तरुण खबर
३० श्रावण २०७८, शनिबार ११:१२
काठमाडौं । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् । हिजो शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले तपाईहरुको मागको कुनै नहुने बताए पछि उनीहरुले सामुहिक राजिनामा दिएका हुन् । आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल पहलमा राजिनामा दिएकाहरुले भनेका छन्– विभेदका विरुद्ध विद्रोह गरेका हौं । सामूहिक राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरुमा जनकराज कलौनी, मोहनसिंह राठौर, बालकृष्ण पाण्डेय, सुधीरकुमार शिवाकोटी, नरेन्द्रकुमार चौधरी, शम्भुलाल श्रेष्ठ, आशाराम चौधरी, रमा कोइराला पौडेल, दिलीप राई, कुमार खड्का, भूमिबहादुर (विश्व) गुरूङ, मनोहरनारायण श्रेष्ठ, किरणराज शर्मा पौडेल, गोपालकुमार बस्नेत, हसन अन्सारी, अभिषेख प्रताप शाह, राजेन्द्रबहादुर सिंह, नन्दनकुमार दत्त, आनन्द (गोरख) विष्ट, कृष्णकिशोर घिमिरे, ध्रुव वाग्ले र दयाराम पाण्डे रहेका छन् ।
पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार केन्द्रीय समिति बैठक बसेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको तर आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाट चुनाव लडेर आउनुपर्ने नीति विभेदकारी रहेकोले सच्याउन दबाब दिन सामूहिक राजीनामा दिने घोषणा गरेका थिए । चुनाव लडेर आउने भए पदाधिकारी, केन्द्रीय सदस्य सबै चुनाव लडेर आउनुपर्छ, नभए किन हामीलाई मात्रै बेग्लै नियम किन ? उनले प्रति प्रश्न गर्दै भने– यो व्यवस्था सच्याउनुपर्छ ।
यता, काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १४औं महाधिवेशनको मितिबारे नेताहरूबीच परस्परविरोधी धारणा आएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्कमा जोड दिएका छन् भने संस्थापनइतर समूहले दशैंताका महाधिवेशन गर्नु पर्ने राय राखेका छन् । पौडेल समूहको तर्क सुनेर केन्द्रीय सदस्यहरु अबाक बनिरहेका छन् । दशैं–तिहारजस्ता ठूला चाडबाँडको समयमा १४औं महाधिवेशन गर्नै पर्ने कुतर्क सुनेर नेपाली काँग्रेसका शुभचिन्तक, मतदातासमेत आश्चर्यमा परेका छन् ।


