउन सक्छौं भन्ने चिन्तनमा छौं । ६ सय घरधुरीमध्ये करिब ५० प्रतिशतलाई आप्mनै खेतीबाट उब्जेको खाद्यान्नले खान पुग्छ भने ७० प्रतिशत घरपरिवारबाट कोही न कोही विदेश गएका छन् । कोही युरोप–अमेरिका छन्, कोही मलेसिया, कतार गएका छन् । ज्ञान र सीप भएका यहाँका स्थानीय युवाहरूमा पनि बेरोजगारीको विकराल समस्या छ । डकर्मी र सिकर्मी सिकेका युवाहरू नै गाउँपालिकामा कामको खोजीमा आउने गरेका छन् ।

कृषि, व्यापार र पर्यटनको सम्भावना रहेको वडा नम्बर ७ मा ८ वटा सामुदायिक विद्यालय र एउटा निजीस्तरको बोर्डिङ स्कुल छ । एउटा उच्च माध्यमिक विद्यालय, एउटा आधारभूत विद्यालय र ६ वटा प्राथमिक विद्यालय छ । १० करोडसम्मको आर्थिक कारोबार गर्ने एउटा सहकारीलगायत ६ वटा सहकारीले कारोबार गरिरहेका छन् । हालसालै गठन भएको इलम सहकारीले व्यापर व्यवसायमा धेरै मान्छेलाई समेटिरहेको छ । दूध र तरकारी उत्पादनका हिसाबले वडा नम्बर ७ लाई कमजोर भन्न मिल्दैन । यहाँबाट दैनिकजसो दुई मिनीटाटा गाडीमा तरकारी काठमाडौं, बनेपा र धुलिखेल जान्छ । तामाङ र बाहुन, क्षेत्रीलगायतको जनसंख्या लगभग बराबर भएको यो वडामा धार्मिक आस्था राख्नेहरू छन् । लगभग पाँच करोडको लागतमा घ्याङ गुम्बाको निर्माण भइरहेको छ । गुम्बाको नाममा पाँच रोपनीको लालपुर्जा भए पनि सार्वजनिक जग्गा २० रोपनी छ ।

सनातन हिन्दु धर्म मान्नेहरूका लागि देवी, सेतीदेवी, कालीदेवी, श्रीदेवी, शिवमन्दिर, श्रीयादेवीलगायत मन्दिर छन् । लगभग एक सय घरधुरी रहेका गौतमहरूको कुलदेवताको मन्दिर जुगेपानीमा छ । साबिक कटुञ्जेबेसी गाविसको वडा नम्बर १ मा राधाकृष्ण र शिवको मन्दिर, ३ मा श्रीयादेवीको मन्दिर र माने गुम्बा छ भने २ मा राधाकृष्णको मन्दिर छ । साबिक ९ मा कालीदेवीको मन्दिर र ८ मा शिवमन्दिर बनिरहेको छ । यसै वडाको रघुचौरमा रहेको कृष्णमन्दिरमा भजनमण्डली नै बनाइएको छ । यो मन्दिरमा चैत २ गते उत्सव मनाइन्छ ।
(काभ्रे, रोशी गाउँपालिका–७ का वडाध्यक्ष पोष्टराज गौतमसँग गरिएको कुराकानीमा आधारमा यो लेख तयार गरिएको हो ।)