तरुण खबर
३१ श्रावण २०७८, आईतवार ०९:०१
काभ्रेको रोशी गाउँपालिका–३ साबिकको शिखरअम्बोटे गाविसको वडा नम्बर १, २, ३, ४ र ९ लाई समेटेर बनाइएको हो । जनसंख्या करिब तीन हजार ६ सय छ । भौगोलिक अवस्था कम विकट भए पनि गाउँपालिकाको केन्द्र कटुञ्जेबेसीबाट अलि टाढा छ । दाप्चा, भकुन्डेबेसी हुँदै निकै लामो दूरी पार गरेर पालिकाको कार्यालय पुग्नु पर्छ । वडा कार्यालयबाट करिब नौ किलोमिटर दूरीमा गाउँपालिकाको कार्यालय तथा बीपी राजमार्ग पर्छ । तर कच्ची सडकले बर्खामा काम दिँदैन । हिँडेर ओहोरदोहोर गर्न घण्टौं लाग्छ ।
मावि एक र प्रावि पाँच गरी ६ वटा विद्यालय छन् । उमेर पुगेका बालबालिकाहरू कुनै पनि विद्यालय बाहिर छैनन्, तर शैक्षिक गुणस्तर सुधार हुन सकेको छैन । साक्षरता संख्या ८२ प्रतिशत छ । ३४४ जना निरक्षर छन् । साबिकको वडा नम्बर २ मा राख्ने गरी अघिल्लो वर्ष मात्रै स्वास्थ्यचौकी स्वीकृत भएको छ । बर्थिङ सेन्टर अझै स्वीकृत भएको छैन । सडक सबै गाउँटोलमा र बिजुली सबै घरमा पुगेको छ । यो वडाका तीनवटा स्थानबाट बनेपा हुँदै काठमाडौंसम्म दैनिक बस चल्छ । साथै दैनिक एक ट्रिप जति तरकारी तथा एक हजार लिटर दूध काठमाडौं निर्यात हुन्छ । सिजनको बेलामा त दुई हजार लिटरसम्म दूध निर्यात हुन्छ ।
यो वडामा तामाङ जातिको जनसंख्या करिब ७० प्रतिशत छ । त्यसबाहेक मगर, नेवार, बाहुन–क्षेत्री तथा दलितको बसोबास पनि छ । आधाभन्दा बढी परिवारलाई आफ्नो उब्जनीले वर्षभरि खान पुग्छ । तर लेक क्षेत्रमा भने अलि समस्या छ । आफ्नो उब्जनीले अधिकांशलाई ६ महिना पनि खान पुग्दैन । त्यसैले उनीहरूले वैकल्पिक पेसा अवलम्बन गरेका छन् । युवाहरू रोजगारीका लागि राजधानी काठमाडौं जान्छन् । सीप हुनेले गाडी चलाउँछन्, घर बनाउने मिस्त्री काम गर्छन्, थांका चित्र बनाउँछन्, सीप नहुनेहरू इँटाभट्टा तथा ज्यामी काम गर्छन् । आम्दानी राम्रै गरेको देखिएको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या खासै छैन । साथै महाभारत लेकमा बस्नेहरूले जडीबुटी, च्याउ संकलन तथा वनतरुल खनेर पनि केही न केही आम्दानी गरिरहेका छन् । यहाँको लेकमा ८, १० थरीको च्याउ पाइन्छ, जसमध्ये ढलेको रूखमा उम्रने एक खालको च्याउको मूल्य उच्च छ । केही युवाहरू सेना, प्रहरी तथा सरकारी जागिरमा पनि छन् ।
खेतीबालीमा मुख्य उब्जनी धान हो । दोस्रोमा मकै तथा तेस्रोमा गहुँ हो । नगदेबालीका रूपमा तोरी, केराउ भटमास, सिमीलगायतको उत्पादन हुन्छ ।
जिग्मे छ्योगेल गुम्वा, टासी गुम्बालगायत सयौं वर्ष पुराना तीनवटा गुम्बा छन् । भंगारे खोलामा गोले ऊ भन्ने गुफा छ, तर प्रचारप्रसारको अभावमा यो गुफाले पर्यटक तान्न सकेको छैन । वडा नम्बर ३ को शिखरमा महांकाल देवीको प्रसिद्ध मन्दिर छ । १९७२ मा स्थानीय बलवीर लामाले चढाएको ठूलो घण्टी, दाप्चा क्षेत्रको विजय प्राप्तिपछि हिँडेरै एक बिहानमा पुग्न सकिने शिखरमा पृथ्वीनारायण शाहले चढाएको भनिएको त्रिशूल, सुनको जलप लगाइएको तरबार देवीको मन्दिरमा अहिले पनि देख्न सकिन्छ । यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमामा दुई दिनसम्म मेला लाग्ने गर्छ । टाढा–टाढाका हजारांै भक्तजनहरू दर्शनका लागि आउने गर्छन् । १३०१ सालअघि नै महांकल देवीको मन्दिर भएको ठाउँ हो यो । समथर खेतहरू भएको शिखरमा महांकाल देवीको मन्दिर भने निकै अग्लो स्थानमा छ । तर महांकाल देवीको जग्गा भने चार रोपनी मात्र छ । पहिले धेरै थियो, स्थानीय व्यक्तिहरूले आप्नो बनाए ।
(रोशी गाउँपालिका–३ का वडाअध्यक्ष धनजित लामासँग परशु घिमिरेले कुराकानी गरेका थिए, त्यसैको आधारमा यो लेख तयार पारिएको हो)


